खुलामञ्चमा वितरण गर्दै आएको निशुल्क खाना अब थापाथलीबाट बाड्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

खुलामञ्चमा वितरण गर्दै आएको निशुल्क खाना अब थापाथलीबाट बाड्ने


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । कोरोना माहामारी यता खुलामञ्चबाट खाना नपाएका भोका मजदुरलाई वितरण गर्दै आएको निशुल्क खाना अब परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकैबाट बाड्ने भएको छ ।

खुलामञ्चको सट्टा आजबाट थापाथली नजिकैबाट खाना वितरण गर्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाकाले खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमति अनुसार नै थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताए ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए ।

खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न यसअघि चेतावनी दिएको थियो । तर जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर बन्द स्थानमा खाना खुवाउन सकिने विकल्प दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस