सरकारको खराब कार्यशैलीको परिणाम सडकमा देखियो : काँग्रेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारको खराब कार्यशैलीको परिणाम सडकमा देखियो : काँग्रेस


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ।

नेपाली काँग्रेसले सरकारले ठीक ढंगले काम गर्न नसक्दा जनतामा सरकारप्रति वितृष्णा जागेको त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै सबै भन्दा पहिला सरकार सच्चिने हो भने सबै कतिपय समस्या आफै हल हुने धारणा राखेको छ ।

बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ छ ।

बैठकपछि काँग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैलीमात्रै भएको बताए । उनले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस