कर्मचारी सरुवाको निवेदन अनलाइनबाटै « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

कर्मचारी सरुवाको निवेदन अनलाइनबाटै


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । निजामती कर्मचारीले सरुवाका लागि राजधानी नै आई राख्नु पर्ने या सिंहदरवारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै धाइराख्नु नपर्ने भएको छ । संघअन्तर्गतका कर्मचारीले घरमै बसी बसी अब अनलाइनबाटै सरुवाको आवेदन दिन सक्नेछन् ।

अनावश्यक भिडभाड र कर्मचारीले सास्ती व्यहोर्नु परेपछि मन्त्रालयले अनलाइनबाटै सरुवाको निवेदन दिने व्यवस्था सुरु गरेको हो । त्यसका लागि मन्त्रालयले वेबसाइटमा राख्ने अनलाइन सरुवा निवेदन दर्ता प्रणालीमा गएर कम्तीमा पाँच वटा रोजाइका ठाउँसहित आवेदन दिनुपर्नेछ । प्राप्त निवेदनमध्ये अवधि तथा ज्येष्ठताको आधारमा प्राथमिकताअनुशार कर्मचारी सरुवा हुनेछ । मन्त्रालयले यसबारे निर्णय गरिसकेको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन भने एक हप्ता लाग्ने छ ।

कर्मचारीको सहजतासँगै काममा पनि बाधा नपरोस् र मन्त्रालयमा पनि भिडभाड नहोस् भन्नका लागि अनलाइनबाटै सरुवा निवेदन प्रणाली सुरु गरिएको सचिव एकनारायण अर्यालले बताए । ‘अव दुर्गम क्षेत्रका कर्मचारीले सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनु परेन’ सचिव अर्यालले भने, ‘न त मन्त्रालयका कर्मचारीको अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा खर्चनु पर्नेछ ।’

उनका अनुसार यसले सहज, पारदर्शीका साथै मन्त्रालयको अनावश्यक भारसमेत घट्न गई सरुवाबाहेकका काममा पर्याप्त ध्यान दिन सकिनेछ ।

कर्मचारीले सरुवा निवेदनसँगै अन्य कागजातहरू आवश्यक पर्ने भए त्यो पनि अनलाइनबाटै पठाउनु पर्नेछ । साथै सम्बन्धित कर्मचारीकै आवेदन हो भन्ने प्रमाणितसमेत गरिने व्यवस्था गरिन लागेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव राजीव पोखरेलले बताए । ‘सम्बन्धित कर्मचारीले नै आवेदन दिएको यकिन गर्न भेरिफिकेसन कोड सम्बन्धित कर्मचारीको इमेलमा पठाइने छ’ सहसचिव पोखरेलले भने, ‘सो को आधारमा मात्रै यकिन गरेर थप प्रक्रिया अघि बढाइने छ ।’

सरुवा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन थप फिचरहरूसमेत परीक्षण गर्दै कार्यान्वयनमा लगिने उनको भनाई छ ।

त्यसो त सामान्यले अनलाइनबाट सरुवा निवेदन दिने प्रणाली लागू गरेको यो पहिलो पटक भने होइन । आजभन्दा ४ वर्षअघि २०७३ मा तत्कालीन सामान्य प्रशासन सचिव टङ्कमणि शर्माले विभिन्न इन्डिकेटरसहित सरुवा निवेदनदेखि चिठीसमेत अनलाइनबाटै गर्ने भनेका थिए । तत्कालीन सामान्य प्रशासन मन्त्री रेखा शर्माको पालादेखि अघि बढाएको अनलाइन प्रणालीको प्रक्रियामा सरुवाका लागि निवेदन फारम भर्ने बित्तिकै उक्त विवरण किताब खानामा रहेको विवरणसँग भेरिफाइ भएपछि हरियो, पहेँलो र रातो सङ्केत आउने व्यवस्था गरिएको थियो । हरियो सङ्केतको अर्थ कर्मचारीको सरुवाका लागि प्रक्रिया र मापदण्ड पूरा भएको छ, उसको सरुवा गर्न सकिन्छ भन्ने बुझिन्थ्यो ।

पहेँलो सङ्केत आउनु भनेको कर्मचारीको सरुवाका लागि समय पुगेको भए पनि केही मापदण्ड पूरा भएको छैन भन्ने बुझ्नुपर्थ्यो । अर्थात् थप कागजपत्र पेस गरेर सरुवा गर्न सकिन्छ भन्ने थियो । त्यसैगरी रातो सङ्केत पाउने कर्मचारीको सरुवाका लागि कुनैपनि मापदण्ड पूरा भएको छैन भन्ने थियो अर्थात् त्यस्तो सङ्केत प्राप्त कर्मचारीको सरुवा हुन नसक्ने भन्ने बुझिन्थ्यो ।

बढ्दो प्रविधिको प्रयोगसँगै सरकारी सबै कामकारवाहीहरुलाई अनलाइन प्रणालीमा लैजान सके त्यसले पारदर्शिता दर्साउने मात्रै नभई समग्र कामको प्रभावकारितासमेत बढाउने देखिन्छ । खास गरी दूर दराजका कर्मचारी सरुवाकै लागि भनेर राजधानी आउँदा हुने खर्च एकातिर छ भने भनसुनका लागि हुने दौडधुप र लाग्ने समयको बचतले सेवा प्रवाहमा समेत नराम्रो असर परिरहेको छ । यसले सरुवामा हुने अनावश्यक चलखेलसमेत एक हदसम्म घट्ने विश्वास मन्त्रालयको छ । यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस