काठमाडौं । बैंकले यस वर्षको दसैंमा नयाँ नोट नसाट्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण संक्रमणको उच्च जोखीम हुने भन्दै बैंकले नयाँ नोट नसाट्ने भएको हो ।
बैंकले आइतबार सूचना जारी गरी बैंकहरुमा बढी भिडभाड हुन नदिन नोट साट्ने काम नगर्ने जानकारी दिएको छ ।
बैंकले सुचनामा भनेका छन्, ‘हाल यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैलिएको र नगद साट्न क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयहरुबाट यस वर्षको बडादशैंको प्रयोजनका लागि नयाँ नोट साट्ने सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’







