सिम्रिक एयरलाई कोरोना सङ्क्रमितको उद्धारका लागि सरकारले दियो अनुमति  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिम्रिक एयरलाई कोरोना सङ्क्रमितको उद्धारका लागि सरकारले दियो अनुमति 


प्रशासन संवाददाता

२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । सरकारले सिम्रिक एयरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार अनुमति प्रदान गरेको छ । सिम्रिक एयरले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले  अनुमति प्रदान गरिएको हो।

यो निजी क्षेत्रको सबैभन्दा अग्रणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी  हो । नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार गर्न सोमबार अनुमति  दिएको हो ।

हेलिकोप्टरमा सङ्क्रमितलाई सुरक्षित ढङ्गले राख्नका लागि स्ट्रेचरलगायत डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको तोकेको प्रोटोकलअनुसारका अन्य उपकरण जडान गरिएको छ। यस्तै सङ्क्रमितबाट अन्य यात्रुमा भाइरस नसर्ने गरी मेडिकल उपकरण र सुरक्षा सुनिश्चित गरिएको र आपत्कालीन सेवाका लागि मेडिकल टिमसमेत रहने बताइएको छ ।

हालसम्म कोरोना सङ्क्रमितको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट मात्रै हुँदै आएको थियो। निजी क्षेत्रबाट पहिलो पटक कोरोना उद्धारका लागि सिम्रिकलाई अनुमति दिएको हो।

सिम्रिक एयरका अहिले पाँच हेलिकप्टर सञ्चालनमा छन् । जसमध्ये दुई वटा हेलिकोप्टर सङ्क्रमितको उद्धारका लागि प्रयोग गरिनेछ।

प्रतिक्रिया दिनुहोस