ओलीमाथि प्रचण्डले लगाएको आरोपको जवाफ स‌ंसद र सडकबाट माग्छौं : थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीमाथि प्रचण्डले लगाएको आरोपको जवाफ स‌ंसद र सडकबाट माग्छौं : थापा


३ मंसिर २०७७, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लगाएको आरोप अब नेकपाको आन्तरिक विषयमात्र नरहेको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा ओलीमाथि लगाएका आरोप राष्ट्रिय सरोकारको विषय भएको बताएका हुन् ।

‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तीमा प्रतिपक्षले गर्नेछैन’ थापाले भनेका छन् ।

थापाले प्रचण्डले आफ्नै पार्टीका तर्फबाट बनेका प्रधानमन्त्रीको सन्दर्भमा उठाएका एकएक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट माग्ने पनि बताएका छन् ।

सरकारमाथि नेकपाकै अध्यक्ष प्रचण्डले उठाएका प्रश्न नेकपाभित्रको कुरा मिल्दैमा अब फिर्ता नहुने पनि उनले बताएका छन् ।

‘प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन् । यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन । यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन् र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ’ थापाले भनेका छन् ।

गत शुक्रबार सचिवालय समितिमा प्रतिवेदन पेश गर्दै नेकपा अध्यक्ष प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा गम्भीर त्रुटि गरेको भन्दै विभिन्न आरोप लगाएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस