रहेनन् गन्धर्व संस्कृतिका धरोहर गायक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रहेनन् गन्धर्व संस्कृतिका धरोहर गायक


१२ माघ २०७७, सोमबार


पोखरा । यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगार्‍यो दिमाख
नरोऊ मायालु…
(गायक प्रवीण गुरूङ बिमाकुमारी दुरा, संगीत एवम् रचना धनबहादुर गायक)
गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ। गायकको उपचारको क्रममा आज बिहान मणिपाल अस्पताल पोखरामा निधन भएको हो।

पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए। विसं २०२१ मा जन्मेका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए।

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यका साथ गायकले पछिल्लो समय सारंगी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए। उनी ‘लोक संस्कार र संस्कृति बाँचेमात्र आफ्नो पहिचान बाँच्छ’ भन्नेमा विश्वास गर्थे।

गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए।

झलकमानले नेपाली मौलिक गीत संगीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए।

एक दशकअघि दुई सारङ्गीबाट सुरू गरिएको सो पाठशालामा संरक्षकका रूपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन्।

लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरूप दिन १० सारंगी प्रदान गरेर गायकलाई हौसला थपेका थिए। उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरूले सारंगी रेट्न सिकिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस