पाँच दिनदेखि बेपत्ता किशोरको हत्या गरिएको अवस्थामा शव फेला, हत्याको आरोपमा तीन पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पाँच दिनदेखि बेपत्ता किशोरको हत्या गरिएको अवस्थामा शव फेला, हत्याको आरोपमा तीन पक्राउ


१५ मंसिर २०७७, सोमबार


इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका- २ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ।

घरदेखि करिब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो। उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

हत्याको आरोपमा सुनसरीको दुहबी नगरपालिका-२ बाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चौधरीको हत्या आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

गत मंसिर १० गतेदेखि हराएका दुहबी वडा नं- २ का सुजनलाई खोज्ने क्रममा प्रहरीको टोलीले स्थानीय २० वर्षीय सुमन झालाई पक्राउ गरेसँगै हत्याको घटना खुलेको हो । पक्राउ परेका झाले आफूले हत्या गरेको स्वीकारेसँगै शव फालेको स्थान देखाएका थिए । झासँगै अरु दुईजनासमेत पक्राउ परेको बताइएको छ । चौधरीको शव स्थानीय अरुण वनस्पति उद्योगको कम्पाउण्डभित्रको झाडीमा भेटिएको हो ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार चौधरीसँगको सामान्य रिसइवीलाई लिएर हत्या भएको बुझिएको छ ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मंसिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए। साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिइएपछि खोजिकार्य अगाडी बढाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस