निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याइसक्यो : नेम्वाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याइसक्यो : नेम्वाङ


१६ माघ २०७७, शुक्रबार


काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, दाहाल-नेपाल समूहले छलफलका लागि थप समय मागेपछि आयोगले ओली समूहका नेताहरुसँग मात्रै छलफल गरेको थियो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा मात्रै छलफल भएको नेम्वाङले जानकारी दिए ।

नेम्वाङले भने,‘अधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यही आधिकारिकताको जगमा उभिएर यो सम्पूर्ण प्रक्रिया अगाडि बढ्छ । हामी समयमा निर्वाचन सम्पन्न गर्छौं भनेर निर्वाचन आयुक्तले जानकारी दिनु भएको छ।’

उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनलाई लिएर परेका रिट निवेदनहरु अहिले त्यसको सुनवाइ भइरहेको र सुनवाइको क्रममा सर्वोच्च अदालतले स्टे अर्डर नगर्ने आदेश भएकाले निर्वाचन आयोगको बुझाई निर्वाचनको तयारीमा अगाडि बढ्नु पर्छ भन्ने रहेकाले दल दर्तासम्बन्धी प्रक्रिया अगाडि बढाउन आयोगसमक्ष सुझाव राखेको बताए ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । दुवै पक्षलाई त्यसको जानकारीसमेत पठाएको थियो । विवाद बढेपछि दुवै पक्षले अलग-अलग ढंगले केन्द्रीय समितिको बैठक बसेर गरेका निर्णयहरू आयोगले स्वीकार नगरेपछि नेकपा औपचारिक रूपमा फुटेको मानिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस