ग्लोबल आइएमई बैङ्कको १४औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित « प्रशासन
prasaLogo
२९ पुष २०७७, बुधबार

ग्लोबल आइएमई बैङ्कको १४औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित


प्रकाशित मिति : 13 January, 2021 4:13 pm

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडको १४औँ वार्षिक साधारणसभा २०७७ साल पौष २९ गते बुधवार बैङ्कको कर्पोरेट भवन कमलादी, काठमाडौँमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैङ्कको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

बैङ्कले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात् बैङ्कको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैङ्क आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैङ्कद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध रहेको बताए ।

उनले बैङ्कले सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैङ्कले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप हालसम्म १८ वटा बैङ्क तथा वित्तीय संस्थाहरू यस बैङ्कमा समाहित गरिएको बताए ।
साबिकको जनता बैङ्क नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैङ्क देशकै सबै भन्दा ठुलो र सबल बैङ्क बनेको बताउँदै, उहाँले सेयर धनीको आकाङ्क्षाअनुरूप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बैङ्कले सदाझैँ आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप निक्षेप सङ्कलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरूलाई थप प्रभावकारी सेवा पुर्‍याउने बताए ।

आर्थिक वर्ष २०७६/७७ मा बैङ्कको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाइरसको कारणले बैङ्कको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन बापत रकम छुटाउनु परेकोले बैङ्कको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अरब ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।

हाल बैङ्कले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यकारसाथ बैङ्कले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैङ्कमा ३ हजार भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् । बैङ्कले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस