संसद विघटनविरुद्धको रिट सुनुवाइ संवैधानिक कि वृहत पूर्ण इजलासमा भन्ने बहस जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद विघटनविरुद्धको रिट सुनुवाइ संवैधानिक कि वृहत पूर्ण इजलासमा भन्ने बहस जारी


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ सुरु भएको छ । अघिल्लो पटकजस्तै आज पनि रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा बहस जारी छ ।

अहिले प्रधानमन्त्रीका निजी वकिल वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गर्दै छन् । संसद विघटनको पक्षमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजावादी वकिलहरु छानेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेका थिए । ती रिटहरु वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए । यस मुद्दाको अन्तिम सुनुवाइ गत बुधबार भएको थियो। बुधबार बहस नसकिएछि हेर्दाहेर्दैमा राखेर शुक्रबारसम्मलाई सारिएको थियो । आज पनि यसै विषयमा बहस जारी रहने छ ।

रिटहरु एकल इजलासमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाइएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी नेतृत्वको इजलास बनाएका थिए । तर रिट निवेदकहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरे । त्यसपछि प्रधानन्यायाधीश जबराले कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस