सुन तस्करीको आरोपमा दुई अर्व ३९ करोड ५५ लाखको मुद्धा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुन तस्करीको आरोपमा दुई अर्व ३९ करोड ५५ लाखको मुद्धा


२६ आश्विन २०७७, सोमबार


काठमाडौँ । राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।

उनलाई सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर सोमबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।

सोनी रुपन्देही सिद्धार्थनगर–१२ स्थित सोनी ज्वेलर्सका प्रोप्राइटर तथा सोनी गोल्ड एन्ड सिल्भर प्रा।लि।का सञ्चालक हुन्।
नेपाली नागरिकतासमेत लिएर उनले सुनिल सुनारको नाममा गतिविधि गर्दै आएको विभागले जनाएको छ । मुद्दामा सिद्धार्थनगर–६ का अमित परियारलाई पनि प्रतिवादी बनाइएको छ। परियारले सोनीलाई सहयोग गर्दै आएकाले मतियारको रुपमा मुद्दा दायर गरिएको विभागको भनाई छ ।

सोनीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले बुटबल उपमहानगरपालिका वडा नम्बर ११ बाट कार भित्र बोरामा लुकाएर राखेको लाखौँ नगदसहित असार ३० गते पक्राउ गरेको थियो।

उनीमाथि अनुसन्धान गर्दा सुन चाँदीको अवैध आयात–निर्यात तथा बिक्री कारोबार गर्ने गरेको खुलेको छ। उनले बैंक तथा भन्सार बिन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा बिक्री गर्ने, सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरूलाई भुक्तानी लिने र दिने गरेको पत्ता लागेको विभागले जनाएको छ।

भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख ३८ हजार ८७० र आयकरतर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ छली गरेको अनुसन्धानबाट खुलेको विभागले जनायो।

Tags :
प्रतिक्रिया दिनुहोस