मुख्यमन्त्री शाहीद्वारा जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री शाहीद्वारा जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त


२२ आश्विन २०७७, बिहिबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति शोक व्यक्त गरेका छन् ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका औंलखोलामा बुधबार भएको जीप दुर्घटनामा परी सो गाउँपालिका–११ का वडाअध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको दुखद् निधन भएको थियो ।

सो घटनाप्रति मुख्यमन्त्री शाहीले भनेका छन् -जीप दुर्घटनाका कारण जनप्रतिनिधिसहित ठूलो मानवीय क्षति भएको घटनाले प्रदेश सरकारलाई स्तब्ध तुल्याएको छ । उनले सो दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

जुनीचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार सो गाउँपालिका–१ औलखोलामा दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उपचारमा कुनै कमी आउन नदिन र बेपत्ताको खोजीमा तीव्रता दिन सम्बन्धित सबैमा आग्रह गरेका छन्।

दुर्घटनाको खबर पाउने बित्तिकै उद्धार, उपचार एवम् सूचना सम्प्रेपणमा सबैलाई मुख्यमन्त्री शाहीले धन्यवाद व्यक्त गरेका छन् । सडक दुर्घटनाका कारण वर्षेनी ठूलो सङ्ख्यामा नागरिकको ज्यान गईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले सडक दुर्घटना रोकथाम र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबै निकायलाई आग्रहसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस