आहा ! खै मेरो दशैँ ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आहा ! खै मेरो दशैँ ?


१ कार्तिक २०७७, शनिबार


हिन्दुहरूको महान् चाड दशैँ आजदेखि सुरु भएको छ । दशैँलाई भन्दै घर भन्दा बाहिर गएकाहरू जसरी पनि घरमा जानको लागि कोसिस गरिरहेका छन् । शहरमा गएका धेरै व्यक्तिहरू घरमा आउने कारणले गाउँले दशैँको झल्को पाइहाल्दछ । नयाँ र सुकिला अनुहारहरू मेला पर्वको बेला गाउँमा देखिनु पनि गाउँले नयाँ रूप लिएको आभास दिन्छ । विभिन्न काम र व्यवहारले बिरक्तिएका व्यक्तिहरूलाई दशैँको आगमनले घरमा जान कुत कुताउने गर्दछ ।

सानो छँदाको दशैँलाई सम्झने कोसिस गरेको हुँ । दशैँको पूर्व तयारी अलि बेग्लै खालको हुन्थ्यो । दशैँको पूर्व तयारी घर र घर वरिपरि सरसफाइ पनि हो भन्ने गरिन्छ । दशैँका बेला गाउँका गोरेटा, घोडेटा बाटाहरू झारा लाग्ने र त्यसको सरसफाइको काम हुन्थ्यो । गाउँका भद्र भलादमी र सामाजिक अभियन्ताहरूले यसको नेतृत्व लिने गर्दथे । दशैँमा घरमा रातो माटो र कमेरोले घर लिपिन्थ्यो । त्यसको लागि डोको बोकेर हिँड्नु पर्दथ्यो । कमेरो माटो र रातो माटो नजिकमा नपाइने भएकाले खाजा पानीको बन्दोबस्त गर्दै राती–राती उठेर जाने गर्दथे । गीत गाउँदै हिँड्ने भएकोले पनि दशैँ आएको झल्को दिन्थ्यो । दशैँको बेला अत्यन्तै जानकारी गराउने अर्को पक्ष भनेको ढिकीमा चिउरा कुट्ने पनि हो । चिउरा कुट्दा २.३ दिन अगाडि नै धान ताउलोमा भिजाउने गर्दथे । धानलाई आगो बालेर हाँडीमा मजासँग चलाउनु पर्दथ्यो । धानको आवाज चटचट गर्न थालेपछि थालमा खनाइन्थ्यो र ओखलमा हालिन्थ्यो २ जनाले धूम–धूम पार्दै ढिकी कुट्ने एक जनाले ओखलमा हात हाल्दै धानलाई चलाउने गर्दथे ।

धानका बियाँ सबै निख्री सकेको अवस्थामा त्यो चेप्टो चिउरा बन्दथ्यो त्यसको स्वाद नै बेग्लै खालको हुन्थ्यो । चिउरा कुट्दै जाँदा सबैभन्दा पछिल्लो घानलाई साँढे घान भन्दथे जसलाई कुटमा सामेल सबैले एक एक फाँक हाल्दथे । चिउरा कुटिसके पछि हाँडी निकालिन्थ्यो हाँडीलाई घोप्टो पारेर राखिन्थ्यो अनि एक मुठी चिउरा पनि त्यसैमा राखिन्थ्यो । चिउरा कुट्ने मुसल काठको थेप्चो खालको हुन्थ्यो । एक जनाको चिउरा कुट्दा कम्तीमा पनि ४ जना मान्छे लाग्ने भएकोले त्यसको ओरिमो परिमो चल्ने हुनाले ढिकीको आवाज र मान्छेको जमघटले दशैँ आएको अर्को झल्को दिने गर्दथ्यो ।

दशैँमा थरी–थरिका रोटी पनि पकाउँथे । अनरसा र सेल रोटी हाल्ने पिठो पनि ढिकीमै कुटिन्थ्यो फिनी रोटी हाल्ने जाँतोमा मसिनो गरी गहुँ पिस्नु पर्दथ्यो । फिनी रोटी पकाउने गहुँ २÷३ पटक कुट्ने पखाल्ने सुकाउने अनि पिस्ने गरिन्थ्यो । सेल र अनरसा चामलको पिठोबाट गराइन्थ्यो । अनरसामा आधा चिनी र आधा पिठो बनाएर डल्लो पारिन्थ्यो । पिठो भिजीसके पछि केराको पातमा तेल लगाउँर्दै पिठोको डल्लो पार्दै पकाइन्थ्यो । रोटी पकाउँदा सबैका घरमा घिउ तेलको वासना बाटैमा आउने गर्दथ्यो ।

दशैँको रोटी पकाउन थालेपछि देवतालाई चढाउनु पर्छ भन्दै कुलमा र बाहिर पनि रोटी चढाउने गरिन्थ्यो । यसले पनि दशैँलाई स्वागत गरिरहेको हुन्थ्यो ।

दशैँका लागि भन्दै काँक्रोको अचार माटोको भुर्का, काठका भाँडा आदिमा चाँपेर राखिन्थ्यो । काँक्रोको बाहिरी बोक्रा पटपटी फुट्न लागेकोलाई चिरा पार्दै बीच बीचमा चर बाएर राख्ने र घाममा सुकाएर राखिन्थ्यो । यसरी सुकाएको काँक्रोलाई टुक्रा–टुक्रा पारेर अर्सी, रायो, काठे नुन बेसार, खुर्सानी तेल राखेर मोलिन्थ्यो । घरका कौसीमा काँक्रा, तामा, करेलो आदि विभिन्न थरीका अचारका भाँडाहरू देखिए पनि दशैँको झल्को दिन्थ्यो ।

दशैँको अर्को परिकार केरा पनि हो । दशैँका लागि भन्दै विभिन्न थरिका केराहरू बोरामा लोमेर अगेनाको माथि र अन्य स्थानमा थरी–थरीका लुगाले च्यापेर दशैँ टार्गेट केरा पकाउन राखिन्थ्यो दशैँका बेला कसैका घरमा पनि केरा हुनु सामान्य नै थियो । घरमा भएको केरा दही, चिउरा, रोटी अचार सामान्यतया सबै घरमा हुने गर्दथे ।

दशैँको अर्को वस्तु भनेकै मासु पनि हो । पहाडका धेरै घरमा सिङ्गो खसी बोका काट्ने व्यक्ति थोरै थोरै मात्र हुन्थे त्यसैले दशैँमा मासुको जोहो गर्नु पर्दथ्यो । ५÷१० किलो मासु पाउन हम्मे हम्मे पर्दथ्यो । धेरै जनाले धेरैसँग त्यस्तो मासुको जोहो भएको पाइन्थ्यो । मासु खोज्ने सम्बन्धमा खसी खोज्ने काट्ने अवस्थाले पनि दशैँको भिन्नै रौनक आए जस्तो लाग्दथ्यो ।

दशैँको बेला भुईँ छाड्नु पर्छ भन्दै चर्खे, लठरे पिङहरूमा रमाइलो गर्न पाइन्थ्यो । यसले गाउँका केटा केटी र युवा युवतीलाई जम्मा हुने थलोकोरुपमा लिने हुन्थ्यो । साथै चङ्गा उडाउनु पनि दशैँ भित्रिएको शुभ सङ्केत पाइन्थ्यो ।

बाहुन क्षेत्रीहरू रहेको ठाउँमा कोट कोटमा बाजाहरू बज्ने गर्दथे । घर घरमा शङ्ख घण्ट बज्ने गर्दथ्यो । दशैँको घटस्थापनाकै दिन देखि जमरा राख्ने, पूजा भाँडा माझ्ने फूलपाती टिप्ने आदि कामले पनि एउटा स्थान लिने गर्दथ्यो । कोट कोटमा बलि दिने, परेवा, हाँस उडाउने, खड्ग नचाउने आदि कारणले पनि दशैंको माहौल बनिरहेको हुन्थ्यो ।

दशैँ भन्दा बित्तिकै बालापनका सम्झनाहरू आउँछ । अहिलेको दशैँको चहल पहल र पहिलेको दशैँको चहल पहलमा भौलिक भिन्नताको रूपमा देखिएको छ । हाम्रा पालामा दशैँमा छोरी चेलीलाई टिका थापे बापत पैसा पनि दिन्थे । छोरालाई कसैले पनि दिँदैनथे । यसरी पैसा दिनुलाई दक्षिणा भन्ने गरिन्थ्यो । बेलुका सुत्नेबेलामा दिदी बैनीका कति पैसा भएछन् भनेर आँखा लगाउँथ्यौ । दशैँका दिन आफन्तहरूका जाने हाम्रो ओहोर दोहोर नै चलिरहन्थ्यो । एक घरबाट अर्को घर जाने रुटिन नै बनाउनु पर्दथ्यो । हामीतिर वास्तवमा दशैँको टिकाको दिनलाई टिका लगाउनेको रूपमा लिने गरिन्थ्यो । दशैँमा लगाउने लुगा जुत्ता नयाँ हुन्थे । दशैँका दिन नै लगाउने भएकोले ती सबै लुगामा नयाँ वासना आउने गर्दथ्यो ।

दशैँ सबैका लागि एउटै अवश्य थिएन । कतिपयले दशैंका लागि चाहिने अक्षता पनि अरूका घरमा पुगेर ल्याउनु पर्दथ्यो । दशैँको टिकाको लागि दही, चामल र रङसमेत मागेर लिएर जाने पनि धेरै थिए । बजारमा चामल पाइँदैनथ्यो त्यसैले पनि नहुनेहरूका लागि आफ्नो घरपरिवारलाई सम्झाउन घरमूलीलाई हम्मे हम्मे पर्ने गर्दथ्यो । यसले उनीहरूलाई दशैँ होइन दशा लागेको पनि अनुभूति गराउँथ्यो ।

अहिले त दशैँ बदलिएको छ । कमेरो र रातो माटोले लिप्ने घरहरू सिमेन्ट चुनाहरूले पोत्ने गरिन्छ । हामीले पकाउने रोटीहरू शहरमा बजारबाट किनेर लैजाने गर्दछन् । घरमा पकाउनेहरूले ढिकी जाँतोको जोहो गर्दैनन् । सेल अनारसाका पीठाहरू मिस्चरमा पिस्ने गर्दछन् । चिउरा कसरी बनाउँछन् भन्ने सम्बन्धमा अहिलेको पिँढीलाई थाहा पनि छैन । बजारबाट ल्याएका चिउरा नै उनीहरूको दशैँको परिकार हो । घरमा केराका बोटहरू सुक्दै गरेका छन् तर चाहिएको केराहरू औषधि राखी पकाइएका हुन्छन् उनका लागि त्यहीँ नै परिकार मानिन्छ । अचार पनि घरमा बनाउन छाडिसके त्यो पनि बजारबाटै किन्न पाइहाल्छन् । अहिले त लुगा लगाउन महिना वर्ष कुर्न पर्दैन जुनसुकै समयमा नयाँ लुगा लगाउने अवस्थाले कुरी राख्दैन ।

ठाउँ–ठाउँमा वधशाला फ्रेस हाउसको कारणले मासु खान दशैँ नै कुर्नु पर्दैन । हुने खानेलाई सिङ्गै खसी भित्राए पनि किन भित्रको भनी कसैले सोध्दैन । अहिले त विश्वमा आएको महामारीले जो जहाँ छौँ त्यहीँ आफ्नो दशैँ मनाउ भन्दै छ सरकारले पनि । हाम्रो संस्कृतिमा महामारीले छुरा रोपेको छ । आफै त दशैंलाई विकृत जस्तो परनिर्भर बनाइँदै छ मैले दशैँको मजा हिजोको अवस्थालाई खोजी राखेको हो । आजको प्राविधिक दशैँलाई होइन । त्यसैले म आफूले आफैलाई सोध्दै छुँ खै मेरो दशैँ ? जे भए पनि २०७७ को दशैँको शुभकामना सबैमा टक्र्याउँछु स्विकार्नुस् ।

Tags :
प्रतिक्रिया दिनुहोस