निर्वाचन आयोगद्वारा निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचन आयोगद्वारा निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल


१९ माघ २०७७, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए । राजनीतिक निकाश हुनसाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनको भनाइ छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राखे ।

दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्नसक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उनको भनाइ छ । राजनीतिक दलहरुले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उनले बताए ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताए । उनले प्रमुख निर्वाचन आयुक्तहरुसँगको आयोगको छलफल नियमित भेटघाटको रुपमा रहेको स्पष्ट पारे । सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताए । मतदाता नामावली अद्यावधिकको काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उनको भनाई छ ।

कतिपय निर्वाचन सामाग्री मौज्दात रहेको र कतिपय खरिद गर्नुपर्ने उनले बताए । सहायक प्रवक्ता धमलाले घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रुपमा तयार रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस