कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा मृत्युदर बढ्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा मृत्युदर बढ्दै


२७ कार्तिक २०७७, बिहिबार


सुदूरपश्चिम । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन । जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार २६९ जनामध्ये आठ हजार ७०८ जना उपचार व्यवस्थापनपछि घर फर्केका छन् । बुधबारसम्म कोरोनाका शङ्कास्पद एक लाख ११ हजार २०७ व्यक्तिको पिसीआर पद्धतिबाट नमूना जाँच भइसकेको छ । बिरामी बढ्दै गएपछि प्रदेश सरकारले कोभिड अस्थायी अस्पताल धनगढीमा थप शय्याको व्यवस्थापनको तयारी गरिरहेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोभिड अस्थायी अस्पतालमा थप शय्या थप्ने काम अघि बढेको बताए । सो अस्पतालमा कोभिड-१९ का बिरामीका लागि ५० शय्याको व्यवस्था गरिएकामा पछिल्ला दिनमा पूरै शय्या भरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । प्रदेशका अन्य जिल्लामा रहेका अस्पतालमा आइसीयू (सघन उपचारकक्ष) र भेन्टिलेटरको व्यवस्था पर्याप्त नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई सेती प्रादेशिक अस्पतालमा सिफारिस गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमणदर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए । ‘चिसो बढ्ने भएकाले कोभिड-१९ जस्तो लक्षण बढी व्यक्तिमा देखिन सक्छ’, उनले भने, ‘लक्षण देखिएपछि एक हप्ता आफ्नै घरको छुट्टै कोठामा वा आइसोलेसनमा बसेर एक हप्तापछि मात्र नमूना परीक्षण गराउनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस