निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन


१७ माघ २०७७, शनिबार


काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उनले नेकपा दाहाल-नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन् ।

पार्टीका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री रायमाझीले कुनै विचारभन्दा पनि पुष्पकमल दाहाल र माधवकुमार नेपालले पद नपाएका कारण पार्टी छाडेर गएको आरोप लगाए। उनले भने, “निर्वाचन आयोगले पार्टी फुटेको छैन भनेको छ, कि त पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानेर जानुपर्‍यो कि पार्टी फुटाएर जानुपर्‍यो ।’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं नेकपाका नेता पार्वत गुरुङले दाहाल-नेपाल नेतृत्वको नेकपाका नेताहरुले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको प्रस्ट पारे ।

उनले संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई अपिल गरे । मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पुर्‍याउन पनि कार्यकर्तालाई निर्देशन दिए ।

उनले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना रहेको जानकारी दिदैँ दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस