कोरोना सङ्क्रमितले पनि लोक सेवा परीक्षा दिन पाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमितले पनि लोक सेवा परीक्षा दिन पाउने


३ कार्तिक २०७७, सोमबार


लोक सेवा

काठमाडौँ । कोरोना सङ्क्रमित परीक्षार्थीले पनि लोक सेवाको परीक्षा दिन पाउने भएका छन् ।

लोक सेवा आयोगले सोमबार सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१) निलम्बन गर्ने निर्णय गरेसँगै सङ्क्रमित व्यक्तिहरूले पनि परीक्षा दिन पाउने भएका हुन् । यसअघि आयोगले मापदण्ड सार्वजनिक गर्दै ‘परीक्षार्थी कोरोना सङ्क्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्ने र सङ्क्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ भनेकोमा सर्वोच्च अदालतको आदेशअनुसार आयोगको बैठकले उक्त निर्णय निलम्बन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : कोरोना संक्रमण भएकै अवस्थामा परीक्षार्थीले लोक सेवाको परीक्षा दिन नपाउने (मापदण्डसहित)

‘लोक सेवा आयोगबाट सङ्क्रमणको विशेष अवस्थामा परीक्षा(सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत गरी परीक्षा सञ्चालन भइरहेकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०७७/०६/२९ को अन्तरिम आदेश बमोजिम लोक सेवा आयोगको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा(सञ्चालन तथा व्यवस्थापन), सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१) कार्यान्वयन नगर्न नगराउन भनी लेखि आएकोले उक्ता व्यवस्था निलम्बन गर्ने गरी आयोगबाट मिति २०७७/०७/०३ मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकसेवाले कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएपछि सङ्क्रमितलाई सहभागी नगराई परीक्षा लिने तयारी गरेको थियो।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि बाटो खोलिदिएपछि आयोगले कोरोना सङ्क्रमित परीक्षामा सहभागी हुन नपाउने गरी मापदण्ड बनाउँदै परीक्षा लिने तथा नयाँ विज्ञापन खोल्ने तयारी गरेको थियो । परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै आयोगले कोरोना सङ्क्रमित र आइसोलेसनमा बसेका व्यक्तिले परीक्षा दिन नपाउने जनाएसँगै सर्वोच्चमा रिट परेको थियो ।

मानवअधिकार रक्षक सञ्जालका शैलेन्द्र गुप्ताले लोक सेवा आयोग अनामनगरविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेकी थिइन् ।

सम्बन्धित समाचार : कोभिड सङ्क्रमितलाई लोक सेवाको परीक्षाबाट बञ्‍चित नगर्न सर्वोच्चको अन्तरिम आदेश

त्यसको केही दिन पछि नै लोक सेवा आयोगमा कोरोना सङ्क्रमण फैलिँदा नतिजा प्रकाशनलगायत महत्त्वपूर्ण तीन शाखा सिल गरिएका थिए । यससँगै आयोगले सूचना प्रकाशित गर्दै कात्तिक १६ देखि हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ ।

सम्बन्धित समाचार : लोक सेवाका सबै परीक्षा स्थगित (सूचनासहित)

एकातिर सरकारले नै कोरोना संक्रमण भएको व्यक्ति बाहिर ननिस्कन भनेको र अर्कोतिर सर्वोच्च अदालतले सङ्क्रमितलाई पनि लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको अवस्थाका बीच आयोगको परीक्षा कसरी सञ्चालन हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस