‘गरिबी निवारणका लागि माग र रुचि अनुसार उद्यमशिल तालिम दिइने छ’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘गरिबी निवारणका लागि माग र रुचि अनुसार उद्यमशिल तालिम दिइने छ’


१ कार्तिक २०७७, शनिबार


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचिमा आधारिक उद्यमशिलता तालिम दिइने बताएकी छिन् । अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने बताएकी हुन् ।

गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरुको जीवनस्तर माथि उकास्नका निम्ती एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् । मन्त्री अर्यालले भनिन्, “गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ । उनीहरुलाई चाहिएको के हो रु रुची के मा छ ? त्यस्ता कुराहरुको पहिचान गरेर उनीहरुलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

अहिले पनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता रहेको औल्याइन् । सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन सोच लिएर पन्ध्रौ आवधिक योजनाको कार्यान्वयन गरिरहेको भन्दै मन्त्री अर्यालले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा चिनाउने सरकारको अठोट पूरा गर्न धेरै काम गर्नुपर्ने बताइन् ।

विश्वव्यापी साझा चुनौतीको रुपमा रहेको गरिबी निवारणमा टेवा पुर्याउन संयुक्त राष्ट्र संघले सन १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन आव्हान गरेको थियो । त्यसपश्चात विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस