शान्ति र समृद्धिको भण्डार भरौँ !​ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शान्ति र समृद्धिको भण्डार भरौँ !​


३ माघ २०७७, शनिबार


कस्तो छ संसार ?​
देख्न सक्तिन​
रङ्गिन छ,सुन्दर छ​
म अनुभूति गर्छु​
फूलको स्पर्शले​
पुलकित हुन्छु​
भावविभोर भै​
त्यसमै हराउँछु​
स्वप्निल छ संसार​
त्यसमै रमाउँछु ।
उफ्रने,कुँदने​
मलाई रहर छ​
चरा जस्तै उड्ने​
मलाई रहर छ​
मन त मेरो पनि त्यस्तै​
चञ्चल छ तिम्रो जस्तै​
न दौडन सक्छु​
तिमी जस्तै​
न पौडन सक्छु​
तिमी जस्तै​
फगत कुँजिएर​
बसिरहेछु यस्तै यस्तै ।
सक्तिन म सुन्न​
भमराको भुनभुन​
न सुन्छु साराङ्गिको​
त्यो मधुर धुन​
दृश्यावलोकनमै महशुस गर्छु​
टिपेर ल्याउँ लाग्छ​
त्यो आकाशको जुन ।
हामी पनि हौं​
सृष्टिकै सृजना​
हाम्रा पनि छन्​
तिम्रा जस्तै तिर्सना​
महत्वाकांक्षा अनि​
सुन्दर सपना​
हामी पनि सक्छौं​
हाम्रो भविष्य बदल्न ।
दृष्टिविहीन भए पनि​

आफ्नो काव्य कलाले​
दुनियाँ मुग्ध पार्ने​
होमर हेर !​
कूँजिएको शरीरका​
आफ्ना दुई चक्षुले​
व्रम्हाण्ड नियाल्ने​
स्टेफेन हेर !​
नसुनेर के भो ?​
नदेखेर के भो ?​
अरुलाई देख्न सघाउने​
अरुलाई लेख्न सघाउने​
लुई व्रेल हेर !​
जीवन काँडा हो कि फूल ?​
त्यो आ- आफ्नै दर्शन हो​
त्यो आ- आफ्नै चिन्तन हो​
हाम्रै देशमा​
पारीजात अनि झमक हेर​
साहित्याकाशमा उनको​
चमक हेर ।
अपाङ्गता कुनै अपराध हैन​
पूर्व जन्मको केहि पाप हैन​
दैवीक कुनै यो श्राप हैन​
तसर्थ हामीलाई​
कमजोर नठान​
घृणा ,तिरस्कारको​
मुटु छिया छिया पार्ने​
वाण नहान ।
त्यसैले त भन्छौं​
दया हैन हामीलाई​
माया देऊ​
उन्नति गर्ने​
अवसर देऊ​
एकापसमा हामी​
हातेमालो गरौं​
समताको विगुल फुक्दै​
सन्देश छरौं​
न्यायपूर्ण समाजको​
निर्माण गरौं​
शान्ति र समृद्धिको​
भण्डार भरौं ।​
शान्ति र समृद्धिको​
भण्डार भरौं ।।​

… अस्तु…

प्रतिक्रिया दिनुहोस