पालिकाका अध्यक्षमा कोरोना देखिएपछि जलजला गाउँपालिकाको सेवा बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पालिकाका अध्यक्षमा कोरोना देखिएपछि जलजला गाउँपालिकाको सेवा बन्द


२८ आश्विन २०७७, बुधबार


पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।

अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गरेका छन् । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लमा कोरोना पुष्टि भएपछि पर्वत काँग्रेसले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला सङ्क्रमण पुष्टि भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस