सेवा सुधार गर्दै मालपोत कार्यालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेवा सुधार गर्दै मालपोत कार्यालय


१४ माघ २०७७, बुधबार


कर्णाली । सेवा प्रवाहका विषयमा बारम्बार गुनासो आउन थालेपछि जिल्ला मालपोत कार्यालयले दक्ष जनशक्ति र भौतिक संरचना व्यवस्थापनमा जोड दिएको छ । साँघुरो भवन र न्यून कर्मचारीका कारण मालपोतले प्रदान गर्ने सेवाका सम्बन्धमा बारम्बार प्रश्न उठ्न थालेपछि मालपोतले भौतिक संरचना विस्तार तथा थप जनशक्ति व्यवस्थापन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा मालपोतले आइतबारदेखि नापी कार्यालयको पुरानो भवन प्रयोग गर्ने अनुमति पाएको छ । मालपोत परिसरमै रहेको यो भवनबाट सेवा सञ्चालन गर्दा सेवाग्राहीको भीड कम हुने अपेक्षा गरिएको छ । मालपोतले जिल्लाका छ स्थानीय तहबाट दक्ष कर्मचारीको पनि माग गरेको छ ।

कार्यालय प्रमुख हिक्मतजङ्ग शाहीले भेरीगङ्गा, लेकबेँसी, पञ्चपुरी नगरपालिका तथा चिङ्गाड, चौकुने र बराहताल गाउँपालिकासँग कम्प्युटर कर्मचारीको माग गरेको जानकारी दिए। उनका अनुसार ती स्थानीय तहले माघ १६ गतेपछि मात्र कर्मचारी पठाउने जवाफ दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकाको सेवा भने मालपोत कार्यालयको मेहेलकुना शाखाबाट हुँदै आएको छ भने वीरेन्द्रनगर नगरपालिकाले यसअघि दुई जना कम्प्युटर प्राविधिक खटाइसकेको छ ।

कार्यालय प्रमुख शाहीले भौतिक संरचना विस्तार तथा जनशक्ति व्यवस्थापनपछि सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गरे । ‘नापी कार्यालयको पुरानो भवन प्रयोग गर्ने अनुमति पाइसकेका छौँ, अब एउटै कोठामा धेरै फाँट सञ्चालन गर्नुपर्ने बाध्यता हट्नेछ’, उनले भने, ‘यसले गर्दा कर्मचारीलाई काम गर्न सहज हुनुका साथै अभिलेख सुरक्षित हुनेछन् ।’

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी मालपोतले स्थानीय तहलाई कम्प्युटरसहित एक/एक जना कर्मचारी उपलब्ध गराउन अनुरोध गरेको थियो । कार्यालय प्रमुख शाहीले भने, ‘मालपोतसम्बन्धी सेवा छिटो छरितो र सुरक्षित तरिकाले सम्पन्न गर्न भवन, कम्प्युटर र जनशक्तिको अभाव थियो, अब केही दिनभित्र यी सबै व्यवस्थापन गरिसक्छौँ, सेवा प्रवाहमा देखिने अन्य समस्या पनि क्रमिकरुपले समाधान गर्नेछौँ ।’

प्रदेश राजधानी कायम भएपछि सुर्खेतमा घरजग्गा खरिद–बिक्रीको कारोबार बढेपछि मालपोतमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । सेवाग्राहीको सङ्ख्या वृद्धिसँगै सीमित कर्मचारीले साँघुरो भवनबाट सेवा प्रवाहमा ढिलाइ हुनुका साथै अभिलेख पनि साटासाट हुने समस्या रहँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस