नेता रावलको आरोप : मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री ओली हुन् « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेता रावलको आरोप : मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री ओली हुन्


१७ माघ २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

धनगढीमा शनिबार आयोजित बृहत विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन्। ७० करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार भइरहेको र भ्रष्टाचार गर्नेलाई उनले संरक्षण गरेको नेता रावलले आरोप लगाए । ‘यी सबै भ्रष्टाचारको अगुवा केपी ओली नै हो’, रावलले भने, ‘सत्तरी करोडको भ्रष्टाचारको कुरा आएपछि उहाँले भन्नुभयो सबै नेता एकातिर सत्तरी करोडवाला एकातिर, किनकि ७० करोड गरुङ्गो थियो।’

रावलले आफैँले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर ओलीले जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको पनि आरोप लगाए।

निर्वाचनमा तत्कालीन एमाले र माओवादी मिलेका बेला सबैले भोट दिएको स्मरण गर्दै उनले ओली प्रधानमन्त्री भएको सरकारले मिचिएकफ भूमि फिर्ता ल्याउने ठानेको भए पनि त्यसो नगरेको बताए ।

‘लिम्पियाधुरा, लिपुलेक प्रधानमन्त्रीले फिर्ता ल्याउनुहुनेछ, समाजवाद उन्मुख अर्थतन्त्रको सुरुवात हुने ठानेका थियौं तर पाँच वर्षका लागि जनताले जनमत दिएकोमा त्यसको ओलीले अपमान गर्नुभएको छ, प्रतिनिधिसभाको विघटनको विरुद्धमा यो आवाज घन्केको छ,’ उनले भने।

नेकपालाई बिसर्जन गरी ओलीले पार्टीप्रति विश्वासघात गर्न १५०१ को केन्द्रीय कमिटी बनाएको भए पनि निर्वाचन आयोगले खारेज गरिदिएको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस