सरकारी कर्मचारी र सार्वजनिक हित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारी कर्मचारी र सार्वजनिक हित


१४ पुस २०७७, मंगलबार


प्रसिद्ध गायक तथा गीतकार जोन लेननले आफ्नो बाल्यकाल स्मरण गर्दै भनेका छन्- “म पाँच वर्षको हुँदा आमाले जीवनको प्राप्ति खुसी हो भनेर दोहोर्‍याइरहनुहुन्थ्यो । विद्यालय जान थालेपछि शिक्षकले तिमी ठूलो भएपछि के हुन चाहन्छौ भनी सोध्दा मैले खुसी हुन चाहेको बताए । शिक्षकले मलाई प्रश्न नबुझेको भने । मैले शिक्षकले जीवन नबुझेको जवाफ दिए ।”

जोन लेननले भनेझैँ खुसी जीवनको महत्त्वपूर्ण प्राप्ति हो । स्वयम् आफ्नो खुसी, आफ्ना निकटका मान्छेको खुसी र त्यसभन्दा पनि पर समग्र समाजको खुसी, आदर्श अभीष्ट हो । आफू र आफन्तको खुसी चाहने प्रवृत्ति जनावरहरूमा समेत देख्न सकिन्छ । तर आफू र आफन्तको मात्र नभई समाजको खुसी समेतलाई जीवनको प्राप्ति सम्झी क्रियाशील रहने मानिसहरूका कारण मानव जाति अन्य जनावरभन्दा भिन्न रही सभ्यता र सम्पन्नता हासिल गर्न सफल भएको छ ।

व्यक्तिगत सुख र परिवार वा निकटतम व्यक्तिको खुसीभन्दा सार्वजनिक हितका कार्यबाट प्राप्त हुने आनन्द सर्वोपरि मानिन्छ । टम रथले आफ्नो पुस्तक “आर यू फुल्ली चार्ज्ड” मा सङ्कीर्ण स्वार्थबाट प्रेरित व्यक्तिगत खुसीभन्दा समुदायको हितका लागि गरिने कार्यबाट प्राप्त हुने आनन्द बढी अर्थपूर्ण हुने एउटा अध्ययनले देखाएको उल्लेख गरेका छन् । अतः सङ्कीर्ण खुसीभन्दा अर्थपूर्ण जीवन प्राप्ति महत्त्वपूर्ण भएकोले आफूले गरेको कामले समुदायको हितमा कसरी योगदान पुर्‍याउँछ भनी विश्लेषण गरी अन्तर्मनबाट उत्प्रेरित हुनु फलदायी भएको उनले बताएका छन् । टम रथले पैसाको लागि मात्र काम गर्नु घुस रिसवतकै स्तरमा राख्न मिल्ने काम भएको हुनाले आफ्नो कार्यलाई अर्थपूर्ण बनाई समुदायको हितसँगको सामिप्यता अनुभूत गर्न विभिन्न उपायहरू अवलम्बन गर्ने गरिएको उल्लेख गरेका छन् ।

उदाहरणका लागि, एमआरआइ मेशिन बनाउने कार्यमा संलग्न कर्मचारीलाई “इलेक्ट्रिक कम्पनी” ले क्यान्सर पत्ता लागेर बाँच्न सफल व्यक्तिहरूसँग भेटघाट गराउँछ । ट्याक्टर बनाउने कम्पनीले कामदारहरूलाई किसानहरूसँग भेटाउँछ । फेसबुकले आफ्ना सफ्टवेयर निर्माण गर्ने इन्जिनियरलाई लामो समयसम्म बिछोडिएर फेसबुकका कारण मिलन भएका साथी वा परिवारका सदस्यसँग भलाकुसारी गराउँछ । यी कार्यहरूबाट कर्मचारीले आफ्नो कामले सामाजिक हितमा पारेको प्रभाव देखेर अर्थपूर्ण जीवनको अनुभूति गर्दछन्, जसबाट उनीहरूको उत्प्रेरणा र उत्पादकत्वमा सकारात्मक प्रभाव पर्दछ ।

हाम्रो देशमा समुदायको हितका लागि साहित्यकार, कलाकार, खेलाडी, समाजसेवी लगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको योगदान स्तुत्य छ । यी विभिन्न क्षेत्रमध्ये पनि सार्वजनिक पदाधिकारी वा कर्मचारीहरूको कार्यक्षेत्र सार्वजनिक हितसँग सबैभन्दा बढी नजिकबाट गाँसिएको हुँदा यस क्षेत्रलाई सार्वजनिक/सरकारी सेवा भनिएको पाइन्छ । सोही मर्मबमोजिम नेपालको संविधानको धारा २८५ मा सार्वजनिक प्रशासन सञ्चालनका लागि कानुनबमोजिम सरकारी सेवा गठन गर्न सकिने उल्लेख छ ।

सोही संविधानको भाग ४ मा सरकारका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत उल्लेखित धाराहरू अध्ययन गर्दा सरकारका अङ्ग र मातहतका कर्मचारीले सार्वजनिक हितलाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने आशय झल्किन्छ । उदाहरणका लागि, धारा ५१ (ख) (४) मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने उल्लेख छ ।

संविधानका उल्लेखित प्रावधानहरूबाट सार्वजनिक हित प्रवर्द्धन सरकारी सेवामा कार्यरत कर्मचारीको प्रमुख दायित्व रहेको स्पष्ट हुन आउँछ । सोही अनुरूप सरकारी कर्मचारीलाई सार्वजनिक हितको पक्षमा शपथ समेत गराइएको हुन्छ । तर आजभोलि सार्वजनिक पदाधिकारी वा कर्मचारीहरू सङ्कीर्ण स्वार्थबाट प्रेरित रहेको र सामूहिक हितमा समर्पित हुन नसकेको भनी व्यापक आलोचना भएको पाइन्छ ।

स्टाफ कलेजले गरेको नेशनल गभर्नेन्स सर्भे, २०१८ मा ८५ प्रतिशत सहभागीले सार्वजनिक सेवा प्राप्तिमा ‘आफ्नो मान्छे’ नहुनुलाई सबैभन्दा ठूलो व्यवधान बताएका छन् । यसबाट सार्वजनिक सेवाका क्षेत्रमा कर्मचारीले सहज, सरल र निष्पक्ष तवरले सेवा प्रवाह गर्न नसकेको स्पष्ट हुन्छ । यसर्थ, सरकारी कर्मचारीको कार्यशैली, कार्य व्यवहार, आचरण र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई उनीहरूको कार्यलाई सार्वजनिक हितसँग जोड्नु आजको आवश्यकता भएको तथ्य निर्विवाद छ ।

हाम्रो देशमा मालपोत, नापी, वैदेशिक रोजगार, भन्सार, यातायात, सामाजिक सुरक्षा, विकास निर्माण, शान्ति सुरक्षा लगायतका सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले समुदाय र राष्ट्रको समुन्नतिमा प्रत्यक्ष योगदान पुर्‍याउँदछन् । तर यी क्षेत्रमा काम गर्ने कर्मचारीहरू नै सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा खेपिरहेको तथ्याङ्क भेटिनु विडम्बनापूर्ण छ । यस्तो विडम्बनापूर्ण अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि कर्मचारीहरूलाई उनीहरूले गरेका राम्रा कामबाट समुदाय र राष्ट्रमा पुगेको योगदानको अनुभूति गराउनु जरुरी छ ।

उदाहरणका लागि, सामाजिक सुरक्षा भत्ताको सहज वितरणबाट वृद्धवृद्धा, विधवा, अपाङ्ग वा एकल महिलाले प्राप्त गरेको खुसीसँग स्थानीय तहका सम्बद्ध कर्मचारी एवं बैङ्कका कर्मचारीहरूलाई परिचित गराई उनीहरूमा आनन्दको अनुभूति गराउनु आवश्यक छ । वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको परिवारको खुसीबाट त्यहाँ काम गर्ने कर्मचारीले उत्प्रेरणाको अनुभूति गर्नु/गराउनु जरुरी छ । सार्वजनिक विकास निर्माणमा कर्मचारीहरूले पुर्‍याएको अमूल्य योगदानलाई निर्माण व्यवसायीसँगका अन्य सम्बन्धभन्दा बढी महत्त्वपूर्ण ठानिनुपर्दछ ।

यी लगायत अन्य विभिन्न क्षेत्रका कर्मचारीलाई लाभग्राही समूहसँग प्रत्यक्ष संवाद गराउने तथा यस्ता उदाहरणहरू कर्मचारीलाई दिइने तालिमको विषयवस्तुमा समेत समावेश गरी समय समयमा पुनर्ताजगी तालिम दिने कार्यको सुरुवात गरिनु आवश्यक छ । यस्तो अग्रसरता कर्मचारी, सङ्गठन र समाज समेतका लागि फलदायी हुने अपेक्षा गर्न सकिन्छ ।

अन्त्यमा, पाब्लो पिकासोकी आमाले यदि तिमी सिपाही बन्यौ भने जनरल हुनेछौ, यदि भिक्षु बन्यौ भने पोप हुनेछौ भनेकोमा उनले म पेन्टर बने र पिकासो भए भनेका छन् । सिपाही भएर जनरल हुने, भिक्षु भएर पोप हुने, कर्मचारी भएर सचिव हुने, राजनीतिक कार्यकर्ता भएर मन्त्री वा प्रधानमन्त्री हुने धेरै छन् । अर्थपूर्ण कार्यबाट समाज राष्ट्र वा विश्वमा योगदान पुर्‍याई पिकासोझैं आफ्नो अलग्गै पहिचान बनाउने व्यक्तित्वहरू केही मात्रै छन् । पिकासोको कोटीमा सबैमा पुग्न नसके पनि सामाजिक हितको पवित्र क्षेत्रमा सकारात्मक सोचले ओतप्रोत भई आफ्नो स्थानबाट सकेको योगदान पुर्‍याउने सार्वजनिक पदाधिकारी र कर्मचारी सदैव प्रशंशित हुने कुरामा भने दुई मत हुन सक्दैन ।

Tags :
प्रतिक्रिया दिनुहोस