जीवनलाई कसरी खुसी बनाउने ? « प्रशासन
prasaLogo
१७ आश्विन २०७७, शनिबार

जीवनलाई कसरी खुसी बनाउने ?


प्रकाशित मिति : 3 October, 2020 11:57 am

यति बेला विश्वभरि कोरोना महामारीको सङ्कट छ । यसले मानवीय जीवनलाई चुनौती, खतरा र तनावपूर्ण  बनाएको छ । विकासका हरेक क्रियाकलापमा अवरोध पुर्‍याएको छ । मानवीय जीवनमा समस्याहरू थपिँदै गइरहेका छन् । सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या घट्नुको साटो दिन प्रतिदिन बढ्दो छ । सङ्कट मान्छेले चाहेर पनि नहुने अनपेक्षित र आकस्मिक रूपमा आइपर्ने घटना हो । यति बेला सङ्कटपूर्ण अवस्थाले मानवीय जीवनलाई छिन्नभिन्न, चिन्ताजनक, दुःखदायी र  निस्सार बनाएको छ । अर्कोतर्फ धनजनको क्षति पु¥याएको छ । देशमा प्राकृतिक सङ्कटहरू एकपछि अर्को गर्दै थपिएका छन् ।

त्यस्तै बाढीपहिरोबाट पनि धनजनको क्षति भइरहेको छ । नदी–किनारा, भिरालो, जोखिमपूर्ण गाउँ–ठाउँमा बसोबास गर्ने समुदायको उठिबास हुनुको साथै बिचल्लीपूर्ण अवस्था छ । एकातिर कोरोना, अर्कोतिर बाढीपहिरो प्राकृतिक विपत्ति एकपछि अर्को गर्दै थपिँदै गएको छ ।

दिनभरि पसिनासँग श्रम साटेर साँझ बिहानको जोहो गर्नेहरूको बिचल्ली भएको छ । देशमा आर्थिक सङ्कट, गरिबी, बेरोजगारी, उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसायको अवस्था धराशायी बन्दै गएका छन् । महिनौँ महिनासम्म मानव घरभित्र बन्दी बनेर बसिरहेको छ । कति फेरी विपद्ले घरबाहिर पालमुनि भोकसँग लड्न बाध्य भएका समाचार यत्रतत्र भेटिन्छन् । शैक्षिक क्षेत्रको अवस्था त्यस्तै पीडाजनक छ । सङ्कटपूर्ण अवस्थाले मानव मनोविज्ञानमा असर पुगेको छ । मानवमा तम गुण हाबी हुन जाँदा परिणामस्वरूप आत्महत्या, निराशाको शिकार, घरेलु हिंसा, बलात्कार लगायतका घटनाहरू घटिरहेका छन् । जताततै निस्सारपूर्ण अवस्था छ । मानव मनोविज्ञानमा नराम्रो असर पर्दै गइरहेको पाइन्छ ।

रातपछि दिन, दुःखपछि सुख, विनाशपछि विकास शाश्वत हो । संकटबाट उत्पन्न समस्यालाई समाधान गर्दै चुनौती न्यूनीकरण गर्नु आजको आवश्यक पनि हो । यस्तो विषम परिस्थितिमा समस्या र चुनौती चिर्दै जीवनलाई खुसी बनाउनु पर्दछ । यस्तो अवस्थामा मानव जीवन निष्क्रिय हुँदा अनायासै मनभित्र पीडा, छटपटी, चिन्ता, विकार उत्पन्न हुन्छन् । ती विकारहरूलाई बाहिर ल्याउन जरुरी छ । अस्पताल, स्वास्थ्य केन्द्रहरूमा बिरामीहरूको सङ्ख्या प्रतिदिन बढ्दै गएका छन् । वरपर जताततै मानव, मानवबीचको दूरी पनि त्यत्तिकै बढ्दै गएको पाइन्छ । नेपालमा पनि सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या पछिल्लो समय अत्यधिक वृद्धि भइरहेको छ ।

स्वस्थ निरोगी भई लकडाउनको पूर्ण परिपालना गर्न अति आवश्यक छ । यस कारण विषम परिस्थितिमा शरीर मन र बुद्धिलाई स्वच्छ, सफा, कञ्चन र निर्मल बनाउनु जरुरी छ । विज्ञानको आडमा संसार जितेको मानवलाई एउटा भाइरसले बिचल्ली बनाएको अवस्था छ । हामीभित्र रहेका दम्भ र अहङ्कारलाई हटाएर र मानव जीवनलाई बचाउनु पहिलो आवश्यकता बनेको छ । पारिवारिक वातावरणलाई सुरम्य र सौम्य बनाउनु पर्दछ । यान्त्रिक जस्तै भएको मानवले यो सङ्कटको घडीमा परिवारका सदस्यलाई समय दिन पाइएको भनी अवसरको रूपमा लिनु पर्दछ ।

अर्कोतिर रातदिन व्यापार व्यवसायमा तल्लीन हुनेहरूले आफ्नै लागि पनि समय दिन पाएका थिएनन् । आफूले, आफैलाई माया गर्ने आफ्नो प्रतिभा सृजनालाई उजागर गर्ने समयको रूपमा लिई आफूलाई सहज बनाउनु पर्दछ । सांसारिक माया, मोह, पैसाको मोहमा भूलेको मानव आफूभित्रको खुसी नचिनेर भौँतारिएको छ ।

हाम्रो देश क्रृषिमुनीको तपोभूमि हो । हाम्रा हरेक धर्म संस्कार परम्पराहरूका पछाडि वैज्ञानिक कारणहरू भेटिन्छन् । जुन हामीलाई कोरोनाले पनि झस्काई दिएको छ । अङ्कमाल गर्ने, हात मिलाउनुको साटो नमस्कार गर्ने, बाहिर कतै गएर आएपछि नुहाएर सफा लुगा फेरी, आगो छोएर मात्र भित्र पस्ने, खाना खानु अगाडि शुद्ध भई धोती फेरी पिरामा छुट्टै शुद्ध स्थानमा बसी खाना खाने चलन थियो । विशेष गरी सात्त्विक भोजनमा ध्यान दिन्थे । हाल जस्तो तामसी र राजसी हुँदैनथ्यो । जुन हामीलाई अहिलेको महामारीले झस्कायो ।

बिहान उठी पञ्चायन, इष्ट, देवताहरूको पूजापाठ गर्ने गर्दथे । ध्यान, जप त्यत्तिकै महत्त्वपूर्ण हुन्थ्यो । जसले शरीर मनलाई जोडी असहज परिस्थिति सहज रूपमा लिन्थे । योग, प्राणायाम, ध्यान जुन हाम्रा बाबु बाजेले सिकाएको पद्धति अनुसरण गर्न सकेमा यस्तो परिस्थिति पनि आफूलाई खुसी बनाउन सकिन्छ । मनलाई खुसी राख्न सक्छौँ । योगले मन र शरीरलाई जोडी दया, प्रेम, करुणाको भावलाई अभिप्रेरित गर्दछ । मनमा आएका निराशा, कुण्ठा, पीडा, छटपटी, चिच्च्याहट बाहिर फाल्नको लागि मद्दत गर्दछ । जसले यस्तो विषम परिस्थितिमा पनि रमाउन सक्ने बानी सिकाउँछ । नानी बाबुहरूलाई सृजनात्मक काम र घरायसी काममा लगाउन सकिन्छ । खानपान शैलीमा पनि परिवर्तन गर्नु जरुरी छ । सङ्कटले मानव जीवनमा सकारात्मक परिवर्तन पनि ल्याउँदछ । जसरी प्रकृतिको गति हुन्छ । आँधीबेहरीपछिको प्रकृति खुल्दछ । सफा, कञ्चन र निर्मल हुन्छ । सङ्कट विपद् भनेका मानव जीवनमा आइपर्ने स्वाभाविक क्रिया हो । वर्षा र शिशिरपछि वसन्त ल्याउँदछ भन्ने विषयलाई मनन गरी विशेष परिस्थितिलाई पनि सहज बनाउँदै लैजान सक्नु पर्दछ ।

मानव जीवनमा अनगिन्ती आवश्यकताहरू हुन्छन् । ती आवश्यकताहरूलाई चिर्दै प्राथमिकताका आधारमा अगाडि बढ्नु पर्दछ । हालको यो विषम परिस्थितिमा सङ्कट व्यवस्थापन गर्नका लागि हरेकले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नु पर्दछ । गैरसरकारी, सामुदायिक संघसंस्था र मानव अधिकारकर्मीहरूले पनि सचेतनासम्बन्धी कार्यमा जोड दिई भोकमा भोजन मिलेर खाआँैं र एकले अर्कोमा बाँडेर खान सिकौँ । यो समयमा जीवन बचाउनु नै श्रेय मानिन्छ । सङ्कटको बेलामा सबैले एक अर्काप्रति सहानुभूति, दया, माया, करुणा, सदाशयता, सहानुभूति, सेवा र सद्भाव राख्नुपर्ने अवस्था छ । मानवको हित, सुख शान्ति र समृद्धिको लागि सम्पूर्ण, परोपकार, त्याग, सेवा भाव जागृत गराउनुपर्ने देखिन्छ । सङ्कट व्यवस्थापन गर्न सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ ।

तर, पनि यस्तो बेलामा एक्लो प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैले आ– आफ्नो ठाउँबाट पनि सक्दो प्रयास गर्नु आवश्यक हुन्छ । कानुनको पूर्णरुपमा परिपालना गरौँ । यति बेला कोरोना भाइरससँग बाँच्नु र बचाउनु नै महत्त्वपूर्ण देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाऔँ । कमजोर भई निराशा, उराठ, चिन्तित भएमा झन् कमजोर भइन्छ । भाइरस र बाहिरी कीटाणुसँग लड्ने क्षमता घट्दछ । त्यस कारण सङ्कटको बेलामा आत्मबल बढाउन जरुरी देखिन्छ ।

यो समय भनेको उचित कानुनको पालना गर्दे, सचेत भई महामारीलाई सहज रूपमा स्विकारी खुसी हुनु एउटै मात्र विकल्प हो । त्यसैले खानपानमा ध्यान दिई ध्यान, प्राणायाम, भजन, कीर्तन, जप, श्वासप्रश्वासलाई प्रभावकारी बनाउने अनुलोम विलोम, भर्सिका लगायतका  थुप्रै योगाभ्यास गरी सक्रिय जीवनलाई चलायमान बनाउनु खुसी, सुखी र स्वस्थ रहन हरेकले आ–आफ्ना ठाउँबाट सङ्कट व्यवस्थापनमा सहयोग पुर्‍याउनु जरुरी छ । खुसी, स्वस्थ मान्छेले नै जीवनमा जस्तो सुकै विपद्को समयलाई सहजरुपमा ग्रहण गरी चुनौतीलाई चिर्दै अगाडि बढ्न सक्दछ । यहीँ भावनालाई आत्मासाथ गर्दै अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो ।

आचार्य राष्ट्रिय मानवअधिकार आयोग, हरिहर भवन, पूल्चोक, ललितपुरमा अधिकृतमा कार्यरत हुन् ।  

 

Tags :
प्रतिक्रिया दिनुहोस