धनुषा । धनुषामा एक मदिरा उद्योग सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो ।
प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा कम्पनी प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र फेला परेको हो । टाउकोमा गहिरो चोट र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा रेग्मीको शव बुधबार बिहान ९ बजेतिर फेला परेको हो । रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुआरेका बासिन्दा हुन् ।
मृतक रेग्मीसहित चारजनाले महेन्द्रनगरमा मदिरा उद्योग सञ्चालन गरेका छन् । उनी उक्त उद्योगका निर्देशक थिए ।







