त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, आन्दोलन फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, आन्दोलन फिर्ता


२५ पुस २०७७, शनिबार


काठमाडौँ । आन्दोलनरत त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सात बुँदे सहमति भएको छ । शुक्रबार राति त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई क्याम्पसकोे आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्णकक्षाभारको आधारमा नियमानुसार प्रक्रिया पूरा गरी त्रिवि केन्द्रिय कार्यालयको स्वीकृति र समर्थनमा क्याम्पसको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी शिक्षण सहायक सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने सहमति भएको हो ।

सहमति अनुसार व्यवस्थापन गर्दा क्याम्पसको स्रोत अपुग भएको अवस्थामा विश्वविद्यालयले व्यवस्थापन गर्ने छ । कोर्ष करार र प्रति कक्षाभारको पारिश्रमिकमा आंशिक शिक्षकले करको भार व्यहोर्नु नपर्नेगरी व्यवस्था मिलाउने गरी ‘अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका– २०७७’ लाई परिमार्जन गर्ने सहमतिमा उल्लेख छ ।

यसैगरी कम्तिमा पूरा एक शैक्षिक सत्र शिक्षण गरेका आंशिक शिक्षकहरुलाई त्रिविसेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयबाट प्रक्रिया अघि बढाउने र अनुभवको अंक प्रदान गर्न व्यवस्था मिलाउने कुरामा सहमति भएको सहमति पत्रमा उल्लेख छ ।

सहमति पत्रमा त्रिवि सेवा आयोगद्धारा शिक्षण सेवासँग सम्बन्धित विभिन्न पदहरुमा पदपूर्तिका लागि नियमित विज्ञापन गर्ने व्यवस्था विश्वविद्यालयले मिलाउने । साथै विज्ञापन गरिएका पदहरुमा विषयगत विशिष्टतालाई आधार बनाई परीक्षा प्रणालीलाई सुधार गर्ने उल्लेख छ ।

यसैगरी शिक्षण सहायकमा कार्यरत शिक्षकहरुलाई प्राज्ञिक उन्नयन, अध्ययन अनुसन्धान र शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउने गरी उपयुक्त प्रबन्ध मिलाउने र यी सबै बुँदालाई तत्काल कार्यान्वयन गर्ने उल्लेख छ । साथै संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

त्रिवि वार्ता समितिको तर्फबाट वार्ताको संयोजक समेत रहेका सह प्राध्यापक विष्णुप्रसाद खनाल, प्राध्यापक ताराप्रसाद भुसाल र सह प्रा डा शंकरप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै, त्रिवि आंशिक प्राध्यापक संघ वार्ता समितिबाट वार्ताका संयोजकसमेत रहेका मोहनप्रसाद घिमिरे, राजन ढुँगाना, नारायण कोइराला, राजेन्द्र गिरी र हरिकृष्ण अर्यालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

समान कामको समान ज्यालाको माग गर्दै पुस २ गतेदेखि त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस