७० वर्ष पुरानो लडाइँबाट प्राप्त संविधानमाथि प्रधानमन्त्री ओलीले हमला गरे : अध्यक्ष दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७० वर्ष पुरानो लडाइँबाट प्राप्त संविधानमाथि प्रधानमन्त्री ओलीले हमला गरे : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

१६ माघ २०७७, शुक्रबार


विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्ष पुरानो लडाइँबाट प्राप्त संविधानमाथि हमला गरेको बताएका छन् ।

संसद विघटनविरुद्ध शुक्रबार विराटनगरमा आयोजित दाहाल–नेपाल पक्षको विरोध सभामा बोल्दै ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन मात्र गरेको नभइ लोकतन्त्र माथि नै हमला गरेको बताएका छन् ।

पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए । आवश्यक परे सभामुखले संसद् बोलाउने र संसद् चलाउने चर्चा गर्दै उनले सरकारले देशमा भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको आरोप लगाए।

अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे । नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ ।’

सोही पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले देशभर प्रतिगमनविरुद्ध आवाज उठिरहेको चर्चा गर्दै संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको बताए । उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आन्दोलन, सङ्घीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताए । उनले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालत संविधान र जनताको भावनाअनुसार फैसला गर्ने विश्वास आफूमा रहेको भन्दै निर्वाचन आयोगले पनि नियम र कानूनअनुसार निर्णय गर्ने भएकोले पार्टी हाम्रै पक्षमा रहने दावी गरे ।

सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको केन्द्रीय र स्थायी कमिटिमा आफूहरुको पक्षमा दुइतिहाई बहुमत रहेकोले निर्वाचन आयोगले सोहीअनुसार पार्टीको वैधानिकता प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले जनआवाजलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सुन्नुपर्ने धारणा राख्दै संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको दावी गरे । कार्यक्रममा सोही पार्टीका नेता योगेश भट्टराई, शिवकुमार मण्डल र भीम आचार्यले सरकारको कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताउँदै उक्त कदम सही नभएको तर्क गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस