काठमाडौँ । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको आज (आइतबार) बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश १ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने दाहाल नेपाल समुह बैठक रोक्न नहुने पक्षमा उभिएको छ ।
सोही विवादका कारण ११ बजेलाई बोलाइएको परामर्श समतिको बैठक समेत एक घण्टा ढिलो १२ बजेपछिमात्रै सुरु भएको छ । परामर्श समितिको बैठक अघि ओली पक्ष र दाहाल-नेपाल समुहबीच भएको छलफलमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलगायतले आजको बैठक सुचना टाँसर स्थगित गर्नुपर्ने बताएका थिए । तर, दाहाल-नेपाल समुहका सांसदहरु इन्द्रबहादुर आङवो, राजेन्द्रकुमार राई लगायतले बैठक कुनै हालतमा स्थगित गर्न नहुने र मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेवल हुनुपर्ने बताएको सांसद आङबोले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले सहमतिका लागि दलहरुबीच छलफल भइरहेको बताए ।







