पोखरा । मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन्।
पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मिश्रले ‘मनी चेञ्जर विनियमावली २०७७’ व्यवसायीमैत्री नभएको र व्यवसायीलाई थप भार पारेको बताए । उनले भने, ‘मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक ३ हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क रु एक लाख बनाइएको छ । यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।’ उनले कोभिड –१९ का कारण थला परेको पर्यटनलाई जीवन्त राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने पनि बताए ।
यसअघि साधारण सभाको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड-१९ का कारणले मुद्रा सटही व्यवसायी प्रत्यक्ष मारमा परेको बताए । पहारीले भने, ‘दैनिक १८ घण्टासम्म तयार रहेर सेवा दिइरहेका व्यवसायी अहिले निकै मर्कामा परेका छन् , अब परिस्थिति सामान्य हुँदैछ, विचलित नभई व्यवसायमा लाग्नुस् ।’ उनले पर्यटकलाई प्रत्यक्ष सेवा दिने व्यवसायीलाई व्यवसायबाट पलायन हुन नदिन राज्यले आवश्यक पहल गर्नुपर्ने बताए ।
शनिबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ हटाउन समन्वय र सहजीकरण गर्न पहल गरिन बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रमा धेरैको लगानी भए पनि लगानीअनुसारको सेवा र सुविधा राज्यबाट पाउन नसकेको गुनासो गरे ।
सरकार आफैँले ल्याएका नीतिनियम पनि समयमै कार्यान्वयन गर्न नसक्दा यस क्षेत्रका व्यवसायीले निकै समस्या भोग्नुपरेको जनाउँदै उनले मौद्रिक नीति र व्यवसाय सञ्चालन कोष अविलम्ब कार्यान्वयन गर्न आग्रह गरे । सङ्गठनमा पोखरामा मुद्रा सटही व्यवसायमा संलग्न ४२ कम्पनी सदस्य रहेको सङ्गठनका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।







