काठमाडौँ महानगरपालिकाले भन्यो, ‘तत्काल विद्यालय खोल्न सकिँदैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरपालिकाले भन्यो, ‘तत्काल विद्यालय खोल्न सकिँदैन’


१२ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो ।

गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ । विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए। ‘अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ, परीक्षा सकिए पनि उपपत्यका नगरपालिका फोरमको बैठकले यस विषयमा थप निर्णय गर्छ’, प्रमुख ढकालले भने । विश्वभरि फैलिएको कारोनाका कारण गत चैतदेखि देशभरिका विद्यालय बन्द छन् । अहिले उपत्यका बाहिरका केही विद्यालय सञ्चालन भए पनि जोखिम कायम रहेका केही स्थानमा अझै सञ्चालन हुनसकेको छैन ।

काठमाडौँ उपत्यका नगरपालिका फोरमको केही दिनअघि बसेको बैठकले पनि अहिलेकै अवस्थामा विद्यालय खोल्न नसकिने बताएको छ । उपत्यकामा सङ्क्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने कामपाले जनाएको छ । हाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस