कति बस्ने आइसोलेसनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कति बस्ने आइसोलेसनमा


१७ कार्तिक २०७७, सोमबार


परिवारमा कोरोना नदेखिन्जेल के हो र सामान्य रुघा, खोकी त हो नि भन्ने हाम्रो सोचाई जब वास्तविकतामा परिणत हुन्छ तब सबको ओठ तालु सुक्न पुग्छ । यही अवस्था मेरो परिवारमा पनि देखा पर्‍यो । बाहिर मुखले केही हुन्न भने पनि सबैको मन डराई रहेको थियो, अब के हुन्छ भनेर ।

अमेरिकाबाट दाजु र भाउजूको तारनतार फोन आइरहेको थियो । सबै अत्तालिइरहेका थिए, शायद परिवारमा पहिलो सङ्क्रमित भएर पनि होला । उच्च आत्मविश्वासी म पनि मनको एक कुनामा कता कता डर एवं भय र अर्को कुनामा केही हुन्न भन्ने विश्वासको दोधारे मनोदशामा थिएँ ।

आमाले सधैँ “यो जब्बरे छे, सानोमा जस्तै बिरामी भए पनि रुने कराउने नगरी सोफामा बसेर हल्लिन्थी”भन्नुहुन्थ्यो । मलाई पनि याद छ, धेरै ज्वरो आयो, असाध्यै पेट दुख्यो वा टाउको दुख्यो भने एकै ठाउँमा बसेर हल्लिन्थे । हलचल नगरी एकै ठाउँमा बसेँ भने म बिरामी भए भनेर सबैलाई थाहा हुन्थ्यो । अहिले पनि म त्यत्ति सारो बिरामी हुन्न र भए पनि छिट्टै ठिक हुन्छु ।

तर आज विश्वलाई नै चपेटामा लिएको कोरोना भाइरसले मलाई पनि कता कता तर्साउन खोज्दै थियो, प्रायः सबै जस्तो लक्षणहरू देखाएर । म पनि धैर्यताका साथ मनलाई दह्रो बनाउँदै ती लक्षणहरूको सामना गरिरहेको थिएँ । करिब १० दिन पछि सबै लक्षणहरू हराए । श्वास लिन र फेर्न सहज भए पनि नाकमा केही बसेर टम्म भएको जस्तो अनुभव भने भई नै रहेको थियो । यही अवस्थामा नै १७ औँ दिनमा पुनः टेस्ट गराउँदा फेरि पोजेटिभ देखियो । आईसोलेशनबाट बाहिर निस्केर दसैँ मान्ने मेरो आशामा तुसारापात भयो । घरका सबैको अनुहारमा निराशा छाएको प्रस्ट देखिन्थ्यो । आफूलाई पनि एकतमासको डर, चिन्ता लागि रह्यो । धेरै जसो शुभचिन्तक, साथीभाइ र आफन्तहरूले अहो फेरि पोजेटिभ आयो ? भन्दा मुटु मै किला ठोकेको जस्तो गरी दुख्थ्यो ।

फेसबुके भित्तामा केही व्यक्तिहरू हप्ता, दश दिनमा नै कोरोनाबाट मुक्त भएको समाचार देख्दा म किन हुन सकिनँ भन्ने सोचले तनाव दिन्थ्यो । बुढी आमा, दाइ भाउजूको मलिन र चिन्तित अनुहार भाइवर र मेसेन्जरमा देख्दा साह्रै दुःख लाग्थ्यो ।

कोरोनाबाट सजिलै मुक्त हुन सक्दिनँ कि के हो भन्ने चिन्ताले पेट भतभती पोल्थ्यो । शरीरमा पनि के के भए जस्तो जीउ पोले जस्तो भई रातभरि ओल्टो र कोल्टो फर्किँदैमा ठिक्क हुन्थ्यो । बिहान उठ्दा टाउको दुखेर हैरान । यस्तो लाग्थ्यो कि पुनः कोरोनाका लक्षणहरू देखिन थाले जस्तो । कसै कसैलाई कोभिड पोजेटिभ ३ महिनासम्म पनि देखिन सक्ने कुरा विभिन्न माध्यमबाट थाहा पाएपछि झन् डर र चिन्ता लाग्न थाल्यो कि कतै मलाई पनि ३ महिनासम्म देखिने त होइन भनेर ।

मानव जीवनमा आई पर्ने जस्तोसुकै कठिन परिस्थितिको सामना गर्ने मुख्य औजार भनेको उच्च मनोबल वा आत्मबल र सकारात्मक सोच नै हो । जे नहुनु थियो त्यो भइसके पछि त्यसलाई स्विकार्नुको विकल्प हुँदैन । जे भयो राम्रो भयो, जे हुन्छ राम्रो हुन्छ र जे हुनेछ राम्रो हुनेछ भन्ने गीताको सारको अनायासै सम्झना आयो र मनलाई सम्हालेर परिस्थितिलाई सामान्यीकरण गर्न थालेँ ।

सम्बन्धित समाचार : जे नहुनु पर्ने थियो त्यही भयो

विश्वमा यो रोग नयाँ हो र यसका सम्बन्धमा पर्याप्त ज्ञान एवं पूर्णरुपमा अध्ययन तथा अनुसन्धान भइसकेको छैन । विभिन्न विज्ञहरूका भनाइहरू, डब्लुएचओका प्रतिवेदन एवं प्रकाशनहरूको अध्ययन गर्दा पिसिआर टेष्ट पोजेटिभ हुनु भनेको मानव शरीरमा कोरोना भाइरसको जीन पाइनु हो र यो टेष्टले जीनको जीवित वा मृत अवस्थाको बारेमा केही भन्दैन । अर्थात् रोग सार्ने भाइरस छ वा छैन त्यो हेर्न सक्दैन । यसले भाइरसको जीन छ कि छैन त्यो मात्र हेर्छ र एक पटकको सङ्क्रमणबाट ३ महिनासम्म पनि पोजेटिभ देखिने सम्भावना हुने रहेछ । तर यसको मतलब शरीरमा प्रवेश भएको कोरोना भाइरस नहराएको र यसले रोग सार्न सक्छ भन्ने होइन । शरीरमा यस भाइरसको एन्टिवडी न्यूट्रीलाईजेसन भएमा वा मृत एवं जीवित जिन भए पनि टेष्ट गर्दा पोजेटिभ देखिने तर यसबाट रोग नसर्नेमा ढुक्क हुन सकिने रहेछ ।

सुरुवातको चरणमा डब्लुएचओले कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको निश्चित गर्न र आईसोलेशनबाट बाहिर निस्कन दुई पटक आर टी पिसिआर टेष्ट नेगेटिभ आएको हुनुपर्ने सुझाव दिएको थियो । पछिका अध्ययन, अनुसन्धान र विश्वका विभिन्न मुलुकहरूको टेष्ट गर्न सक्ने क्षमतासमेतलाई आधार मानी मे महिनामा जारी गरेको ‘कोभिड-१९ सङ्क्रमित आईसोलेशनबाट बाहिर निस्कने सक्ने आधारहरू’ मा सुरुवातमा ल्याएको ल्याब्रोटरी बेस्ड एप्रोच ९टेष्ट बेस्ड० भन्दा पनि नन् टेष्ट बेस्ड एप्रोचलाई प्रमुख जोड दिएको छ तर राज्यको क्षमताले धान्न सक्ने भएमा ल्याब्रोटरी बेस्ड एप्रोचलाई निरन्तरता दिन सक्ने भनेको छ र वास्तवमा यो नै सबै भन्दा बढी भरपर्दो छ ।

नन् टेष्ट बेस्ड एप्रोच अनुसार लक्षणहरू नदेखिएका सङ्क्रमितको हकमा टेष्ट पोजेटिभ देखिएको १० दिन पछि र सामान्य वा मध्यम लक्षणहरू देखिएका सङ्क्रमितको हकमा लक्षण देखिएको दिनदेखि १० दिन र ३ दिन जोडेर १३ दिनमा अर्थात् लक्षण देखिन छोडेको ३ दिन पछि अर्थात् कसैलाई १८ दिनसम्म लक्षण देखियो भने त्यसमा ३ दिन जोडेर २१ औँ दिन पछि आईसोलेशनबाट बाहिर निस्कन सकिने भनेको छ । हाम्रो ‘कोभिड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका’ले लक्षणहरू तथा चिन्ह नदेखिएको हकमा आइसोलेसनमा बसेको १४ दिन पछि र सामान्य लक्षणहरू देखिएकाको हकमा कम्तीमा १४ दिन पछि लक्षण तथा चिन्हहरू पूर्ण निको भएको ३ दिन पछि निस्कन सक्ने व्यवस्था गरेको छ ।

ल्याब रोटरी बेस्ड एप्रोच अनुसार लक्षण देखिएका वा नदेखिएका सङ्क्रमितहरूको आर टी पिसिआर टेष्ट गरेर नेगेटिभ आएपछि मात्र आईसोलेशनबाट बाहिर निस्कन सकिन्छ । यो विधि विशेष गरेर विकसित मुलुहरुले अहिले पनि अपनाइरहेका छन् । हाम्रो जस्तो गरिब मुलुकहरूको आर्थिक क्षमता कमजोर हुने भएकोले दिगो रूपमा यो एप्रोचलाई धान्न मुस्किल पर्थ्यो होला तर सीमित जनताको मात्र निःशुल्क उपचार गर्ने रणनीति अपनाएबाट राज्यले चैनको सास लिएको छ भने आम जनताको ढाड सेकिएको अवस्था छ ।

प्रत्येक व्यक्तिको थाप्लोमा अनावश्यक आर्थिक व्ययभार थपिन पुगेको छ । यस अवस्थामा आईलोसनबाट बाहिर आउने कम र्खिर्चलो उपाएको रूपमा नन् टेस्ट बेस्ड एप्रोच उपयुक्त हुन सक्छ तर यो पूर्णरुपमा खतरामुक्त भने छैन किनकि कतिपय लक्षणहरू हाम्रो शरीरमा भएता पनि हामीले थाहा पाउन सकिरहेका हुँदैनौँ भन्ने अनुभव म आफैले गरेको छु ।

मलाई १६ दिनसम्म ज्वरो आयो । त्यसपछि दुई दिनसम्म दिनमा तीन पटक जाँचे तर ज्वरो थिएन । म खुसी हुँदै थिए सबै लक्षणहरू हराएकोमा । १९ दिनका दिन अचानक श्रीमानले मलाई ज्वरो नाप्न कर गर्नुभयो र नाप्दा ज्वरो १०० डिग्री पो देखियो जबकि मलाई ज्वरो आएको कुनै लक्षण थिएन । फेरि दुई दिन आएन त्यसपछि आयो । यसरी लगभग २४ दिनसम्म हल्का ज्वरो आईरहयो । मेरो शरीरमा भएका कोभिडका सबै लक्षणहरू वास्तवमा हराइसकेको रहेनछ । अनि कसरी टेष्ट नेगेटिभ आउँछ त ?

त्यसपछि बिस्तारै मैले शरीरका सूक्ष्म सङ्केत एवं भाषाहरू बुझ्ने प्रयास गरेँ । बिहान उठ्दा आँखा बिझाएको जस्तो एवं कस्तो अप्ठेरो भएको जस्तो हुने, त्यसैगरी खाना खाएपछि पेटका आन्द्राहरु दुखे जस्तो भएको थाहा पाउन थालेँ । कपाल टुक्रिएर झरिरहेको पनि भेउ पाएँ । अब भने म ढुक्क भए कि मेरो सबै लक्षणहरू हटिनसकेकाले अझै केही समय आइसोलेसनमा बस्नु पर्छ भनेर । निरन्तरको अभ्यास पछि शरीरका सङ्केत एवं भाषाहरू सहज रूपमा बुझ्न सक्ने भएँ । करिब २४ दिन पछि मेरो सबै लक्षणहरू हराए र त्यसको ३ दिन पछि अर्थात् २७ औँ दिनमा पुनः टेष्ट गरे । यस पटक रिपोर्ट नेगेटिभ आयो । यसरी २८ औँ दिनमा कोरोना भाइरसलाई जितेर आईसोलेशनबाट बाहिर निस्किएँ ।

लामो समय आइसोलेसनमा बस्नु पर्‍यो भनेर चिन्तित हुनु हुँदैन किनकि लक्षण देखिँदैमा हामी बाहिर निस्कियौँ भने घरमा भएका दीर्घ रोगी, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरूमा सङ्क्रमण हुन सक्ने खतरा रहन्छ । त्यसैगरी लक्षण देखिइरहँदा शरीर कमजोर हुन्छ । पर्याप्त पौष्टिक आहारको साथै आरामको जरुरत पर्दछ । यदि हामीले राम्रोसँग आराम गरेनौँ वा आवश्यक पौष्टिक तत्त्वहरू र प्रशस्त पानी खाएनौँ भने कोरोना भाइरसबाट मुक्त भए पनि चाँडै थकाई लाग्ने, शरीर गल्ने, कमजोर महसुस हुनेलगायतका अन्य लक्षणहरूको सामना लामो समयसम्म गरिरहनु पर्ने पनि हुन सक्छ । जसलाई पोष्ट कोभिड लक्षण पनि भनिन्छ ।

त्यस्तै सबै सङ्क्रमितको शरीरमा एन्टिबडी बन्दैन रहेछ । तर लक्षणहरू लामो समयसम्म देखिएमा एन्टिवडी तयार हुने सम्भावना बढ्ने रहेछ । जसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ र कम्तीमा तीन महिनासम्म यो रोगका बिरुद्ध लड्न सक्ने तर त्यसपछि भने एन्टिबडीको मात्रा घट्दै गई पुनः यो रोग लाग्न सक्ने रहेछ तर यसो भन्दैमा हामीले स्वास्थ्य प्रोटोकलको पालना गर्न भने छोड्नु हुँदैन । त्यसैले लामो समयसम्म लक्षणहरू देखिएमा आत्तिएर मलाई निको भएन भनेर डराउनु पर्दैन ।

विश्वभरि नै महामारीको रूपमा फैलिएको यो रोग वास्तवमा अत्यन्त खतरनाक सरुवा रोग हो । यसले प्रत्येक व्यक्तिको प्रतिरोधात्मक क्षमता अनुसार लक्षणहरू देखाउँछ । कसैलाई लक्षण देखिँदैन, कसैलाई सामान्य वा मध्यम लक्षण देखाउँछ भने कसैलाई सिभर र क्रिटिकल अवस्थामा पुर्‍याएर ज्यानै लिन्छ । तसर्थ रोग लाग्नु अघि सचेत र सतर्क हुन जरुरी छ भने रोग लागि सकेपछि उच्च आत्मबल र सकारात्मक सोचका साथ डटेर सामना गर्ने र आफूले अरूलाई रोग नसार्ने कुरामा प्रतिबद्ध हुनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस