सरकारको निर्देशन विपरीत विद्यालय खुलाएको भन्दै प्रशासनद्वारा बन्द गर्न निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारको निर्देशन विपरीत विद्यालय खुलाएको भन्दै प्रशासनद्वारा बन्द गर्न निर्देशन


२९ कार्तिक २०७७, शनिबार


डोल्पा । गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।

नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माविका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । सात-आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाइ गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ । अर्को ठूलिभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन ।

प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठूलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ । निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ ।

तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन् । दुवै स्थानीय तहले दशैँ बिदाका लागि बन्द भएका विद्यालय खुला गरेर निरन्तर रुपमा पठनपाठन क्रियाकलाप सञ्चालनमा ल्याएका हुन् । उक्त स्थानीय तहले लकडाउन अवधिभर पनि निरन्तर विद्यालय सञ्चालन गरेका थिए । नजिकिँदै गरेको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने दुवै स्थानीय तहको तयारी छ ।

त्यसैगरी, उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे-फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले पनि लकडाउनमा पनि विद्यालय बन्द गरेनन् । अहिले पनि तीन वटै स्थानीय तहले पठनपाठन सञ्चालन गरी धमाधम वार्षिक परीक्षा लिइरहेका छन् । अब छिट्टै नतिजा प्रकाशन गरेर विद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ । उपल्लो डोल्पामा छ महिनामात्र पढाइ हुने भएकाले वैशाखमा खुलेका विद्यालय खुल्ने कात्तिक अन्तिम सातासम्मै बन्द हुने गर्दछन् । काइके गाउँपालिकाले लकडाउन बीचमा विद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बीचमै पठनपाठन रोकेको थियो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बाँड्दै गएकाले औपचारिक रुपमा विद्यालय खुलाउन सङ्घीय सरकारले निर्देशन नभएकाले खुलाइएका विद्यालय तत्काल बन्द गर्नुपर्ने प्रशासनको भनाइ छ ।

आइतबार सदरमुकाम दुनैमा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले स्थानीय तहले खुलाएका विद्यालय तत्काल बन्द गर्न आजै लिखित पत्राचार गर्ने निर्णय गरेको सहायक प्रजिअ लक्ष्मीदेवी शर्माले जानकारी दिइन् । त्यतिमात्र नभई जिल्ला अस्पतालमा रुघाखोकीका बिरामी बढेको पाइएकाले कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने, तिहारमा देउसीभैलो खेल्न नपाइने जस्ता निर्णयसमेत गरिएको शर्माले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस