कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित ४ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित ४ जनाको मृत्यु


प्रशासन संवाददाता

३ कार्तिक २०७७, सोमबार


विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा अस्पताल संचालकसहित चार जनाको मृत्यु भएको छ । आइतबार राति देखी सोमबार बिहान सम्म चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । उनीहरुको उपचारका क्रममा दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा ज्यान गएको हो।

मोरङको ग्रामथान गाउँपालिका-४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजेतिर वृद्धको मृत्यु भएको हो।

निमोनियाको समस्या रहेको भन्दै अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजिटिभ आएको दाहालले बताए। उनका अनुसार रिपोर्ट पोजिटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।

त्यस्तै नोबेलमै विराटनगर महानगरपालिका-३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोना पुष्टि भए पनि उनलाई होम आइसोलेसनमै राखिएको जानकारी दाहालले दिए। उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो।

यसैगरी न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का ५३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन अजित बस्नेतले जानकारी दिए । मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन् । उनलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड-१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यसैगरी बिराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर-२ की ६० वर्षीया महिलाको आज बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस