निजामती सेवा : शाख जोगाउनै कठिन « प्रशासन
prasaLogo
२८ आश्विन २०७७, बुधबार

निजामती सेवा : शाख जोगाउनै कठिन


प्रकाशित मिति : 14 October, 2020 1:12 pm

मुलुकको सार्वजनिक प्रशासन सञ्चालनको बलियो र स्थायी प्रतिनिधि निजामती सेवा हो । यसले जनतालाई सार्वजनिक सेवा प्रवाह, शान्ति सुव्यवस्था कायम, विकास निर्माण कार्य सञ्चालन, राज्य व्यवस्था सञ्चालन र व्यवस्थापनको आशा भरोसा प्रदान गर्दछ । सुशासन कायम गर्ने, स्वच्छ प्रशासन सञ्चालन तथा व्यवस्थापन गर्ने, जनमुखी तथा लोकतान्त्रिक शासन व्यवस्था सञ्चालन गर्ने, सदाचार, अनुशासन, इमानदारिता र नैतिकताले भरिपूर्ण, समृद्ध मुलुकको सपनालाई साकार पार्ने, कानुन तथा राज्यको नीति एवम् राज्य व्यवस्थाबमोजिम सञ्चालन हुने स्थायी सरकार हो निजामती सेवा ।

निजामती सेवा हरेक राज्यको आधार स्तम्भ हो । यो स्थायी सरकार, मुलुक सञ्चालनको मेरुदण्ड हो । जसले प्रशासन सञ्चालन मात्रै हैन कि राजनीतिलाई कार्यनीतिमा रूपान्तरण गर्ने संयन्त्रको रूपमा समेत भूमिका खेल्ने भएकाले यो मुलुक सञ्चालनको इन्जिन हो । राजनीतिक प्रणालीले राज्य सञ्चालनको नीति तर्जुमा गर्ने र सो नीति बमोजिम नै मुलुकका दैनिक प्रशासनिक तथा विकासका गतिविधिहरू सञ्चालन गर्ने संयन्त्रको रूपमा निजामती सेवा रहेको हुन्छ ।

जनताको आकाङ्क्षाबमोजिम सुशासनयुक्त, भ्रष्टाचार मुक्त तथा विकासको लक्ष्य हासिल गर्ने, समृद्ध समाज निर्माण गर्ने, राज्य व्यवस्था सञ्चालन गर्ने, कुशल परिणाम मुखी संयन्त्र नै निजामती सेवा हो । भनिन्छ, कुनै पनि मुलुकको राजनीतिक संयन्त्र त्यहाँको प्रशासनिक संयन्त्र भन्दा कुशल हुन सक्दैन । त्यसैले राजनीतिक नेतृत्व एउटा आकृति हो भने प्रशासन संयन्त्र एउटा ऐना हो ।

नेपालमा राज्य व्यवस्था व्यवस्थित रूपले सञ्चालन हुन थालेको नेपाल एकीकरण पछि मात्र भएको हुनाले निजामती सेवाको व्यवस्थित विकास पनि वि.सं. १८२५ पश्चातको समयमा मात्र भएको मानिन्छ । नेपाल एकीकरणदेखि राणा शासनको पूर्व समयसम्म राजाको विश्वास जित्ने, नेपाल एकीकरणमा सहयोग गर्ने छ थरघरलाई मात्र निजामती सेवामा काम गर्ने व्यवस्था थियो । त्यो समयमा सैनिक र निजामती सेवाबिच कुनै भिन्नता थिएन । सैनिकहरूले नै सार्वजनिक सेवा सञ्चालन गरेका थिए । कर्मचारीहरूको नियुक्तिदेखि अवकाशसम्मका सम्पूर्ण कामकाजहरू राजाको व्यक्तिगत विवेकमा आधारित थियो । कर्मचारीको काम कर्तव्य र अधिकार राजाबाट नै तोकिए बमोजिम हुने गर्दथ्यो ।

राजाकै हुकुमबाट शासनव्यवस्था सञ्चालन हुने भएकाले सार्वजनिक सेवामा पनि हुकुमी व्यवस्था थियो । राणा शासनकालदेखि प्रजातन्त्रको स्थापनासम्म पनि निजामती सेवा तथा सार्वजनिक सेवाका सम्पूर्ण गतिविधिहरू राणाहरूकै हुकुमबाट नै सञ्चालन थियो । शासनमा राजाको ठाउँमा राणाहरू हाबी हुने बाहेक कुनै परिवर्तन थिएन । राणा शासन कालमा प्रशासनिक कामकाजहरू सनद सवालबाट सञ्चालन गरिन्थ्यो । निजामती र सैनिक प्रशासनबिचमा विभाजन थिएन । सार्वजनिक प्रशासनका माथिल्लो पदमा सैनिक नै अथवा राणाहरू नै रहन्थे भने हुकुमी प्रथाकै प्रचलन थियो ।

‘जसरी निजामती सेवालाई टेबल वर्ककोरूपमा सामान्य रूपमा बुझिन्छ वास्तवमा यसले गर्ने कामको प्रकृति व्यापक र घनिभूत छ । ’

नेपालमा प्रजातन्त्रको स्थापना पश्चात् तत्कालीन प्रधानमन्त्री टङ्क प्रसाद आचार्यले वि.सं. २०१३ साल भाद्र २२ गतेका दिन निजामती सेवा ऐनको घोषणा गरी निजामती सेवालाई कानुनी रूपमा विकास गरेका थिए । निजामती सेवा औपचारिक रूपमा गठन भई प्रजातन्त्रको स्थापना पश्चात् कानुनी रूपमा विकास भएपछि हालसम्म करिब ६४ वर्षको यात्रा गरिरहेको छ । शासन व्यवस्थामा भएको पटक–पटकको परिवर्तनसँग लडिबुडी खेल्दै अनेकौँ हन्डर ठक्कर खाँदै आजको अवस्थासम्म पुगेको इतिहास साक्षी छ । तर, यति लामो सङ्घर्षका बाबजुद पनि निजामती सेवाको  गरिमालाई खासै ध्यान दिन सकी राखेको अवस्था छैन ।

वि.सं. २०१३ सालदेखि हालसम्म शासन व्यवस्था तथा राजनीतिक नेतृत्वले जुन चरित्र बोकेको थियो । जस्तो खालको नीति अवलम्बन गर्‍यो सोही अनुरूप चल्दै आएको ऐतिहासिक पृष्ठभूमि बोकेर निजामती सेवा चल्दै आएको छ । यति भन्दैमा सरकारको सफलता र असफलता नै निजामती सेवाको कामकारबाही तथा प्रभावकारिताबाट प्राप्त प्रतिफलबाट महसुस हुने कुरा हो भन्ने बिर्सन मिल्दैन ।

विभिन्न सङ्घर्ष, सशस्त्र युद्ध तथा प्राकृतिक विपत्तिको समयमा पनि निजामती कर्मचारीले अग्र पंतिमा रहेर जनताको सेवामा खटिएको अविस्मरणीय इतिहास पनि निजामती सेवाले बोकेको छ ।

निजामती सेवाले जस्तो सुकै सहज तथा असहज परिस्थितमा समेत जनतालाई सेवा तथा सहयोग गरिराखेको छ । जस्तो सुकै राजनीतिक परिवर्तनलाईसमेत लचकतापूर्वक अँगाली आफ्नो ज्ञान, बुद्धि, विवेक, सीप, अनुभव, उपलब्ध साधन तथा श्रोत एवम् अनुभव समेतका आधारमा नीति निर्माण कार्यमा सरकारलाई सहयोग गर्दै आएको छ । नीति कार्यान्वयनका सवालमा जनतालाई उच्चतम लाभ हासिल गर्ने गरी सेवा पुराउँदै आएको छ ।

निजामती सेवा मुलुकको पहरेदारका रूपमा हरेक अप्ठेरो तथा प्रतिकूल समयमा पनि अत्यन्तै दुर्गम तथा विकट भौगोलिक क्षेत्रका जनतालाई शासनको अनुभूति दिलाउने काममा अग्रपंतिमा देखिएको कुरा नकार्न मिल्दैन । हालसम्मको अवस्थामा निजामती सेवाले कठिन भन्दा कठिन समयमा पनि जनता र राज्यलाई जोड्ने पुलको काम गरेको छ । ‘जसरी निजामती सेवालाई टेबल वर्ककोरूपमा सामान्य रूपमा बुझिन्छ वास्तवमा यसले गर्ने कामको प्रकृति व्यापक र घनिभूत छ । ’ इतिहासलाई हेर्ने हो भने द्धन्दको समयमा होस या सशस्त्र सङ्घर्षको समयमा होस्, बाढी पहिरो भू–कम्प जस्ता प्राकृतिक विपत्तिको समयमा नै किन नहोस् सैन्य मोर्चा जस्तै जनताको घरदैलोमा सेवा सुविधा पुर्‍याउन, जनतालाई राहत, उद्धार तथा पुनर्स्थापन गर्न, राज्य व्यवस्था सञ्चालनमा सरकारलाई सहयोग गर्ने जस्ता वलिदानीपूर्ण काममा पनि नेपालको निजामती प्रशासनले खेलेको भूमिका कम आङ्कलन गर्न मिल्दैन । प्राकृतिक विपत्ति तथा रोगजन्य महामारी एवम् ‘मुलुक नै मृत्यु सँग लडिरहेको समयमा जनतालाई सरकार भएको अनुभूति दिने तथा राज्यको साख जोगाइ राख्ने काम निजामती सेवाले गरिराखेको छ ।’

राज्यलाई आवश्यक परेको समयमा कर्मचारीले सरकार चलाई चुनाव गराइ पुनः राजनीतिलाई नै हस्तान्तरण गरेको इतिहास धेरै पहिलेको हैन । जनतालाई घरदैलोमा सेवा सुविधा तथा विकास पुर्‍याउने एवम् ‘सरकारलाई राज्य व्यवस्थाको मियो सिकाउने संस्था हो निजामती प्रशासन ।’

यति गौरवमय इतिहास बोकेको निजामती सेवा हुँदा हुँदै पनि निजामती सेवाले राज्य व्यवस्थामा भएको परिवर्तन, देश, काल, समय, परिस्थिति सँगै आफूलाई समयानुकूल परिमार्जन तथा सुधार गर्न नसक्दा यसले कार्यस्थलमा जनता तथा नीति निर्माण तहमा सरकारको यथेष्ट विश्वास हासिल गर्न सकिराखेको छैन । आफ्नो निष्पक्ष, स्वच्छ, व्यावसायिक, कर्तव्यनिष्ठता जस्ता सुन्दर पक्षहरू प्रदर्शन गर्न सकी राखेको छैन । ‘निजामती सेवा दोषमुक्त तथा खोट रहित हुन सकी राखेको छैन । यस भित्रका केही नकारात्मक तत्त्वहरू, वितृष्णा फैलाउन लागि परेका केही तत्त्वहरूका कारण सिङ्गो निजामती सेवा बदनामीको अवस्थामा छ । भने समग्र निजामती कर्मचारीप्रति नै नागरिकले हेर्ने दृष्टिकोण नै नकारात्मक बन्न पुगेको अवस्था छ । अत्यन्तै प्रगतिशील, आम जनताको इच्छा र चाहानालाई सम्बोधन गर्न सक्ने, सुशासनको प्रत्याभूति दिने, उत्तरदायी, पारदर्शी, निष्पक्ष, प्रविधिमैत्री हुन खोज्ने र सुशासनको मन्त्र जति जपे पनि नथाक्ने निजामती सेवाको वास्तविक अवस्था भने नितान्त फरक बन्न पुगेको छ । आम जनताको इच्छा, आकाङ्क्षा र अपेक्षा अनुसार निजामती सेवाले जनविश्वास हासिल गर्न सकेको पाइँदैन । निजामती सेवा आफैँमा स्थायी संयन्त्र भएतापनि यो आफैमा अस्थिर खालको हुँदै गएको छ ।

राजनीतिको पन्जाछाप भित्र निजामती सेवा फसेको कारण उम्किन सकिराखेको छैन । सीमित तत्त्वका कारण आफ्नो मूल्य, मान्यता तथा साखलाई जोगाउन सकिराखेको छैन । राजनीतिक दबाब, प्रभाव तथा उच्च तहको चाकरीवाज, मौलाउँदै गएको भ्रष्टाचारका कारण निष्पक्षताको मूल्य–मान्यता विपरीत निजामती सेवाले कार्य सम्पादन गर्नु परेको छ । जसरी मेची–महाकाली, हिमाल, पहाड, तराइमा कठिन तथा प्रतिकूल समयमा राज्यको उपस्थिति जनाएको छ, त्यसरी नै जनताले अनुभूति हुने गरी सेवा प्रवाह गर्न सक्नुपर्दथ्यो त्यो हुन सकेको छैन ।

सेवा प्रवाह गर्ने सिलसिलामा निजामती कर्मचारीहरूले आफ्नो, ज्ञान, सीप, क्षमताले सुशासन प्रवर्द्धन गर्ने गरी आम जनताको सेवा गरिरहेका छन् । तर जनताका गुनासाहरू पनि निजामती कर्मचारीप्रति उति नै बढिरहेको पाइन्छ । जनताहरूलाई बढी भन्दा बढी सेवा प्रवाह सहज रूपमा पुर्‍याउनका लागि नयाँ–नयाँ तथा आधुनिक प्रक्रिया र प्रविधिहरूको प्रयोग भइरहेको छ । कार्यालयहरूमा जनताको सहजताको लागि सोधपुछ कक्ष, नागरिक बडापत्रहरूको प्रयोग, कार्यालयलाई बढी अपाङ्गमैत्री बनाउने जस्ता साधनहरूको प्रयोग गरिएको छ ।

सेवा प्रवाह गर्न र विकासका लागि सम्बन्धित साझेदार संस्थाहरूसँग बढीभन्दा बढी समन्वय गर्ने व्यवस्था गरिएको छ । यति हुँदा हुँदै पनि सेवा प्रवाहलाई पूर्ण रूपमा प्रभावकारी र जनमैत्री एवम् जनताका गुनासाहरू सम्बोधन हुने गरी बनाउन सकिएको छैन । सेवा सुविधा सम्पन्न ठाउँ तथा कार्यालयमा कर्मचारीहरूको कभरल्यापिंग छ । भने दुर्गम स्थानमा जान कर्मचारी उत्प्रेरित छैनन् ।

वर्तमान अवस्थामा नेपालमा निजामती सेवाको मूल सफा छैन भन्ने जनगुनासो छ । मूल सफा छैन भने त्यहीँ मूलबाट उत्पन्न पानी कसरी सफा हुन सक्दछ ? त्यहीँ निजामती सेवाले प्रवाह गर्ने सेवा कसरी जनगुनासो रहित हुन सक्दछ । उच्च पदस्थ निजामती कर्मचारी देखि तल्लो तहका निजामती कर्मचारीसम्म कर्मचारीहरूमा सेवाप्रतिको निष्ठा, नैतिकता, व्यावसायिकता छैन । जसका कारण प्रशासन जनमुखी र परिणाम मुखी बन्न सकेको छैन ।

मुलुक नै मृत्युसँग लडिरहेको समयमा जनतालाई सरकार भएको अनुभूति दिने तथा राज्यको साख जोगाइ राख्ने काम निजामती सेवाले गरिराखेको छ ।

वर्तमान निजामती सेवाप्रति जनताको धारणा यतिसम्म नकारात्मक बन्न पुगेको छ कि सेतो कमिज निलो पाइन्ट लगाउने मान्छे कोही देख्ना साथ भ्रष्टाचारी, घुस खोरी, चाकरीवाज, काम नगर्ने भन्ने उपमा दिन्छन् । सेतो नम्वर प्लेटको सवारी साधन देख्नासाथ दुरुपयोग गरिएको भन्ने मानसिकता देखाउँछन् । यो समाजको निजामती कर्मचारी प्रतिको मानसिकताको प्रतिविम्ब हो ।

धेरै जसो जनमानसमा के आकृति देख्छन् भने निजामती कर्मचारी भ्रष्टाचारी, घुस खोरी, चाकरीवाज, काम नगर्ने, राजनीतिको पिछलग्गु भन्ने मानसिकता बनाइहाल्ने अवस्था छ । एउटा मर्यादित, नैतिकवान्, पेसागत, व्यावसायिक, स्थायी, शासन र जनताको हरपलको साथी जस्तो संस्थाप्रति जनताको यतिसम्म नकारात्मक धारणा, विश्वासको सङ्कट त्यत्तिकै बनेको हैन । संस्थालाई एउटा प्लेटफर्म बनाउँदै पद र पैसाको सिढिँ चढ्ने, पदीय मर्यादा भन्दा बाहिरको काम गर्ने जस्ता कुतत्त्व निजामती सेवामा हाबी भएकै कारण यस्तो भएको हो ।

सदाचार र नैतिकताको मन्त्र जप्दा जप्दा थाकी सकेका युवाहरू सार्वजनिक सेवामा प्रवेश गर्दछन् । भ्रष्टाचार सामाजिक संस्कार जस्तै भई सकेको छ । समाजका युवाहरू पुनः त्यही भ्रष्टाचार रुपी पोखरीमा पौडिन पुग्दछन् । चाकरीवाजले घेरिएको निजामती सेवामा आफूलाई त्यहीँ समयानुकूल बनाउन नसक्ने युवाहरू डिप्रेसनको सिकार हुनु, पलायन हुने तथा आत्महत्याको बाटो रोज्न पुगेको घटना हामी जो कोहीको लागि नौलो कुरा होइन ।

यसैले निजामती सेवामा के कुराले समस्या सृजना भएको छ ? सोचनीय र बहसको विषय बनेको छ । वास्तवमा सार्वजनिक प्रशासन कुनै व्यक्तिवादी संस्था हैन यसलाई दुर्गन्धित बनाउने अधिकार र छुट कसैलाई पनि छैन । सार्वजनिक प्रशासन आम जनताको शान्ति सुरक्षा, सुव्यवस्था, प्रशासन व्यवस्थापन, विकास निर्माण र जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतालाई परिपूर्ति गर्न सधैँ जबाफदेही तथा उत्तरदायी एवम् जनमुखी हुनु पर्दछ । र सार्वजनिक प्रशासनले जनताको सेवामा आफूलाई अब्बल र प्रगतिशील रूपमा प्रस्तुत गर्न सक्नु पर्दछ ।

हाम्रो सार्वजनिक प्रशासन जनताका लागि कति अब्बल बन्न सक्यो ? त्यो त आत्म समीक्षाको विषय हो । जनताहरू सहजै सेवा पाउन नसकेर सास्ती खेप्नु भन्दा पहिला नै दलाल र घुसको पोको बोकेर सेवा लिन जानु पर्ने यथार्थतालाई नकार्न सकिँदैन । यसले के देखाउँदछ भने जनताका लागि हुनुपर्ने जुन प्रशासन हो वास्तवमा त्यो जनताको लागि नभएको आम जनताले महसुस गरेको पाइन्छ । कर्मचारीहरूले सेवाग्राहीप्रति गर्ने आचरण र व्यवहार, सोच, शैली र प्रवृत्तिबाट जनता सन्तुष्ट छैनन् । गुनासाका चाङहरू छन् । मनभरी पीडा छ जनतालाई । निजामती सेवामा सर्वमान्य मूल्य, मान्यताहरू प्रवर्द्धन तथा संस्थागत हुन सकिराखेका छैनन् । कार्य सम्पादन निष्पक्ष हुन सकेको छैन भन्ने आरोपहरू एकातिर लाग्दै गर्दा अर्कातिर निजामती सेवा न्यून बेतनका कारण भ्रष्टाचारमा लिप्त भएको अवस्था पनि छ ।

राजनीतिक तथा प्रशासनिक शक्तिको आडमा सार्वजनिक प्रशासनका दण्डहीनता र अनुशासनहीनताले प्रश्रय पाएको छ । आफ्नो जिम्मेवारीको काम फर्छ्यौट गर्दा तथा सेवा प्रवाह गर्दा विभेदपूर्ण व्यवहार हुने गरेको जनगुनासो बढी रहेको छ । कर्मचारीहरू जनताका मालिक हैनन् कि सेवक हुन् भन्ने मान्यताको सैद्धान्तिक रूपमा विकास भए तापनि कतिपय कर्मचारीहरूमा राणाकालीन, पञ्चायतकालीन हुकुमी शैली हाबी भएको महसुस जनताले गरिरहेका छन् ।

बहस, पैरवी तथा कर्मचारीहरूको हितका लागि गठित ट्रेड युनियनहरू राजनीतिक दलका भातृ सङ्गठन जस्ता राजनीतिक दल प्रेरित तथा उनीहरूकै माध्यमाबाट निजामती सेवामा दलगत स्वार्थ हाबी बनाएको छ । निजामती कर्मचारीहरू राजनीति तथा नीति निर्माणमा रमाउने संस्कृतिले सार्वजनिक प्रशासनको मूल्य, मान्यता, आदर्श र गरिमा नै बलात्कृत हुँदै गएको छ ।

पछिल्लो समय निजामती सेवालाई सत्तामा बस्नेहरूले अनावश्यक तोडमोड गर्दै विवादित बनाउँदै लिएको, आफ्नो राजनीतिक स्वार्थ पुरा हुने गरी प्रयोग गरेको र निजामती सेवालाई विभाजन गर्दै कमजोर बनाउँदै लगेको देखिन्छ । वास्तवमा यो समग्र सार्वजनिक प्रशासनका लागि मात्रै नभई मुलुककै लागि राम्रो कुरा हैन । यसमा उच्च प्रशासन जो नीति निर्माण तहमा छन् उनीहरूसमेत निरीह बनेको देखिन्छ । भद्दा र जटिल सङ्गठन संरचना, कार्य विश्लेषणको अभाव, अनावश्यक दरबन्दी सृजना, बेलाबेलामा हुने नीतिगत तथा कानुनी परिवर्तित, सेवा सुविधा तथा सर्तहरूमा हुने परिवर्तन जस्ता संस्थागत एवम् संरचनागत विकृति पनि निजामती सेवाले खेप्नु परेको छ । जसमा राजनीतिक नेतृत्व र उच्च प्रशासन पनि मूकदर्शक छ । सार्वजनिक प्रशासनमा अधुरा र अपुरा नीतिगत व्यवस्था, लोंग टर्म भिजनको अभाव, नीतिगत निरन्तरताको अभाव, व्यक्तिगत स्वार्थमा आधारित नीति, अस्थिर नीति जस्ता नीतिगत समस्याहरूका कारण यो सेवाले अपेक्षित काम गर्न नसकेको कारण पनि यो पवित्र संस्थाले जनविश्वास हासिल गर्न सकेको छैन ।

‘निजामती सेवा रथ हो, हाँक्न जान्यो भने मुलुक र जनतालाई सही गन्तव्यमा पुर्‍याउँदछ नजान्यो भने सबैलाई लडाउने मात्रै हैन किचेर मार्दछ ।’

नेपालको सन्दर्भमा निजामती सेवामा तटस्थता भन्दा भनसुनमुखी प्रवृत्ति हाबी हुनु, संस्थागत भन्दा व्यक्तिवादी हाबी हुनु, कर्मचारीहरू पनि बोझिला अदूरदर्शी, अनुत्पादक हुनु, कर्मचारीहरूले आफूलाई मालिक ठान्ने प्रवृत्ति हाबी हुनु जस्ता विकृतिले निजामती सेवाले जनअपेक्षा बमोजिम काम गर्न सकेको छैन । राजनीतिक हस्तक्षेपका कारणले समेत निजामती प्रशासन उपलब्धिमूलक भन्दा कार्यविधिमूलक बढी देखिन गएको छ ।
सार्वजनिक प्रशासन मुलुकको समृद्धिको एउटा खम्बाको रूपमा रहेको हुन्छ । प्रशासनले विकास निर्माण र गरिबी निवारणमा समेत भूमिका खेल्नु पर्ने हुन्छ । तर, प्रशासनिक नैराश्यता एकातिर देखिन्छ भने अर्कातिर गैरजिम्मेवारीपन, राजनीतिक बेइमानी पनि दोषी देखिन्छ । यसले जनस्तरमा किन नकारात्मक प्रभाव पार्‍यो ? आफूलाई जनताको नजरमा किन अब्बल, असल र प्रभावकारी रूपमा उपस्थिति जनाउन सकेन ? त्यसको गम्भीर समीक्षा र आत्मालोचना गर्न ढिला भई सकेको छ ।

निजामती सेवाको अवस्था इतिहासमै एकदमै निराशाजनक र उदेकलाग्दो हुँदै गइरहेको छ । जनताले शासकीय व्यवस्थामा परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । यसमा राजनीतिक पद्धति र व्यवस्था एक हदसम्म दोषी त होला नै तर राजनीतिलाई मात्र दोष दिएर सार्वजनिक प्रशासन सञ्चालन गर्नेहरू उम्कने ठाउँ छैन । राज्य सञ्चालनको एउटा पाङ्ग्रा निजामती सेवाले जिम्मेवार, रचनात्मक, प्रगतिशील रूपमा आफ्नो भूमिका इमानदारिताका साथ निर्वाह गर्न सक्नु पर्दथ्यो । यसमा हामी चुकेका छौँ ।

विश्वमा प्रचलनमा रहेका शासकीय व्यवस्थाहरू नेपाली जनताले छोटो समयमा नै अनुभूति गरी सकेका छन् । तर अपेक्षित उपलब्धि र परिवर्तनको अनुभूति नेपाली जनताले गर्न सकेका छैनन् । व्यवस्था जुनसुकै भएतापनि व्यवस्थापन सशक्त र सफल हुन सकेन भने अमूर्त व्यवस्थाले मात्रै केही दिन सक्दैन । नेपालको निजामती सेवामा पनि असल व्यवस्थापनको खाँचो नेपाली जनताले अपेक्षा गरेका छन् तर अनुभूति गर्न पाएका छैनन् । जनताहरू पनि जागृत र शिक्षित हुँदै गइरहेको अवस्थामा जनताले सबै राष्ट्रसेवकहरूबाट असल व्यवहार चाहन्छन् । जनताले चाहेको छिटो, छरितो, प्रभावकारी सेवा र भ्रष्टाचारमुक्त प्रशासन हो । जनताको अपेक्षा निजामती प्रशासन आम नागरिकको साथी जनमुखी र जनमैत्री बनोस् भन्ने हो ।

निजामती सेवाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसका हरेक कार्य जनतासँग प्रत्यक्ष तथा परोक्ष रूपमा जोडिएका हुन्छन् । निजामती कर्मचारीहरूले गर्ने हरेक कामकाजको जस तथा अपजस र उत्तरदायित्व स्वयंले व्यहोर्नु पर्ने हुन्छ । त्यसैले उनीहरूले गर्ने हरेक कामकारबाहीहरू असल, प्रभावकारी, प्रगतिशील र जनमैत्री हुन् भन्ने मान्यता नेपाली जनताले राख्दछन् । निजामती सेवाबाट सम्पादित हरेक काम जनताको इच्छा र आकाङ्क्षा बमोजिम हुनु पर्छ । सरकारका कामकारबाहीहरू सम्पादित गर्ने र सरकारको नीति कार्यान्वयन गर्ने निकायको रूपमा स्थापना भएको संयन्त्र भएतापनि जनताको भावना अनुसार कामहरू सम्पादन हुने हुँदा मागको आधारमा सेवाको गुणस्तर मापन हुने चलन छ ।

अहिले सरकार पनि जनताद्वारा निर्देशित हुने भएकाले सरकार र जनता एक अर्काका परिपूरक हुन । सरकार विना जनताको काम पनि पुरा हुन सक्दैन भने जनताको इच्छा र चाहाना भन्दा बाहिर पनि सरकार जान सक्दैन । यसैले सरकारको प्रत्यक्ष निर्देशनमा निजामती सेवा रहने भएकाले जनताको भावना विपरीत सार्वजनिक प्रशासन पनि नचल्ने हुँदा प्रशासन जनमैत्री र जनसहभागितामा आधारित हुनुपर्दछ भन्ने जनताको अपेक्षा छ । अहिले जनताको इच्छा, चाहाना र अपेक्षा भनेको सानो, चुस्त र प्रभावकारी इमानदार सार्वजनिक प्रशासन हो । जुन भ्रष्टाचार मुक्त होस् । त्यहीँ अनुरूप हाल सरकारी काम, कार्यालय र जनशक्तिलाई परिमार्जन गर्नु पर्ने आवश्यकता छ ।

कानुन बमोजिमको शासन प्रणालीको सुनिश्चितता अहिले जनताको माग हो । हिजोको दिनसम्ममा जस्तो ‘जसको शक्ति, उसैको हातमा निजामती सेवा’ सम्भव छैन । कानुन बमोजिमको शासन व्यवस्था अहिलेको जनताको माग र चाहाना हो । सार्वजनिक प्रशासनले पनि कानुन बमोजिम जनताका आवश्यकता पुरा गर्नु पर्दछ । हिजोको जस्तो प्रशासन शासक र जनता शासित हैन प्रशासन सेवक बनी जनताका काममा सहयोगीको भूमिका निर्वाह गर्नु अहिलेको परिवर्तित सन्दर्भमा अति आवश्यकीय प्रशासकीय काम हो । यसै सिद्धान्तलाई आत्मसाथ गरी सेवाको अनुभूति दिलाउनु जनताको अपेक्षा हो ।

निजामती कर्मचारीहरू जनताका सेवक भएकाले सरकारका तर्फबाट नीति, कानुन र कार्यक्रमहरू जनता समक्ष पुर्‍याउनु उनीहरूको पहिलो कर्तव्य हो । जनताका दैनिक आवश्यकताहरू पुरा गर्नु, जनतालाई दैनिक प्रशासनिक सेवा पुर्‍याउनु, विकासका सेवा पुर्‍याउनु तथा जनताको जिउ ज्यानको संरक्षण गर्नु निजामती सेवाको दायित्व हो । जातीय, भेगीय, वर्गीय आदि कुनै पनि आधारमा सेवा प्रवाहमा समेत विभेद नगरी निष्पक्ष, सर्वसुलभ, पारदर्शिरूपमा सेवा पुर्‍याउनु पर्ने जनताको निजामती सेवाप्रतिको बढ्दो अपेक्षा हो । तर, आजका दिनमा विभिन्न क्षेत्रमा कानुनको परिधिमा रही कानुनी अधिकारको प्रयोग गरी काम गर्नु पर्ने कर्मचारीहरू नै असुरक्षित भएको, कार्यकक्षमा नै कर्मचारीहरू प्रति दुर्व्यवहार हुने गरेको पाइएकोले कर्मचारी नै दोषी हुन् भन्ने भान हुने गरेको छ । कर्मचारीले कुनै पनि काम नियम पूर्वक गर्न खोज्दा पनि कर्मचारीहरू कामै गर्दैनन् खाली भ्रष्टाचार, घुस खोरी मात्र गर्छन् भन्ने सोचाइले गर्दा सही काममा पनि कर्मचारी नै दोषी देखिनु परेको अवस्था छ ।

निजामती सेवा र सरकारी संस्थाप्रति समाजमा नकारात्मक प्रभाव परेको, जनताको नकारात्मक दृष्टिकोण बनेको जस्ता कारणले सरकारी संस्था कमजोर भएका छन् भने सार्वजनिक सेवा रक्षात्मक अवस्थाबाट अगाडी बढेको छ । कतिपय अवस्थामा स्वयं कर्मचारी वृत्त नै यथास्थितिबाट अगाडी बढेको अवस्था छ भने कतिपय अवस्थालाई हेर्दा परम्परागत कानुनी शैली र प्रक्रियाका कारण पनि यसले प्रभावकारी काम गर्न नसकेका कारण जनता यसबाट निजामती सेवा परिवर्तन होस् भन्ने अपेक्षा राख्दछन् । निजामती कर्मचारी यथास्थितिबाट परिवर्तन हुनु र सरकारको कार्यशैली आधुनिक हुनु जनताको अपेक्षा हो ।

‘निजामती सेवा रथ हो, हाँक्न जान्यो भने मुलुक र जनतालाई सही गन्तव्यमा पुर्‍याउँदछ नजान्यो भने सबैलाई लडाउने मात्रै हैन किचेर मार्दछ ।’ लक्ष जता भए पनि बाटैमा अलपत्र पारिदिन्छ । निजामती सेवा पनि त्यस्तै मुलुक हाँक्ने रथ हो । यसलाई सही रूपमा चलाउन जान्यो भने यसले मुलुक र जनतालाई विकासको लक्ष्यमा पुर्यांउदछ अन्यथा यसका चालकहरूले दायाँबायाँ गरे, चालकहरू गलत भए, चलाउन जानेनन्, अथवा गलत नियतका साथ अगाडी बढे भने यसले मुलुकलाई दुर्घटनामा पुर्‍याउँदछ ।

त्यसैले निजामती कर्मचारीहरू मुलुक हाँक्ने चालक हुन्, यिनीहरू असल, दक्ष, इमानदार, कर्तव्यनिष्ठ, हुन् भन्ने जनताको अपेक्षा हो । कहिलेकाहीँ निजामती सेवालाई चाकरी, चाप्लुसी र नोकर साहीको मात्रै पगरी भिराउने गरिन्न की निजामती कर्मचारीहरू पनि छेपाराले रङ्ग बदले जस्तै मौसम अनुसारको रङ्ग बदल्न सिपालु छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । उ आफै पनि चाकरीमा बिक्दछ र अरूलाई पनि बिकाउँदछ भन्ने आरोप लाग्ने गरेको छ । त्यस्तै त्यस्तै लाञ्छना र आरोप छ अहिलेको निजामती प्रशासनमाथि ।

मुलुकको स्थायी सरकारलाई सही रूपमा सञ्चालन गरी देश र समाजलाई एउटा गन्तव्यमा पुर्‍याउने काममा न त स्वयं प्रशासक नै अग्रसर छन् न त राजनीतिक नेतृत्व नै यसमा सचेत छ । जनता यसको जबाफदेहिताको पर्खाइमा छन् । यसलाई यसरी वदनामित बनाउने तत्त्व के हो ? र कसले खोज्ने भन्नेमा हामी सबै अनविज्ञ नै छौँ । जनता पनि यसैको खोजीमा छन् ।

कर्तव्य पालना गर्ने सिलसिलामा सरकारले खटाएको काममा गई काम गर्नु, नीति नियम र कानुनको परिधिमा रही जनतालाई सेवा पुर्‍याउनु, सरकारको नीति, कार्यक्रम र निर्देशनलाई इमानदारितापूर्वक पालना गर्नु निजामती कर्मचारीको कर्तव्य हो । सेवा भित्रका केही गलत तत्त्व, खराब नियत भएका र समग्र सङ्गठनलाई नै अस्तव्यस्त बनाउँदै व्यक्तिगत स्वार्थ पुरा गर्न लक्षित तत्त्वका कारण आफ्नो कर्तव्य पालना गर्दा गर्दै पनि निजामती कर्मचारीहरूले दुर्गति बेहोर्नु परेको छ । यसलाई समग्रताले हेर्ने पवृृत्तीले प्रभाव पारिरहेको छ । समग्र प्रणाली, अवस्था तथा परिस्थितिको बारेमा जबसम्म गहिराइसम्म पुगेर अध्ययन गरिन्न तबसम्म सतही आलोचना पनि यस्तै हुने गर्दछ । यसलाई सधैँ साना साना गल्ती देखाएर बेकम्मा बनाउने तथा उच्च राजनीतिक तथा प्रशासनिक तहबाटै सार्वजनिक रूपमा यसको आलोचना गर्ने प्रवृत्तिका कारण पनि यस प्रति जनमानसमा नकारात्मक दृष्टि बन्न पुगेको छ ।

सेवा नै धर्म सम्झी राष्ट्रसेवकहरूले दिएको योगदान, विभिन्न कठिन परिस्थितिमा पनि मुलुकको रक्षामा तल्लीन निजामती कर्मचारीहरूको योगदानहरूलाई अवमूल्यन गर्ने संस्कारका कारण पनि इतिहासमै सार्वजनिक सेवाप्रति जनताको यति सम्म वितृष्णा फैलिएको हो । नेपाली जनताहरू यसलाई चिर्न चाहन्छन् । जनता राजनीतिक र सार्वजनिक प्रशासनबीचमा आलोचनात्मक हैन समन्वयात्मक सम्बन्धको माध्यमाबाट समृद्धि चाहन्छन् ।

मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरू भएका छन् । अहिले मुलुक राजतन्त्रात्मक व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा एवम् एकात्मक राजनीतिक व्यवस्थाबाट सङ्घात्मक शासन व्यवस्थामा प्रवेश गरी तीनै तहका सरकार मार्फत नै सार्वजनिक सेवा दिई रहेको छ । यति ठुलो परिवर्तन, नयाँ संविधानको कार्यान्वयनका बाबजुद पनि मुलक विभिन्न कारणले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । अहिलेको लडाइ भनेको शोषण, दमन, उत्पीडनमा परेका जनताहरूको उत्थान तथा उनीहरूको सशक्तीकरण गरी गरिबी निवारण, बेरोजगारीको अन्त्य गरी शासनमा सबै जात, भाषा, धर्म, लिङ्ग तथा समुदायको उपस्थिति सुनिश्चित गर्दै मानवीय विकासको लक्ष्य हासिल गर्नु हो । यसका लागि हरेक तह र तप्काबाट काम हुन जरुरी छ । निजामती सेवालाई समयसापेक्ष, जनमुखी, तटस्थ, पारदर्शी, जनताको सहयोगीका रूपमा विकास गर्न जरुरी छ । यसले मात्र समग्र क्षेत्रको उत्थान हुन जान्छ र समृद्ध मुलुकको सपनालाई साकार पार्न सकिन्छ ।

सुशासनको अनिवार्य सर्त भ्रष्ट्राचारमुक्त विधिको शासन हो । निजामती कर्मचारीहरूको निस्स्वार्थ भावना, नैतिक आचरण, तथा राष्ट्रप्रतिको जिम्मेवारी, समाज प्रतिको दायित्व बोधबाट सुशासनको सर्त पुरा हुन सक्दछ । यसमा निजामती सेवा मात्रै हैन राज्यका सम्पूर्ण निकायहरू तथा जनताहरूको पनि सकारात्मक भूमिका रहन्छ । तर, बौद्धिक जमात, जनताले विश्वास गरेको जमात निजामती सेवा भएको हुँदा यसैको भूमिका रचनात्मक हुनु अत्यावश्यक हुन्छ । सबै खाले भ्रष्टाचार, नीति निर्माण गर्दा राष्ट्र घात हुने गरी गरिने भ्रष्टाचार, मुलुक बन्धक राखी हुने भ्रष्टाचार जस्ता घटनाहरू निरूपण तथा अत्यका लागि प्रशासनिक स्वच्छता नेपाली जनताको अपेक्षा हो ।

जनतामा निराशा छ । जनताको नजरमा यो मुलुक ठुलाबडा, सुकिलामुकिला, पद र पावर भएका व्यक्ति तथा सत्ताको वरिपरि बस्दै सुशासनको भाषण दिने व्यक्तिहरूका लागि दुहुनो भैँसी र सर्वसाधारण, श्रमजीवी वर्गहरूका लागि थारो भैँसीका रूपमा चित्रण गरेको पाइन्छ । खाली करको भार मात्र थुप्रने उत्पादन केही नदिने । यसलाई चिर्नु नै जनताको लागि उचित न्याय दिनु हो । मुलुक सफल बन्न मुलुकको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, प्रशासनिक सुधार, उत्थान तथा उन्नति आवश्यक पर्दछ ।

नेपालको अहिलेको समग्र अवस्था सन्तोषजनक छैन । कानुनको उचित प्रयोग, संयमता, धैर्यताका साथ इमानदारिता पूर्वक जनताका नियमित काम सम्पादन गर्नु प्रशासनिक गुण हो । त्यसैले प्रशासन सु स्पष्ट रूपले जनताको सेवामा तल्लीन हुनु पर्दछ भन्ने जनताको माग हो । त्यसो भएमा मात्र जनतामा गुनासोको गुन्जाइस रहँदैन । दायित्व बोध नगरी मैले जे गरे पनि हुन्छ, मैले गरेका हरेका काम ठिक अरू सबै बेठिक भन्ने अहङ्कारवादी मानसिकताबाट उत्पन्न खराब कार्यशैली नै अहिले जनताहरू निजामती कर्मचारीहरूलाई सिंहका रूपमा चित्रण गर्ने गरेको पाइन्छ । त्यसैले यो खराब शैलीको अन्त्य गरी निजामती कर्मचारीहरू जनताका सेवक हुन भन्ने आभास गराई विधिको शासन मार्फत सुशासन कायम राख्नु अहिलेको आवश्यकता हो ।

विश्वमा देखा परेको उदारीकरण, निजीकरण तथा विश्वव्यापीकरण सँगै सुशासन र शासकीय व्यवस्थापनको अवधारणाको विकास भएको हो । यो परिवर्तन सँगै नेपालको सार्वजनिक प्रशासनले परिवर्तन व्यवस्थापनलाई अँगाल्दै समय सापेक्ष हुनु पर्छ भन्ने जनताको अपेक्षा हो । अहिले परिस्थिति भिन्न रूपले अगाडी बढी रहेको छ । मुलुक निजामती सेवाको संस्थागत र कानुनी रूपमा स्थापन भएदेखि प्रजातन्त्र, पञ्चायती शासन, राजतन्त्रात्मक प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको खुलापनमा यात्रा गरिरहेको छ । राजनीतिले नयाँ गति लिएको छ, विभिन्न महामारीका कारण मुलुक आर्थिक सङ्कटमा समेत गुज्रेको अवस्था पनि छ । यो परिवेशसँगै नेपाली जनता सुशासन, विकास, समृद्धिको व्यग्र प्रतीक्षामा रहेका छन् ।

अझै पनि जनताको सपनामाथि हमला भइरहेको कारणले जनता भयभीत छन् । त्यस्तो हुनुमा केवल पद्धति मात्र दोषी हैन निजामती सेवाको मूल मर्मलाई तोडमोड गरी आफ्नो स्वार्थ पुरा गर्ने नेतृत्व र निजामती सेवाको कार्यशैली पनि दोषी छ । जनताका इच्छा, आकाङ्क्षा र विकासका चाहानाहरूलाई पुरा गर्न सक्ने एक मात्र मन्त्र सुशासन भएकाले सबैभन्दा पहिला स्थायी सरकारकोरूपमा रहेको निजामती सेवाको हरेक क्षेत्रमा सदाचार र सुशासन कायम गर्नु पर्दछ । यसलाई एकै शब्दमा शासनको मूल सफा गर्नु पर्‍यो भन्न सकिन्छ ।

विधिको शासन, प्रशासकीय विकेन्द्रीकरण, जनउत्तरदायी शासन, पारदर्शिता र निष्पक्षता, प्रशासनिक तटस्थता, मानव अधिकारको संरक्षण, प्रजातान्त्रिक पद्धति, स्वतन्त्र न्यायपालिका जस्ता सबै विषयमा सबै इमानदार बन्न जरुरी छ । प्रशासनले आफूलाई शासक हैन कि जनताको सेवकको रूपमा काम गरेर देखाउनु पर्ने समय आएको छ । यसैमा मुलुक र जनताको भलो छ । यसो भएमा सुशासनका मूलभूत सिद्धान्तहरू इमानदारिताका साथ लागु भएको महसुस जनताले गर्ने छन् । प्रजातन्त्र हुँदै गणतन्त्रको दशकौँ सम्मको यात्राका क्रममा सुशासनको नाममा धेरै सिद्धान्नहरू अतिक्रमण गर्ने काम सबै पक्षहरूबाट भए । यसबाट निजामती सेवा पनि अछुतो छैन । यसबाट सरकारका अधिकांश योजना, कार्यक्रमहरू, नीतिहरू असफल भएका छन् । जनता निराश मात्रै छैनन् कि जनतामा क्रोध छ । त्यसको लागि उत्तरदायित्व, पारदर्शिता कानुन, नीतिमा मात्रै हैन व्यवहारमा हुनु जनताको अपेक्षा हो । सरकारले जनताका लागि साधन श्रोतको सही पहिचान, स्पष्ट नीति तर्जुमा, नीति योजना तथा कार्यक्रमहरू कार्यान्वयनमा इमानदारिता, उत्तरदायित्व तथा सुशासनको प्रत्याभूति जस्ता कुराहरूलाई ध्यान दिनु पर्दछ । तर, आजभोलि प्रशासनमा देखिएको कार्यगत विचलनले सही दिशा निर्देश गर्न नसकेको यथार्थ सत्य पनि हो ।

आगामी दिनमा पनि यसलाई नसुधार्ने हो भने सार्वजनिक प्रशासन पनि लगाम बिनाको हुने भए पनि उत्तिकै छ । यसैले प्रशासन माथिको अत्यधिक राजनीतिकरण, कार्यगत विचलन तथा स्वविवेकी अधिकारलाई निस्तेज पार्दै प्रशासनलाई अझै स्वतन्त्र, कानुनसम्मत, नतिजामूलक, एवम् उत्तरदायी बनाउनु, राजनीतिको पन्जाछापबाट स्वतन्त्र बनाउनु, अपरिहार्य भएको छ । राजनीतिक छाडापन, अहमतावाद एवम् हस्तक्षेपवादका कारण विगतका वर्षहरूले देखि विधिसम्मत शासन चल्न नसकेको कुरालाई लुकाउन मिल्दैन । यसबाट उत्तरदायी प्रशासन पनि कायम हुन सकेन । पारदर्शिरूपले निष्पक्ष प्रशासन पनि कायम हुन सकेन । सत्ताको वरिपरि बस्नेहरूकै निर्देशन र स्वार्थमा प्रशासन चल्नु पर्ने अवस्था आयो ।

गतिहीन र परम्परागत शैलीबाट घिस्रिँदै प्रशासन सञ्चालन भएका कारण धेरै विकृतिहरू, विसङ्गतिहरू बढ्न गएकोले निजामती सेवाले जोस, जाँगर र इमानदारिताका साथ काम पनि गर्न सकेको छैन । इतिहासमै सबैभन्दा बढी राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूमा इमानदारिता र नैतिकताको अभाव रहन गयो । यसबाट माथि उठेर इमानदार, नैतिकवान्, प्रगतिशील, अग्रगामी छलाङ सहितको प्रशासन जनताको अपेक्षा हो । यसका लागि जनसहभागितामुलक, जनमुखी जनउत्तरदायी सार्वजनिक प्रशासन बनाउँदै सरकारी नीति, सार्वजनिक सेवामा सुधार, सार्वजनिक पदाधिकारीहरूलाई जनउत्तरदायी बनाउने, सबै प्रकारका भ्रष्टाचार, अनियमितता, दुरुपयोगलाई अन्त्य गरी सार्वजनिक सम्पत्तिको सदुपयोग हुने वातावरण बनाउँदै जनतालाई विश्वास दिलाउने, नीति र विधिसम्मत सार्वजनिक प्रशासन सञ्चालन गर्ने, विश्वमा देखा परेका सार्वजनिक प्रशासनको क्षेत्रका नविनतम् अवधारणाहरू प्रशासन सञ्चालनमा प्रयोगमा ल्याउने, कर्मचारीहरूमा प्रशासकीय आचरण, इमानदारिता र नैतिकता कायम राख्ने, सार्वजनिक प्रशासनको संयन्त्रलाई सवलीकृत गरी बढी सक्षम, संवेदनशील तथा उत्तरदायी बनाउने कार्यमा उच्च प्रशासन तथा राजनीतिक नेतृत्व बिचमा समन्वयका साथ बहस र छलफल गरी अगाडी बढ्न जरुरी छ । यसो गरेमा प्रशासनमा देखा परेको गम्भीर सङ्कटबाट सुरक्षित अवतरणको बाटो देखाउन सकिन्छ ।

सरकारले लिएको सम्पूर्ण नीति, योजना तथा कार्यक्रमहरू सार्वजनिक प्रशासनकै माध्यमाबाट सञ्चालन गरिने भएकाले यसलाई समयको गति सँगै अगाडी बढाउनु आजको समयको माग हो । बदलिँदो समय र परिस्थितिलाई मध्यनजर गर्दै निजामती सेवालाई पनि समय सापेक्ष र आधुनिक बनाउनु पर्दछ । मुलुकको आवश्यकता, अवस्था र जनआकाङ्क्षा अनुरूप परिवर्तन गरिनु पर्दछ । यसबाट सार्वजनिक प्रशासन प्रणालीको संरचना, प्रक्रिया, व्यवहार र मनोवृत्तिमा परिवर्तन ल्याउन सकिन्छ । यथार्थमा वर्तमान सार्वजनिक प्रशासनलाई सुधार नगरी यसप्रतिको जनताको धारणा सकारात्मक बनाउन सकिने अवस्था छैन । विकास कार्यमा राजनीतिले त दिशावोध एवम् नीति बनाउने काम मात्र गर्दछ । त्यसको प्रभावकारी कार्यान्वयन त प्रशासन मै निहित छ । देशलाई विकास र आधुनिकीकरणका लागि सार्वजनिक प्रशासनले भूमिका खेल्न सकोस् भन्ने जनअपेक्षा छ ।

तर, पनि आम जनता निजामती सेवा प्रति सन्तुष्ट छैनन् । त्यसको आत्मसमिक्षा गर्दै कहाँनेर कमजोरी भएको छ तत्काल सुधार गरी जनतालाई आश्वस्त बनाउनु पर्दछ । निजामती सेवालाई असल, जनमुखी, परिणाममुखी बनाउँदै जनताको भरोसाको रूपमा स्थापित बनाउनु पर्दछ त्यो जनता र समयको माग हो । नेपालमा आएको राजनीतिक परिवर्तनसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको परिवेशमा नेपालको निजामती सेवालाई पनि नागरिक मैत्री र जनमुखी बनाउँदै कर्मचारीहरूलाई लोकतान्त्रिकीकरण गर्दै लैजानु पर्ने हुन्छ ।

जनसेवा प्रमुख दायित्व हो भन्ने शपथ निजामती कर्मचारीहरूले लिएका हुन्छन् । जनताको सेवा प्रतिबद्ध भएर गर्नु सार्वजनिक प्रशासनको मूल जिम्मेवारी हो । जनताको सेवामा लाग्नु तथा जनताप्रति उत्तरदायी हुनु सार्वजनिक प्रशासनको प्रतिबद्धता हो । आम जनताको शान्ति सुरक्षा, व्यवस्थापन, विकास निर्माण, तथा जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतालाई परिपूर्ति गर्न सार्वजनिक प्रशासनलाई जबाफदेही, उत्तरदायी एवं जनमुखी हुनु जनताको अपेक्षा हो । कर्मचारीतन्त्र भित्र सेवाग्राहीप्रति गर्ने आचरण, व्यवहार, सोच, शैली र प्रवृत्तिबाट देखिने व्यवहार गुनासो रहित हुनु पर्दछ । जनतालाई सम्मान र सेवा दुवै प्रवाह गर्न जरुरी छ । हाम्रो निजामती सेवाको साख गुमेको अवस्थामा यसलाई क्षतिपूर्तिको रूपमा प्राप्त गर्नका लागि जनता प्रति जिम्मेवार रूपमा प्रस्तुत हुने, उनीहरूका समस्याहरूलाई ठिक ढङ्गले सम्बोधन गर्ने, सेवा भावबाट समर्पित हुने, उनीहरूले खोजेको प्राप्त गर्न चाहेको सेवा प्रवाह गर्ने र शासनमा सुशासनको अनुभूति सेवाग्राहीले गर्न पाउने वातावरण हुनु पर्दछ ।

जनमुखी प्रशासन तथा सुशासन कायम गर्न कर्मचारी आचरण, व्यवहार र संस्कृतिमा रहेको सकारात्मक सुधारले अनुशासन कायम राख्न मदत गर्दछ । निजामती सेवाको मूल आधार सुशासन र सदाचार हो । यो निजामती सेवाको आधारभूत चरित्र पनि हो । निजामती सेवा मुलुकको प्रशासन सञ्चालन गर्ने राज्यको महत्त्वपूर्ण र भरपर्दो संयन्त्र हो । निजामती कर्मचारीहरू इमानदार, नैतिकवान् र अनुशासित हुनुपर्दछ । निजामती सेवाको मान्यता भनेको आम सरोकारवाला पक्षहरूलाई समन्वय, सहकार्य र सहभागिता जनाइ राज्य प्रतिको प्रत्यक्ष दायित्व निर्वाह गर्ने अनुशासित, इमानदार, नैतिकवान् चरित्र प्रदर्शन गर्नु आजको मुख्य चुनौती हो ।

त्यसैले शासन प्रणालीलाई जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउँदै लैजानु आजको आवश्यकता हो । शासन प्रणालीमा सबै क्षेत्र, वर्ग, लिङ्ग, जात, धर्म, समुदाय र सम्प्रदाय तथा सरोकारवालाहरू को पहुँच र सहभागितालाई सुनिश्चित गरी जनतालाई आश्वस्त बनाउनु अपरिहार्य छ । संघीय शासन प्रणालीमा आधारित लोकतान्त्रिक शासन व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्दै जनविश्वास अभिवृद्धि गर्नु प्रशासकीय सुशासनको मूल मर्म भएको छ । जनताको खस्किँदो जनविश्वासलाई पुनः प्राप्ति गर्न लक्षित वर्गले लाभ लिन सक्ने गरी समावेशीकरण नीतिलाई समय सापेक्ष बनाउनु, जनताको बढ्दो अपेक्षा सम्बोधन गर्ने गरी सेवा प्रवाहमा सुधार गर्नु सबै राष्ट्रसेवक कर्मचारीहरूको क्षमताको पूर्ण रूपमा सदुपयोग हुने गरी संस्थागत क्षमतामा अभिवृद्धि गर्नु, सङ्घ, प्रदेश र स्थानीय तहको सार्वजनिक सेवालाई प्रभावकारी प्रशासकीय समन्वयका आधारमा संरचनागत तथा नीतिगत सुधार गर्न अव ढिलो गर्नु हुन्न ।

सार्वजनिक प्रशासनको क्षेत्रमा नयाँ प्रविधि, ज्ञान, सिप र क्षमता भएका जनशक्ति प्रवेश गर्ने वातावरण बनाइ, राजनीति र प्रशासनको बीचमा सुमधुर सम्बन्धको माध्यमबाट मुलुकको सर्वोपरि विकास र सेवा प्रवाहलाई चुस्त, दुरुस्त र भ्रष्टाचार रहित बनाउनु पर्ने देखिन्छ । निजामती सेवाको राष्ट्रिय नीति तथा मानव संसाधन योजना बनाइ कर्मचारी एवम् तालिम प्रदायक संस्थाको क्षमता विकास गर्ने, अन्तर सरकार समन्वय र सहकार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने, तथा सेवा प्रवाहलाई नागरिक र विकास मैत्री बनाइ जनतामा गुमेको विश्वास पुनः प्राप्ति गर्नु पर्ने अवस्था छ । सार्वजनिक सेवामा आबद्ध कर्मचारीहरूलाई आफ्नो कार्य र जिम्मेवारी प्रति थप उत्तरदायी बनाउनु पर्ने देखिन्छ ।

अन्त्यमा, निजामती सेवालाई कसरी जनमैत्री र जनताले अपेक्षा गरे बमोजिम बनाउन सकिन्छ भन्ने सवालमा आत्मालोचना गर्दै एक पटक सरोकारवालाहरू केन्द्रित हुनुपर्ने अवस्था छ । यसको समाधान नखोजी जिम्मेवारीबाट पन्छिने कसैलाई छुट छैन । ‘क्यान्सर लाग्यो भन्दै हातै काटेर फाल्नु हुँदैन, उपचारात्मक पद्धति यसको विकल्प हो ।’ कम्तीमा पनि नेपाली जनताहरूले सुशासन र सेवाको अनुभूति गर्न सक्ने गरी आफ्नो सार्वजनिक प्रशासन प्रति गर्व गर्न सक्ने अवस्थाको विकास गर्नु पर्दछ ।

निजामती सेवालाई व्यावसायिक, भ्रष्टाचार मुक्त र जनउत्तरदायी बनाउन यस भित्रका विकृति र बेथितिहरूलाई मूल सुधार हुने गरी अन्त्य गर्न जरुरी छ । अब पनि निजामती सेवालाई सुधारको बाटोमा लैजान ढिला भयो भने इतिहासले सराप्ने छ । कागजी, प्रचारबाजीवाला सुधार र सुशासन हैन की व्यवहारमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार र सुशासन हुनु पर्दछ । एउटै शब्दमा भन्नु पर्दा जनताले अपेक्षा गरेको निजामती सेवा प्रभावकारी, इमानदारी, पारदर्शी, चुस्त, दुरुस्त, भ्रष्टाचार मुक्त, आधुनिक, विद्युतीय शासन मैत्री, जनताको मालिक हैन कि सेवकको रूपमा हो । सार्वजनिक सेवाको संयन्त्र भित्र तथा राज्यको माथिल्लो तहमा तथा राजनीतिक वृत्तमा समेत यसको सवालमा नागरिक सहभागिता सहितको बहस हुनु आवश्यक छ ।

नेपालको निजामती सेवा गधाले भारी बोक्न पनि छोड्न नपाउने, गाली खान पनि नछोड्ने, जस पनि पाउन नसक्ने जस्तो कहिले सम्म बनाउने ? रूपान्तरण र सुदृढीकरणको अभियान कहिले र कसले गर्ने ? यसको लेखाजोखा सबैले आफ्नो क्षेत्रबाट गर्न ढिला गर्नु हुन्न । नत्र इतिहासले हामीलाई माफी दिने छैन न त जनताले नै । बहुसरोकारवाला क्षेत्र भएकाले सुधारको प्रक्रियामा हरेको साथ र रचनात्मक सहयोगको आवश्यकता छ । निजामती सेवाप्रति जनताको एक मात्र अपेक्षा रूपान्तरण, सुदृढीकरण र परिवर्तन हो ।

Tags :
प्रतिक्रिया दिनुहोस