कोभिड १९ : अलमलमा शिक्षक, अन्योलमा शिक्षा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोभिड १९ : अलमलमा शिक्षक, अन्योलमा शिक्षा


२० आश्विन २०७७, मंगलबार


मिथिला नगरपालिकाकी शिक्षा अधिकृत सीता काफ्लेले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ,- ‘मन्त्रीपरिषद् भन्छ–विद्यालय नखोल् । स्थानीय सरकार भन्छ–विद्यालय खोल् । जिल्ला प्रशासन कार्यालय भन्छ – विद्यालय नखोल । सिकाइ सहजीकरण निर्देशिका भन्छ–विद्यालय खोल, शिक्षा मन्त्री भन्नुहुन्छ–विद्यालय नखोल । कसको निर्देशन मान्ने ? कसको नमान्ने ? खोल्ने कि बन्द गर्ने ?’ उहाँले लेखे जस्तै विद्यालय सञ्चालन गर्ने कि नगर्ने ? साँच्चै अन्योल भएको छ शिक्षकहरूलाई ।

बालबालिकाले सिक्ने र सिकाउने यान्त्रिक कुरा होइन । बालबालिका रहेको वातावरण र अवस्था फरक–फरक छन् । बालबालिकाका रुचि, क्षमता, पारिवारिक, सामाजिक संस्कृति, रहन–सहन, भोगाइ र बानीव्यवहारले सिक्ने तौरतरिकामा फरक पार्न सक्दछन् । सिकाइमा प्रभाव पार्ने उत्प्रेरक तत्त्व पनि फरक–फरक हुन सक्दछन् । एकै किसिमको सिकाइ प्रक्रियाले सबै बालबालिकाको सिकाइ कल्पना गर्न पनि सकिँदैन ।

कोभिड १९ ले निम्त्याएको महामारीका कारण उत्पन्न परिस्थितिमा विद्यार्थीका भोगाइ फरक–फरक छन् । जुन बालबालिकाको घरमा पढेलेखेका बाबुआमा, दाजु, दिदी थिए उनीहरूले सिकाइमा सहजीकरण गर्ने कार्य गरे र ती बालबालिकाको शिक्षाको लागि शिक्षकको आवश्यकता खड्किएन । तर, कतिपय परिवारमा बालबालिका भन्दा माथिल्लो शिक्षा पाएका कुनै पनि व्यक्ति नभएको कारणले परिवारबाट सहयोग पाउन सकेनन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत्र पाँच गते भित्र विद्यालयले लिने वार्षिक परीक्षाहरू लिइसक्नु भन्ने निर्देशन दिएको थियो । तर पनि कति विद्यालयहरूले पूर्वनिर्धारित कार्यक्रमलाई व्यवस्थापन गर्न नसक्दा केही विद्यार्थीले चैत्रमा हुने अन्तिम परीक्षा दिनै पाएनन् । परीक्षा दिएका विद्यार्थीको पनि कुनै विद्यालयले वैशाखमा नै परीक्षाको नजिता प्रकाशन गरे । नतिजा फोनबाट तथा कुनै माध्यमबाट बालबालिकालाई जानकारी पनि गराए । कतिपय विद्यालय लकडाउन खुलेको एक हप्ता भित्र नतिजा प्रकाशन गर्ने भन्ने भनाइले गर्दा अलमलमा परे । नतिजा प्रकाशन गर्न निकै ढिला गरे । केही विद्यालयहरूले विद्यार्थीको अभिलेखीकरण वैशाखमा नै थालनी गरे भने कुनै विद्यालयले अवस्था सहज भए पछि गर्ने भनेर पनि बसे ।

कोभिडको १९ को फैलावट पनि भौगोलिक क्षेत्र अनुसार फरक किसिमले भयो । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पनि ७ वटा जिल्ला र ५८३ स्थानीय तहमा एक जना पनि सङ्क्रमित छैनन् । केही जिल्ला तथा स्थानीय तहमा फैलँदो अवस्था छ भने कुनैमा शून्यतर्फ जाँदै छ । शिक्षा लगायत सामाजिक जीवनमा प्रभाव पर्ने भनेको कोभिडको फैलावटले गर्दा हो । कोभिडको फैलावट, विद्यालयले शिक्षण सिकाइका लागि गरेका कार्य, विद्यार्थीको अवस्था फरक–फरक भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिका २०७७ र अन्य निर्देशनमा भने देशभरका विद्यालयहरूलाई एकै किसिमका छन् । नेपालको भौगोलिक क्षेत्रअनुसार केही क्षेत्रहरूमा व्यक्तिको आवत् जावत् निकै कम हुने, को आयो को गयो ? भनेर स्पष्ट जानकारी हुने, कुनैमा हालै सङ्क्रमित निकै कम भएका छिटै सङ्क्रमित शून्य हुने सम्भावना भएका स्थान पनि छन् ।

कतिपय स्थानहरूमा बाहिरबाट व्यक्ति जानबाट पूर्ण नियन्त्रण गर्न सकिने, एकाध व्यक्ति अन्यत्रबाट पुगे पनि समाजमा भन्दा फरक राख्न सकिने, गाउँ वडा तथा स्थानीय तहले पूर्ण नियन्त्रण गर्न सक्ने अवस्थाका पनि छन् । केही यस्ता गाउँहरू पनि छन्, जहाँ गाउँ गुजुप्प छ, बालबालिकाहरू दिन भर एक ठाउँमा जम्मा भएर खेल्छन् । तर त्यसै गाउँमा भएको त्यसै गाउँका बालबालिकाले मात्र पढ्ने विद्यालय भने बन्द छ ।

फरक परिवेश, फरक–फरक बालबालिकाको अवस्था, कोभिडको सङ्क्रमण फरक भएको अवस्थामा देशव्यापीरुपमा एउटै मापदण्ड लगाउनु सबै विद्यालयमा पठनपाठन बन्द गर्नु उपयुक्त हुन सक्दैन । जति तल्लो तहमा पुग्न सक्यो र त्यहाँको अवस्था अनुसार निर्णय गर्न सकियो त्यति निर्णय यथार्थतामा आधारित र प्रभावकारी हुन्छ । संघीय सरकारले कोभिड १९ को सङ्क्रमण नभएका वा यतिसम्म सङ्क्रमित भएका अवस्थामा विद्यालय सञ्चालन गर्न उपयुक्त हुन्छ । सङ्क्रमण फैलिँदै गरेका, जोखिममा रहेका स्थानहरूमा विद्यालय खोल्नु भन्दा पूरक तरिकाले शिक्षण सिकाइलाई निरन्तरता दिनु पर्दछ भनेर मार्गदर्शन बनाइनु सान्दर्भिक हुन्छ ।

संघीय सरकारले विज्ञको सहयोगमा बनाएको मार्गदर्शनको आधारमा अवस्था अनुसार विद्यालयले सञ्चालन र बन्द गर्ने निर्णय गर्ने स्थानीय तहले गर्दा व्यावहारिक हुन सक्दछ । यस्तो अवस्थामा आदेश वा निर्देशन फरक–फरक भएर विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने अन्योलता हुँदैन ।

स्थानीय तहमा पनि शिक्षकबाट आएका, विद्यालय सञ्चालन तथा शिक्षा सम्बन्धी अनुभव भएका जनप्रतिनिधि धेरै छन् । अनुभव नभएकाले पनि शिक्षा सम्बन्धी समस्या नजिकबाट बुझेका छन्, अहिलेको परिवेश नजिकबाट अनुभव गरेका छन् । स्थानीय तहका नेताहरूले समस्या यकिन गर्न, समाधानका उपाय पत्ता लगाउन, आफै नसके विज्ञको सहयोग लिन, सरोकारवालासँग छलफल गरेर सिकाइलाई निरन्तरता दिने उपाय पत्ता लगाउन सक्ने क्षमता छ । सबै भन्दा उत्तम, व्यावहारिक र संविधानको भावना अनुसारको उपाय पनि यही हुन्छ । यसले गर्दा नजिकबाट समस्या यकिन हुन्छन् र समाधानका उपायहरू पनि प्राप्त हुन्छन् । कार्यान्वयन गर्न पनि सजिलो हुन्छ ।

समस्या त म बाहेक अरूले सक्दैनन्, मैले नै अरूको लागि गर्नु पर्छ, स्थानीय तहसँग क्षमता छैन, उनीहरूले अधिकारको प्रयोग गर्ने हो भने सब बरवाद गर्दछन् भन्ने सोच र चिन्तनमा छ । प्रधानमन्त्री र उपप्रधानमन्त्रीले शिक्षा मन्त्रीको, शिक्षा मन्त्रीले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको विश्वास नगर्ने, उनीहरूको क्षमता छ भन्ने नठान्ने, स्थानीय तहहरू केन्द्रको आदेश भन्दा बाहिर जान नहुनेमा छ । केन्द्रको आदेशलाई पनि केही सिर्जनात्मकता थप्न समेत कर्मचारीले सहयोग नगर्ने, यन्त्रबत उही आदेश निर्देश कार्यान्वयन, न निर्णयमा सहभागिता, न स्थानीय आवश्यकता अनुकूल कसरी सम्भव हुन्छ विविधताको संवोधन ? कसरी हुन्छ सम्भव हुन्छ विविध समस्यामा परेका बालबालिकाको एकै किसिमले सिकाइ ? कसरी हुन्छ सहजीकरण ? केही स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार सिकाइलाई निरन्तरता दिन प्रयास गरे । तर केन्द्रले देशव्यापी रूपमा गरेको निर्देशनले गर्दा सफलता पाउन सक्ने अवस्था भएन । कतिपय शिक्षकले समेत सहयोग गरेनन् । संघीय सरकारले सबै तिर सार्वजनिक बिदा गर्दा काम गर भन्ने ? के दिन्छ स्थानीय तहले थप सुविधा ? भन्न समेत केही शिक्षक पछि परेनन् । केही शिक्षकहरू स्थानीय तहका निर्णय विरुद्धमा उजुरी लिएर जिल्ला प्रशासनमा समेत पुगे ।

संघीय सरकारले एक जना पनि कोभिडको सङ्क्रमित नभएको, सामान्यतया अन्यत्रबाट आवत जावत रोक्न सकिने स्थानीय तह तथा समुदायमा विद्यालयहरू चलाउन सहजीकरण गरिनु पर्दछ । विद्यालय खोलेपछि कसरी अवस्थालाई सामान्य बनाउने ? अन्यत्रबाट कोभिड फैलिन सक्ने अवस्थामा कसरी सतर्कता अपनाउने ? विद्यालय सञ्चालन गर्दा विद्यालयलाई कोभिड फैलिने स्थान हुन नदिन के कस्ता उपायहरू अपनाउने ? के कस्ता होसियारी अपनाउने ? विद्यालय सञ्चालन भइरहेको अवस्थामा सङ्क्रमित देखिएमा के गर्ने ? सुरुमा विद्यालय सञ्चालन गर्दा विद्यार्थीहरू र अभिभावकलाई कसरी मनोसामाजिक परामर्श सञ्चालन गर्ने ? जस्ता कुरामा सहजीकरण गर्ने मार्गदर्शन बनाइनु पर्दथ्यो तर बनेको छैन । विपद् प्रतिकार्य योजना बन्न र कार्यान्वय हुनु पनि त्यतिकै आवश्यक छ ।

बालबालिकाको सिकाइको अवस्था, विद्यालयले कोभिड महामारी पछि गरेका कार्यहरू फरक–फरक हुनाले देश भरका बालबालिकालाई यो–यो पाठ पढाऊ भनेर तोकिनु पनि आवश्यक छैन । बरु तोकिएका सिकाइ उपलब्धि हासिल गर्न सम्भव नभएमा के गर्ने ? कस्ता–कस्ता उपाय अपनाउने ? चैत्र मसान्तसम्म पनि तोकिएका उपलब्धि पुरा गर्न प्रयास गर्दा पनि सफलता हुन नसकेमा निरन्तर विद्यार्थी मूल्याङ्कनको भावना अनुसार अर्को शैक्षिक सत्रको सुरुवातका हप्ता, महिनाहरूमा पूरा नभएका उपलब्धि पूरा गराउन के कस्ता उपायहरू अपनाउने ? निर्णय गर्न विद्यालय र शिक्षकलाई सहयोग गर्ने मार्गदर्शनहरू निर्माण गरिनु उपयुक्त हुन्छ ।

शिक्षक उत्प्रेरित भएर लाग्ने वातावरण निर्माण गर्ने हो भने सिकाई सम्बन्धी धेरै समस्या स्वतः समाधान हुन सक्दछन् । विद्यार्थीको सिकाइप्रति शिक्षकलाई विश्वास गर्नु पर्दछ, यसको अर्को विकल्प पनि छैन । शिक्षकहरू समुदाय कस्तो छ ? समुदायको समस्या र आवश्यकता के हो ? बालबालिकाको अवस्था कस्तो छ ? सिकाइका समस्या के के हुन् ? के गर्दा सिकाउन सकिन्छ ? बालबालिकाले के गर्दा आफै उत्प्रेरित भएर सिक्छन् ? कोभिडको कारणले कुन बालबालिकाको सिकाइलाई के कति क्षति पुर्‍याएको छ ? आगामी चैत्रसम्ममा कति सिकाइ उपलब्धि पूरा गराउन सकिन्छ ? यकिन गर्न र त्यसै अनुसार रणनीति बनाएर काम गर्न सक्ने क्षमता राख्दछन् । कमी त शिक्षकमा उत्प्रेरणा, उत्साह र विश्वासको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस