संसद विघटन : संवैधानिक इजलासमा कार्कीको ठाउँमा तत्कालीन एमालेबाट समानुपातिक सभासद मल्ल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद विघटन : संवैधानिक इजलासमा कार्कीको ठाउँमा तत्कालीन एमालेबाट समानुपातिक सभासद मल्ल


प्रशासन संवाददाता

२९ पुस २०७७, बुधबार


काठमाडौँ । संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्लको उपस्थिति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले गठन गरेको इजलासमा यस अघि न्यायाधीश हरिकृष्ण कार्कीलाई राखिएको थियो । न्यायाधीश कार्कीले इजलासमा नबस्ने भएपछि मल्ललाई राखिएको हो । मल्ल संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद पनि भएकी थिइन् ।

कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए । त्यसकारण स्वार्थ बाझिने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएपछि कार्की आफैले इजलासमा नबस्ने घोषणा गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्णइजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । तर त्यसलाई पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गरेर संवैधानिक इजलास नै गठन गरेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए ।

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस