प्रकृतिका साथ समृद्धि खोजौँ : प्रधानसेनापति थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रकृतिका साथ समृद्धि खोजौँ : प्रधानसेनापति थापा


१६ माघ २०७७, शुक्रबार


नेपाली सेना

लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताएका छन् । सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियानको बिहिबार शुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् ।

प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए ।

उनले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर्न सकिने बताए । प्रधानसेनापति थापासहितको टोलीले बेंसीशहर–२ को जर्गेनी सामुदायिक वनको उत्तरधारा र सोही वडाको बगालेगाउँमा निर्माणधीन नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रमासमेत वृक्षरोपण गरेको थियो ।

सोही अवसरमा प्रधानसेनापति थापाले निर्माणधीन व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको निरीक्षणसमेत गरेका थिए । फलफूल जोनका रुपमा विकास गर्न नेपाली सेना र स्थानीयवासीले आज १५ हजार ७५० वटा विभिन्न प्रकारका बिरुवा रोपेको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले जानकारी दिए।

उनका अनुसार नेपाली सेनाले नौ सार्वजनिक स्थान र चार सामुदायिक स्थानमा फलफूल तथा बहुउपयोगी बिरुवा रोपेको हो । नेपाली सेनाले १३ दशमलव ५५ किमी वर्गकिलोमिटर क्षेत्रमा २० प्रकारका विभिन्न फलफूल तथा बहुउपयोगी बिरुवा रोपेकामा सार्वजनिकतर्फ दुई हजार २२५, सामुदायिकतर्फ १० हजार ४३० र नेपाली सेनातर्फ तीन हजार ९५ बिरुवा रहेका छन् । सेनालाई स्थानीयवासी, सामुदाायिक वनका उपभोक्ता र सर्वसाधारण नागरिकले पनि उत्साहजनकरुपमा वृक्षरोपण अभियानमा साथ दिएका थिए । नेपाली सेनाको सहयोगमा १५ हजार ७५० वटा फलफूल तथा बहुउपयोगी बिरुवा रोपिएको हो ।

यस नगरपालिका वडा नं २ मा सेनाको ब्यारेक र व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्र रहेकाले वडा नं २ लाई फलफूल जोनका रुपमा विकास गर्न वृक्षरोपण गरिएको प्रमुख सेनानी थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस