मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु


१० माघ २०७७, शनिबार


कावासोती । नवलपुर र सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

नवलपुरको कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

त्यसैगरी सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी मोटरसाइकलको बीचमा सवार थिए ।

मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका-८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेका कारण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस