सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौँ : मन्त्री अर्याल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौँ : मन्त्री अर्याल


२१ आश्विन २०७७, बुधबार


काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ ।

बोर्डले आज (बुधवार) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो । रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढीकरणका निम्ति रणनीतिक दस्ताबेज निर्माण गरेको बताइन् ।

‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरू के छन् ? अहिलेसम्म प्राप्त उपलब्धिहरू के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन्’, मन्त्री अर्यालले भनिन् ।

अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ति स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन् । संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्त्वपूर्ण क्षेत्रको रूपमा लिएको प्रसङ्ग जोड्दै उनले संविधानको कार्यान्वयनसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गरिन् ।

सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्त्वका साथ जोड दिइएको बताइन् । ‘हामीसँग सहकारीका सङ्ख्याहरू धेरै छन् । सहकारी आर्थिक रूपमा सबल छ । सहकारीमा भएका पुँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ । व्यावसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्त्वका साथ उठाइएको छ’, मन्त्री अर्यालले भनिन् ।

सङ्ख्यात्मक रूपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासनलाई विशेषरुपमा जोड दिइएको उनले बताइन् । सहकारी सम्बन्धी निर्माण गरिएका कानुन कार्यान्वयनमा विशेष जोड दिइएको समेत मन्त्री अर्यालले बताइन् । तिनवटै तहको सरकारबिच समन्वय गरी सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र बिच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै उनले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न यी सबैबिच सहकार्यको जरुरी रहेको बताइन् । ‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान् लक्ष्य लिएर अगाडी बढिरहेको छ । दिगो विकास लक्ष्यमा पनि यी कुराहरू उल्लेख गरिएका छन्’, उनले भनिन्, ‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्त्वपूर्ण योगदान दिन सक्छौ । र त्यो ढङ्गले हामी अगाडी बढ्नुपर्नेछ ।’

मन्त्री अर्याले सहकारी क्षेत्रलाई उद्यमशीलता, व्यावसायिकतामा लगाउनका निम्ति बाधक रहेका ऐनहरुको संशोधन गरेर अगाडी बढ्ने समेत बताइन् । सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने समेत बताइन् । सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउँदै मन्त्री अर्यालले समयसापेक्ष कार्यक्रम बनाउने समेत बताइन् ।

बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री अर्यालले भनिन्, ‘रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामीले कार्यान्वयनमा लैजान कार्यनीति बनाउँछौ । कार्यनीति समय सापेक्ष बन्छ ।’

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने भिजनरी दस्ताबेज भएको बताए । उक्त रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने बताए ।

यसैक्रम त्यस अवसरमा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडी बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको बताए । सहकारी क्षेत्रलाई समयसापेक्ष रूपमा प्रविधिमैत्री बनाउँदै लैजाने भन्दै सह–अध्यक्ष पौडेलले समग्र सहकारी क्षेत्रको विकासका निम्ति रणनीति तयार गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस