राज्यको आवश्यकता, चाहना, धारणा तथा शासकको अभीष्टतालाई नीति तथा कार्यक्रममा ढाल्न सहयोग गर्ने र त्यस्ता नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने राज्यको स्थायी प्रशासनिक संयन्त्र नै कर्मचारीतन्त्र हो । राज्यको पद्धति सञ्चालन गर्ने मेरुदण्ड र सार्वजनिक क्षेत्रका प्रक्रिया, पद्धति र कार्यविधि एवं संरचना नै कर्मचारीतन्त्र हो ।
फ्रेन्च भाषाको ब्युरियोबाट आएको जसको अर्थ डेक्स वा टेबल हो । कर्मचारीहरूले कार्य सम्पादन गर्दा टेबल वा डेक्सको प्रयोग गर्ने भएकोले त्यो पद्धतिलाई ब्युरियोक्रेशी भन्न थालिएको हो । कर्मचारितन्त्रलाई व्इवस्थितरुपमा व्याख्या गर्ने काम म्याक्स वेवर ले सन् १९४७ मा लेजिटिमेट अथोरिटी एण्ड ब्युरियोक्रेशी भन्ने लेखबाट गरेका थिए । उनले कर्मचारीतन्त्रलाई विवेक र कानुनमा आधारित आदर्श समाजको सर्वोत्कृष्ट नमुना हो भनेका छन् । म्याक्स वेबरले औद्योगिक क्रान्तिका समयमा भएका अवैध कार्य र व्यक्तिपरक निर्णय रोक्नका लागि कर्मचारीतन्त्रको अवधारणा विकास भएको उल्लेख गरेका छन् ।
कर्मचारीतन्त्रका विशेषताहरुः
वैधानिक तथा स्पष्ट कानुनी आधार
निश्चित साङ्गठनिक संरचना तथा कार्य र श्रमको विभाजन
निश्चित पद सोपानमा आधारित
विशिष्टीकरणमा आधारित कार्यसम्पादन
वृत्ति विकासको व्यवस्था
स्वतन्त्र र निष्पक्ष निकायबाट कर्मचारीको छनौट
लिखित अभिलेख तथा निर्णय
राजनैतिक तटस्थता र निष्पक्षता साथै प्रशासनिक प्रतिबद्धता
अनुशासन र आचारसंहिता
तलबलगायतका अन्य सुविधाको निश्चितता
राज्यमा उपलब्ध स्रोत तथा साधनको उच्चतम प्रयोगमार्फत प्राप्त उपलब्धिको समन्यायिक वितरण गर्न, लोक कल्याणकारी राज्यको निर्माण गर्न, परिवर्तनलाई व्यवस्थापन गर्न, राज्य र सरकारलाई गतिशीलता प्रदान गर्न, जस्तोसुकै परिस्थिति अवस्थामा पनि स्थायी सरकारकोरुपमा नियम कानुनमा आधारित भई कार्य गर्न र विकास प्रशासन र सुशासनको लागि कर्मचारीतन्त्र अपरिहार्य हुन्छ । तथापि जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्नेमा माथिल्लो निकायप्रति भक्तिभाव देखाउने, बढी गोपनीयता तथा औपचारिकता र यथास्थितिमा रमाउने, परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने, सेवा प्रवाहको सट्टा शासक बन्ने मानसिकताबाट प्रेरित, सेवा भन्दा व्यक्तिगत स्वार्थ हाबी, निर्णय निर्माण र कार्य सम्पादन प्रक्रियामा जटिलता, स्थायित्व र विज्ञताको घमण्डजस्ता अवगुणले गर्दा कर्मचारीतन्त्रलाई नकारात्मक दृष्टिकोणले हेर्न थालिएको छ । राज्य व्यवस्था सञ्चालन गर्नको लागि अपरिहार्य तथा जतिसुकै सवगुण हुँदाहुँदै पनि कर्मचारीतन्त्रले जनचाहना बुझ्न, जनताको मन जित्न तथा जनमैत्री वातावरण निर्माण गर्न सकिरहेको छैन । यस परिप्रेक्षमा कर्मचारीतन्त्रको विकल्पका बारेमा बहस हुनु स्वाभाविक मान्न सकिन्छ ।
राज्य सञ्चालनको आधार, विशाल प्रशासनिक संयन्त्रको सञ्चालन, राष्ट्र निर्माणको कार्यमा कर्मचारीतन्त्रकै भूमिकालेमात्र सम्भव भएको र वर्तमान परिप्रेक्षमा निजी क्षेत्रमासमेत कर्मचारीतन्त्रको व्यापक प्रयोग गरिँदै आएको छ । कर्मचारीतन्त्रको विकल्पकोरुपमा अर्को विकल्प देख्न नसकिनु, निजी क्षेत्रलाई विश्वास गर्न सक्ने अवस्थाको निर्माण भइनसकेको र कर्मचारीतन्त्र बिना राज्य सञ्चालन हुन सम्भव नभएको वर्तमान परिप्रेक्षमा कर्मचारीतन्त्रको विकल्प समयसापेक्ष सुधारिएको कर्मचारीतन्त्र नै हो ।
कर्मचारीतन्त्रको विकल्प
परिवर्तित समसामयीकरण तथा विज्ञानीकरणसँगै समय सापेक्षरुपमा सुधार गर्दै लैजाने ।
सार्वजनिक निजी साझेदारीलाई अँगाल्ने।
निजी तथा गैरसरकारी निकायलाई क्रियाशील बनाउँदै लैजाने ।
बृहत् जनसहभागितामा जोड दिने ।
प्रशासनिक व्यावसायिकतामा जोड दिने ।
नतिजामूलक व्यवस्थापनमा जोड दिने ।
सुशासन तथा सुव्यवस्था विकास गर्ने ।
कर्मचारीतन्त्रको आचरण व्यवहार प्रक्रिया तथा कार्यविधिमा सुधार गर्ने ।
सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगमा जोड दिने ।
आधुनिक व्यवस्थापन गर्ने प्रक्रिया भन्दा नतिजामा जोड दिने ।
सङ्गठनलाई रिस्ट्रक्चरिङ र रिइन्जिनियरिङ गरी समसामयिक बनाउने ।
पद्धति, प्रक्रिया, कार्य र संस्कृतिमा सुधार ल्याउन जोड दिने ।
भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने ।
नागरिक समाजको भूमिकालाई सशक्तीकरण गरी प्रभावकारी बनाउने ।
विद्युतीय शासनमा जोड दिने कामलाई पेपरलेस, फेसलेस र स्मार्ट बनाउने ।
राज्य व्यवस्था सञ्चालनको मूल खम्बाकोरुपमा रहेको कर्मचारीतन्त्रको विस्थापनकारी विकल्प छैन । यदि विकल्प छ भने समय सापेक्ष यसमा देखिएका कमीकमजोरीलाई सुधार्दै परिवर्तित विश्व समुदायका आधारमा सुधारिएको परिवर्तनकारी कर्मचारीतन्त्र नै हो । कर्मचारीतन्त्रको आलोचना तथा विस्थापनको विषयमा बहस गर्नु भन्दा कर्मचारीतन्त्रमा देखिएका विकृतिहरूलाई कम गर्दै समस्याहरूलाई समाधान गर्दै सुधारिएको कर्मचारीतन्त्रको निर्माण गर्नु आवश्यक देखिन्छ ।
महेश अधिकारी हाल कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङमा कार्यरत छन् ।