समृद्धि आयोजनाले दिँदै छ ‘व्यावसायिक’ बन्ने हौसला « प्रशासन
prasaLogo
११ पुष २०७७, शनिबार

समृद्धि आयोजनाले दिँदै छ ‘व्यावसायिक’ बन्ने हौसला


प्रकाशित मिति : 26 December, 2020 7:22 am

काठमाडौँ । जीविकोपार्जनका लागि मात्रै कृषि क्षेत्रमा नङ्ग्रा खियाइरहेका किसानहरूले समृद्धि आयोजनासँग आबद्ध भइसकेपछि व्यावसायिक किसान बन्ने आफ्नो सपनालाई साकार बनाएका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” मा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष(आईफाड)को आर्थिक सहयोग रहेको छ ।

समृद्धि आयोजनाले वैदेशिक रोजगारबाट फर्केका वा विदेश जान भन्दा स्वदेशमा केही उद्यम व्यवसाय गर्न इच्छुक वा स्वदेशमै रमाउने र स्वदेशमै कमाउने मनसाय भएका युवाहरूलाई व्यावसायिक परामर्श, तरकारी उत्पादन तथा हारभेष्टिङ सम्बन्धी तालिम, किसान व्यापारी बिच अन्तरक्रिया (बिटुबि) र बहुसरोकारवाला गोष्ठी जस्ता गतिविधिहरू सञ्चालन गरेपछि अहिले सामान्य किसानका पनि गतिविधि फेरिएका छन् ।

आयोजनाले तरकारी, बाख्रा, दूध, माछा र सुगन्धित जडीबुटी आपूर्ति शृङ्खलाको क्षेत्रमा किसान समूह तथा सहकारीहरूलाई उत्पादनमा वृद्धि, आधुनिक प्रविधिको विस्तार,प्राविधिक सेवा, वित्तीय तथा व्यावसायिक ज्ञान र बजार सञ्जाल विकासका लागिसमेत कार्य गरिरहेको छ ।

आयोजनाले प्रदेश एक, प्रदेश दुई र प्रदेश तीनका १६ जिल्लाहरूमा किसान समूह तथा सहकारीका सदस्यहरूलाई कृषि क्षेत्रमा व्यावसायिक उद्यमी बनाउने उद्देश्यले वित्तीय साक्षरताको ज्ञानसँगै आधुनिक कृषि प्रविधि, प्राविधिक ज्ञान, बजार सञ्जाल बिस्तार लगायतका क्रियाकलापका माध्यमद्वारा कृषि उत्पादकत्वमा वृद्धि गराउन सहयोग पुर्‍याउँदै आएको बारे आयोजनाका प्रमुख शालिकराम दाहाल प्रष्टयाउँछन्।

आयोजना लागु भएका जिल्लाका किसानहरूलाई आयोजना मार्फत दिइएका कृषि आधुनिकीकरण सम्बन्धी प्राविधिक तालिम, उत्पादक समूहहरूलाई व्यवसाय विकासबारे दिइने ज्ञान, वातावरण अनुकूल प्रविधिको प्रयोग र कृषक समूहहरूलाई सहकारी र बैङ्कहरू सँगको वित्तीय पहुँचको वृद्धिले गर्दा कृषकहरू सीमित भूमिबाट पनि उत्पादकत्व वृद्धि गर्न सफल भएका छन्।

आयोजनाले किसान समूहहरूलाई तरकारी खेतीमा सहज पहुँच पुर्‍याउन मिनी तथा पावर ट्रेलर, प्लास्टिक टनेल, थोपे सिँचाई, प्लास्टिक मल्चिङ, पावर स्प्रे, नर्सरी ट्रे तथा प्लास्टिक पोखरी जस्ता प्रविधिहरू आवश्यकताअनुसार प्रदान गर्दै आएको छ । साथै अगुवा कृषकहरूलाई आधुनिक कृषि प्रविधिमा दक्ष जनशक्ति विकास गरी स्थानीय स्रोत व्यक्ति तयार गर्ने उद्देश्यले आयोजना सम्बद्ध अगुवा किसानहरूलाई विभिन्न समयमा स्रोत व्यक्ति विकास तालिम पनि प्रदान गर्दै आएको छ ।

आयोजनाको सहकार्यले एकातर्फ युवा तथा महिलाहरू कृषि तर्फ आकर्षित भएका छन् भने अर्को तर्फ स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना भएका छन् । क्रान्ति अर्धव्यावसायिक कृषक समूहका अध्यक्ष वेद प्रसाद रोइला भन्छन्, “समृद्धि आयोजनासँगको आबद्धताले सानो भूमि स्वामित्व भएको किसानहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनको स्तर माथि उठाएको छ ।”

उनी थप्छन्, “किसानहरू अहिले प्लास्टिक घर भित्रको खेतीमा खुला खेत भन्दा डेढगुणा उत्पादकत्व बढाउन सफल भएका छन् ।” यसका साथै बजार माग अनुसार तरकारी खेती गर्न उत्पादन योजना तथा कृषि बाली पात्रो तयार गरी तरकारी बालीमा विविधीकरण गर्न हामी सफल भएका छौँ।

आयोजनाले समूह र सहकारीको सह–लगानीमा उत्पादकत्वमा बढोत्तरी ल्याई किसानलाई व्यावसायिक बनाउन विभिन्न कृषि सामग्री छनौटमा किसानलाई सहजीकरण गरी पूरक अनुदान कार्यक्रम मार्फत वितरण गर्दै आएको छ। यसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू विपन्न गरिब महिला, युवा, दलित, आदिवासी जनजाति र मधेसी समुदायका किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

पछिल्लो समयमा किसान समूहहरू व्यावसायिक ढङ्गले तरकारी उत्पादनमा समेत लागेका छन् । किसानहरूले समृद्धिसँग आबद्ध भएका कृषि समूहहरू आयोजनासँग सहकार्य गर्न थालेपछि किसानको घरघरमै बजार पुगेको अनुभव आयोजनामा कार्यरत कोशि सगरमाथा कोरिडोर संयोजक लोकेन्द्र रावल बताउँछन्।

विम्विका ताजा तरकारी तथा फलफूल खरिद बिक्री केन्द्र इटहरीका व्यावसायिक राम बहादुर भण्डारी भन्छन्, “आयोजनासँगको सम्बन्ध बिस्तार पछि कृषक समूहसँग समन्वय गर्न, पहुँच बनाउन र सामग्री सङ्कलन गरी ल्याउन धेरै नै सहज भएको छ ।” पछिल्ला दिनहरूमा किसानहरूका उत्पादनहरू एकै ठाउँमा सङ्कलन हुने र घण्टौँ लामो बाटो पार गरी बिक्री गर्ने समय घटाइ सामूहिक बिक्री गर्ने काम सुरु भएकाले किसानहरू निकै खुसी भएका देखिन्छन् ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणको नारालाई सार्थक बनाउनका लागि ग्रामीण स्तरमा रहेका समुदायहरूको सशक्तीकरणका लागि वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तथा लैङ्गिक कार्य सिकाई पद्धति९गाल्स० कार्यक्रम मार्फत सम्बद्ध किसानहरू परिचालन गर्न आयोजना निरन्तर लागिरहेको समृद्धि आयोजनाकी ज्ञान व्यवस्थापन विज्ञ सुजना धिताल बताउँछिन् । उनी थप्छिन्, “समृद्धिको समुदाय परिचालन सम्बन्धी कार्यक्रमले वित्तीय साक्षरता अभियान तथा लैङ्गिक सशक्तीकरण अभिवृद्धिमा समुदाय स्तरमा प्रभावकारी भूमिका खेलेको छ ।”

समृद्धि आयोजनाको कार्य क्षेत्र रहेका जिल्लाहरुमाआयोजनाले सहकार्य सम्झौता गरेका १५० सहकारी संस्थाहरू मार्फत वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम कार्यक्रम सुचारु गरिरहेको आयोजनाका प्रवक्ता अजय वर्तौलाले जानकारी दिए । वर्तौलाले हाल सम्म १६ जिल्लाका करिब ११ हजार ५ सय घरपरिवारलाई सहकारी संस्था मार्फत १८ घण्टे वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम भाग–१ सम्पन्न गरिसकेको बताए । यसका अतिरिक्त आपूर्ति शृङ्खला प्रवर्द्धन गर्नका लागि गठन गरिएका कृषक, व्यापारी आदि आयोजनाका लाभग्राही सम्मिलित उत्पादन समूहहरूमा वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम भाग-२, ३५ हप्ते तालिम कार्यक्रम पनि सुचारु गरिरहेको छ ।

अन्य मुलुकहरूले आधुनिक प्रविधिको समुचित प्रयोगबाट कृषि क्षेत्रमा तीव्र प्रगति गरिरहेको सन्दर्भमा नेपालमा अझै पनि यस्ता आधुनिक कृषि प्रविधिहरूको पहुँच पुग्न नसकेको अवस्था छ । समृद्धि आयोजनाले कृषि क्षेत्रमा बजारमुखी अवधारणा, सामूहिक उत्पादन, वित्तीय संस्थासँग सम्बन्ध बिस्तार र खेतीपातीको अभिलेखीकरण जस्ता अवधारणा ल्याएर किसानलाई व्यावसायिक कृषक बन्न प्रोत्साहन दिलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस