सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत


एजेन्सी

२६ मंसिर २०७७, शुक्रबार


ब्रसेल्स । युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो ।

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका थिए । उनले जलवायू परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी मुलुक भएको बताएका छन् ।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, ‘युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने छ । यसले सन् २०५० मा जलवायू तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ ।’

युरोपेली नेताहरुले जलवायू परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए । केही कोइला–निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रुपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो ।

जलवायु परिवर्तन सम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो । युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस