काठमाडोँ । भक्तपुरको मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।
५ दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो । यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन् ।
त्यसैगरी झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्यु भएको हो । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई ५ दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
त्यस्तै चितवनमा कोरोना भायरस सङ्क्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्नाभएका उनमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान १०:४४ बजे पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। यससँगै चितवनका २३ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।