डा. केसीको मुटुको चालमा गडबडी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डा. केसीको मुटुको चालमा गडबडी


१९ आश्विन २०७७, सोमबार


काठमाडौँ । २२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
उनलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोरी देखिएपछि बोल्न नसक्ने अवस्थामा पुगेको उनका सहयोगीले जानकारी गराएका छन् ।

सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम फस्फोरसको मात्रा कमी हुनुका साथै मुटुको चाल घटबढ भइरहेको छ भने मुटुको चाल कमजोर हुँदा श्वासप्रश्वास गाह्रो हुन थालेपछि अक्सिजन दिएर राखिएको सहयोगी चिकित्सकले बताएका छन् ।
चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाको चन्दनाथस्थित बाबिरा मष्टा मन्दिरबाट १९ औँ अनशन सुरु गरेका डा। केसीको स्वास्थ्यमा समस्या पछि काठमाडौँ ल्याइएको थियो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनसनको १८ औँ दिनमा अनसन फिर्ता लिन आग्रह गरे पनि माग पुरा नहुँदासम्म अनसन नछोड्ने भन्दै केसीले अस्वीकार गरेका थिए ।

डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आवासीय चिकित्सकहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। आइतबारदेखि आन्दोलन थालेका आवासीय चिकित्सकहरू सोमबार आधा घण्टासम्म एप्रोनमै सडकमा निस्किएर प्रदर्शन गरेका थिए । उनीहरूले केसी सरकार सुतेको तर डाक्टर केसी जागेको भन्दै तत्काल माग पूरा गर्न दबाब दिएका छन्। चिकित्सकहरूको साझा संस्था नेपाल चिकित्सक सङ्घले समेत केसीको माग सम्बोधन गरी उनको उनको जीवन रक्षाको माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस