काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार साँझ ५ बजेका लागि बैठक बोलाएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए।
यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ती जनाएका थिए। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।
यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। यो अध्यादेशअनुसार अब संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन्।
सोहीअनुसार प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकबारे अहिलेसम्म खबर नभएको सभापति देउवाका सहयोगी भानु देउवाले भने।







