जे नहुनु पर्ने थियो त्यही भयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जे नहुनु पर्ने थियो त्यही भयो


२४ आश्विन २०७७, शनिबार


असोज १५ गते बिहीबारका दिन साबिककै दिन झैँ सिँहदरवारको मूल गेटमा सुरक्षाकर्मीबाट ज्वरो परीक्षण पश्चात् सिँहदरवार प्रवेशका लागि म योग्य भए । शाखाको केही विशेष काम भएकोले त्यसकै तयारीमा दिनभरि जुटियो । करिब १ बजे पछि असाध्यै टाउको दुख्यो । हुन त म माइग्रेनको दीर्घ रोगी हुँ, माइग्रेन नै भयो जस्तो लाग्यो र एउटा पेन किलर खाएर काम गरेँ ।

५ बजे पछि घर गएँ । घर पुग्दा असह्यै पीडा भइरहेको थियो । जीउ थरथर काँपी रहेको थियो । केही खानेकुरा खाएर फेरि एउटा पेन किलर खाएर सुतेँ । राती करिब १ बजे व्युँझिँदा उच्च ज्वरोले सारा शरीर दुखेर हलचल गर्न नसक्ने अवस्थामा थिए । आँखामा असाध्यै पीडा भइरहेको थियो । भतभती पोलिरहेको थियो । टाउको चड्की रहेको थियो । यस्तो लाग्दै थियो कि अहिल्यै दुई टुक्रा हुन्छ ।

मुख सुकेर टप टप भइरहेको थियो । ओठ पट्पटी फुटेका थिए । अनुहारको हड्डीसमेत दुखेर असह्य एवं अनौठो पीडा भइरहेको थियो । के के हो के के ! म एकोहोरो बर्बराई रहेँ । श्रीमानले ज्वरो नापेर प्यारासिटामोल खान दिनु भएछ, मलाई याद पनि छैन । बोल्दा बोल्दै कति बेला निदाए थाहै भएन ।

बिहान व्युँझिँदा शरीर गलेर उठ्नै सकिनँ । अरू बेलाको भन्दा फरक अनुभव भइरहेको थियो । ज्वरो अझै उच्च थियो । श्रीमानले जाउली ल्याएर खान दिनुभयो । त्यस पछि फेरि प्यारासिटामोल खाएँ र कोरोना पो भयो की, ल म आइसोलेसनमा तलको कोठामा बस्छु, अब मेरो नजिक कोही पनि नआउनु भन्दै ओछ्यानबाट तन्ना, ब्ल्याङकेट, सिरानी च्यापेर तल रुममा आएँ ।

मेरो अन्य सामानहरू ल्याउन सबैले सहयोग गर्नुभयो । शरीर पुरै गलेर उभिन पनि सकिरहेको थिइन् । यस्तो ज्वरो कहिल्यै आएको थिएन । शुक्रवार दिनभरि उच्च ज्वरोसँग पैठाजोरी खेल्दैमा बित्यो । मनमा हर तरङ्गका सवालहरू आइरहे । कता कता डर, चिन्ता, नरमाइलो लागिरह्यो । घरमा सबैले फ्लु हो ठीक हुन्छ भनी सान्त्वना दिई रहे । तर म भने कोरोना सङ्क्रमण भएकोमा विश्वस्त हुँदै मनलाई दह्रो बनाउँदै थिएँ । किनकि मेरो शरीरको भाषा मैले बुझी सकेको थिएँ ।

शरीरले नितान्त फरक लक्षणहरू देखाइरहेको थियो । डराइरहेको थियो । वास्तवमा जुनसुकै रोगको औषधी उच्च मनोबल नै हो । ज्वरो नाप्दै ६–६ घण्टाको फरकमा प्यारासिटामोल खाएँ, दिनमा ३ पटक बाफ लिएँ । गुर्जो लगायतका धेरै जटिबुटी हालेर श्रीमानले काँढा बनाएर दिनुहुन्थ्यो र दिनमा ३ पटक यस्तो काँढा खान थालेँ ।

जिब्रोमा कुनै स्वाद र नाकमा कुनै गन्ध थिएन । केही खान मन लाग्दैनथ्यो तर परिवारको करले खान्थेँ । फलफूल, जुस, सुप प्रशस्तै खाएँ । बाबुले टमाटर र पुदिनाको अचार बनाएर दिन्थ्यो, हट लेमन दिन्थ्यो, तर स्वादै आउँदैनथ्यो । यसै क्रममा अफिसमा दुई जनालाई कोरोना सङ्क्रमण देखिएको जानकारी पाएँ । त्यसबाट म झन् आश्वस्त भए कि म पनि सङ्क्रमणमा छु भनेर ।

शनिवारदेखि ज्वरो १०२ डिग्रीमा झर्‍यो र कोरोना टेस्ट गर्न जाने बारेमा घरमा सल्लाह गरेँ । लक्षण देखिएको ७२ घण्टा पछि टेस्ट गर्नु उपयुक्त हुने सुझाव अनुसार आइतबार ३ बजे शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा गएर स्वाब दिएँ । रिपोर्ट दुई दिन पछि आउने जानकारीसँगै घर आएँ । दिनभरि ज्वरो १०१ डिग्री आइरह्यो ।

ज्वरोसँगै शरीर दुख्ने र थकाई लाग्ने अवस्था कायमै रह्यो । अफिसबाट लगातार सबैले फोन गरेर मलाई सान्त्वना दिइरहनु भयो । तर आखिरमा जे नहुनु पर्ने थियो, त्यही भयो, मेरो रिपोर्ट तीन दिन पछि पोजेटिभ आयो ।

म पुरै आइसोलेसनमा बसेको हुनाले परिवारमा अरूलाई सङ्क्रमण देखिएन वा सर्न पाएन । बुधवारको दिन हस्पिटलबाट फोन आयो ‘तपाईँलाई आफ्नो रिपोर्ट थाहा छ नि’ भनेर । मैले थाहा छ भनेँ र म उच्च ज्वरो आउने वित्तिक्कैदेखि घरमा आइसोलेसनमा छुँ भनेँ । त्यसो भए श्वास फेर्न गाह्रो भयो वा छाती टाइट भयो भने अस्पताल आउनु भनेर उताबाट फोन राखे र मैले पनि हुन्छ भनेँ ।

साईकोलोजी पनि अचम्मको चिज रहेछ । अघिसम्म मलाई केही समस्या नभएकोमा अब भने श्वास फेर्न गाह्रो भए जस्तो, छाती पनि गह्रुँगो भएको जस्तो हुन थाल्यो । मैले यो कुरा परिवारमा भनेँ । श्रीमान् र उहाँको साथीले नेपालको टप कोरोनासँग सम्बन्धित प्याथोलेजिष्टसँग मलाई कुरा गराउनु भयो । मेरो कुरा सुने पछि ‘तपाईँलाई खासै समस्या रहेनछ खाली मानसिक असर परेको हो, नडराउनु ठीक हुन्छ’ उनले भने ।

जति नै ज्वरो आए पनि प्यारासिटामोलबाहेक अरू औषधी नखान र धेरै भन्दा धेरै तातो पानी तथा झोल कुरा खान सुझाए । त्यसै गरी यस्तो बेलामा भिटामिन ‘डी’ को कमी हुने हुनाले भिटामिन ‘डी’ र ‘सी’ को सप्लिमेन्ट खान र कम्तीमा पनि १ घण्टा घाममा बस्न भने र मैले उनले भने बमोजिम गरेँ ।

त्यसको अलावा आफ्नो व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिएँ । प्रत्येक दिन तातो पानीले नुहाउने र कपडा फेर्ने गरेँ । आफ्नो कोठा डिटोल पानीले पुछेँ । दिनदिनै तन्ना, सिरानीको खोल फेरेँ । ब्ल्याङकेट घाममा सुकाउने गरेँ । यसो गर्दा कोरोनाका कीटाणुहरू जो म बोल्दा, खाँदा उछिट्एिर कोठामा वा मेरो कपडामा वा हावामा परेका थिए, ती नष्ट भए र म पनि छिटो निको हुन थालेँ । अहिले म पूर्णरुपमा स्वस्थ भएको अनुभव गरिरहेको छु ।

वास्तवमा रोगीको मनोविज्ञानले पनि ठूलो भूमिका खेल्ने रहेछ । मैले ती विशेषज्ञसँग कुरा नगरेको भए, उनको सान्त्वना नपाएको भए, म डराएर हस्पिटल पुगिसकेको हुने थिएँ र थाहा छैन अरू के के लक्षणहरू म मा देखिए जस्तो हुन्थ्यो होला । र, निको हुन समय लाग्थ्यो होला । तसर्थ सङ्क्रमित व्यक्ति संयमित र धैर्यवान् हुन पनि जरुरी छ ।

त्यसै गरी हामीसँग कम्तीमा पनि एउटा थर्ममीटर, एउटा अक्सिमिटर प्रत्येक घर घरमा हुन जरुरी छ । कोभिड-१९ ले रगतमा अक्सिजनको मात्रा घटाइदिने हुनाले श्वास फेर्न कठिन भई मृत्युसमेत हुन सक्छ । अक्सिमिटरबाट औँलाको सहायताले रगतमा रहेको अक्सिजन थाहा पाउन सकिन्छ र ९० भन्दा कम अक्सिजन भएमा तुरुन्त हस्पिटल जानुपर्छ वा अक्सिजन लिने व्यवस्था मिलाउनु पर्छ । तर यो कुरा स्वयं डाक्टरहरुबाटसमेत आउन सकिरहेको छैन । उल्टै बेहोस हुन लागेमा मात्र अस्पताल आउनु होला भनिन थालिएको छ । तर बेहोस कुन अवस्थामा कसरी हुन सक्छ ? त्यसको रोकथामका उपायहरूको बारेमा जानकारी पाउन सकिएको छैन ।

तसर्थ हामी स्वयं सजग हुन जरुरी छ । मेरो अनुभवमा कोरोना सङ्क्रमितले ३/४ वटा कुरामा ध्यान दिन जरुरी छ । पहिलो–ज्वरो छ कि छैन ? दोस्रो–रगतमा अक्सिजनको मात्रा कति छ ? तेस्रो – शरीरमा भिटामिन ‘डी’ र ‘सी’ को कमी हुन नदिने, चौथो–घाँटी र फोक्सोमा समस्या छ कि छैन ? यिनै लक्षणको आधारमा उपचार गर्नुपर्छ र निको पनि भइन्छ ।

वास्तवमा स्वास्थ्य प्रोटोकल पालना गर्दागर्दै पनि म सङ्क्रमित भएँ । तसर्थ कोभिड–१९ सामान्य रुघाखोकी मात्रै होइन, यसलाई हेलचेक्र्याइँ नगरौँ । हावाबाट पनि सर्ने सम्भावना बढी भएकोले स्वास्थ्य प्रोटोकलको पालनासँगै यसलाई जिन्दगीको अभिन्न अङ्गको रूपमा स्वीकार गर्दै जीवनलाई सहज बनाउँदै जानुको विकल्प हामीसँग छैन ।

 

Tags :
प्रतिक्रिया दिनुहोस