२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साङ्लोदेखि उज्यालोसम्म उमाकान्तको यात्रा

अ+ अ-

सप्तरी । शरद ऋतु उकालिँदै गर्दा पनि धपक्क गर्मी । झम्के साँझमा बाँदलको घेराले अझ धुमिल बनाउँदै गरेको घाम पश्चिम किनारामा ओर्लर्दै थियो । सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ घोघिदहाको चौधरी वस्तीमा अस्ताउँदो घामका किरण रुखका चेपबाट चिहाइरहेथ्यो । वस्तीको एउटा आँगनमा उपस्थित समुदायको मुहारमा भने झुल्के घामकै चमक देखियो । गाउँका ४६ वर्षीय उमाकान्त चौधरी २२ महिनापछि गाउँ फर्कने खुशीले हरेकका मुहार उज्यालिएको थियो ।

अँधेरो कटेरोमा १३ वर्षसम्म रुखमा जरा जेलिएझैँ साङ्लोमा जेलिएर अनि त्यही घाउमा किरा परेर बसेका मनोरोगी चौधरी यसरी हट्टाकट्टा अवस्थामा फर्किन्छन् भनेर गाउँलेले चिताएका थिएनन् । उनी आउने खबर गाउँभरि भुसको आगोजस्तै फैलियो । असोज १४ गते बुधबार चौधरीको आँगन र गोरेटामा बिहानैदेखि बाक्लै आउजाउ चल्यो । कति खेर आउने भनेर पटकपटक गाउँलेले सोधखोज गरिरहे । बाइस महिनाअघिको उमाकान्त हेर्ने उत्सुक चाहनाले हरेकका आँखा मूल बाटोमै घरीघरी सोझिन्थे । साङ्लोबाट अब उज्यालोतिरको यात्रामा लम्किएका उमाकान्त चौधरीको यात्रा हेर्न समुदाय उत्सुक देखिए ।

उता उमाकान्त हेटौँडाबाट लामो यात्रा तय गरी सरर गाडीमा गाउँ पसे । गाउँले बाटोमै ओइरिएका थिए । गाडीबाट ओर्लदै गर्दा उनीलाई संरक्षण दिएको संस्था मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘ल अब आफ्नो घर कुन हो, आफै चिनेर जानुस् त ।’ ‘हुन्छ’ छोटो जवाफ दिँदै मुसुक्क हाँसे। अनि फटाफट हिँडेर घरको फाटक खोल्दै गृह प्रवेश गरे । त्यति बेलासम्म आसपास गाउँले सबै ओइरिसकेका थिए ।

मनोरोग लागेका र त्यसमाथि १३ वर्ष साँङ्लोमा बाँधिएर कष्टको जीवन बेहोरेका व्यक्ति आम मानिसझैँ खुरुखुरु हिँड्ला, सबैसँग कुरा गर्ला र घर परिवार चिन्ला भन्ने कुनै आशा थिएन । त्यसको विपरीत उमाकान्तले आँगनमा सारा गाउँलेलाई पहिलेझैँ अभिवादन फर्काए । मनोरोगले विछिप्त रहेका बेला कसैलाई नचिन्ने उनले धेरैलाई नामसहित बोलाए । जम्मा भएकाको अनुहारमा आश्चर्य र अपनत्व दुवै छचल्कियो । घरभन्दा झण्डै ५०० मिटर पर पूर्वपश्चिम राजमार्गमा उमाकान्त आएको थाहा पाउने बित्तिकै केही गाउँले गाडीमै भेट्न पुगेका थिए । त्यही समयमा केही गाउँलेले दुःखसुख साट्न भ्याए । चिना पहिचानबारे राम्रै भलाकुरासी भयो । उमाकान्तले एक/एक गर्दै चिने । पहिले डराउने गाउँले अहिले समिपमा गएर दङ्ग परे ।

घरभित्र पस्नु अघि तेह्र वर्षसम्म आफूलाई बाँधेर राखेको कटेरो पुलुक्क हेरे, तर त्यता हैन मूल ढोकातर्फ मोडिँदैभित्र पसे । उनलाई बाँधेर राख्ने गरिएको कटेरो अहिले दाउरा र परालले भरिएको थियो । उमाकान्तलाई स्वागत गर्न घरको मूल ढोकामा घडा थापिएको थियो । तामाको थालीमा दियोबत्ती फूलमाला, अक्षतापाती, अबीरका साथ पत्नी सुशीला र काकी फलेश्वरीले स्वागत गरे । ढोकैमा पुजा शुरुभयो । छोरा सग्लो फर्केको देख्दा वृद्धा आमा पल्टीदेवीको आँखा रसाए । पत्नी र छोरीहरु पनि सुक्कसुक्क गर्न थाले । केही बेर चकमन्न मौनता छायो । हर्षका आँशुले हेर्नेका मन पनि पग्लिए । मौनता तोड्दै काकी फलेश्वरी चौधरीले धुपबत्ती र पूजा गर्दै भने, ‘न जिउँदो न मर्ने अबस्थाको मान्छेले नयाँ जीवन पाएको छ, सदासर्वदा सुखी होस्, पहिलोको जस्तो कष्ट भोग्नु नपरोस् ।’

कान्छी छोरी दिपीकाकुमारीले सोधिन्, ‘हमरा चिनै छि ।’ उमाकान्तलाई छोरीले जिस्क्याएको भान भयो । मन्द मुस्कार छरेर टाउको हल्लाए अनि खुशी साटे । गाउँले मैथली भाषामा उमाकान्तकै बारेमा एकअर्कामा खासखुस गरिरहे । उमाकान्तको फिर्तिमा सबैले बधाई दिएर खुशी साटे । सन् २०१८ की मिस नेपाल शृङ्खला खतिवडा पनि त्यस स्वागतको एक सहभागी थिइन् । पुनर्मिलनको त्यो नौलो अनुभूति उनले गाउँलेकै साथमा साटिन् । गाउँलेको खुशीमा उनको खुशी पनि मिसिएको थियो । मलिन स्वरमा भनिन्, ‘मायाले सब ठिक हुन्छ भन्ने एउटा उदाहरण हो, आफ्ना परिवारलाई आश्रमले झैँ मायाँ गरौँ ।’

स्वागत गर्न प्रदेशसभा सदस्य रुवी कर्ण दिउँसोदेखि नै प्रतीक्षारत थिइन् । गृहप्रवेश गराउँदै उनले राज्यले गर्नुपर्ने काम गरिएको भन्दै आश्रमको खुलेर प्रशंसा गरे । ‘यो त नमूना काम भयो, चेतनाको अभावमा मानिसलाई पागल भनेर हेप्ने अवस्थाले कतिको बुबा, छोराछोरी, श्रीमान्, श्रीमती गुमिरहेको छ’, कर्णले भने, ‘समाजको दृष्टिकोण परिवर्तन जरुरी छ ।’ उनले यस विषयमा प्रदेशसभामा आवाज उठाउने र अभियानमा सरिक हुने प्रतिबद्धता पनि जनाए । त्यही बेला गाउँपालिकाको वडासदस्य हीरादेवी सिंहले वडाको प्रतिनिधित्व गर्दै मानवीय काम गरेको भनेर मानवसेवा आश्रमका सदस्यलाई दोसल्लासहित फूलमाला र अबीरलगाएर सम्मान गरिन् ।

विगत सम्झँदै स्थानीय पत्रकार मनोहर पोखरेलले भने, ‘उनीसँगै बाँधिएका बाख्राका गलाबाट बेलाबेलामा दाम्लो फुक्थ्यो, तर उनको हातबाट कहिल्यै साङ्लो फुकेन, त्यही मान्छे आज सामाजिक जीवनमा फर्किँदा गर्व महसुस भएको छ ।’ पोखरेलकै सहयोगमा आश्रमले उमाकान्तलाई उद्धार गरेको थियो । कसैले नगरेको काम आश्रमले गरेको भनेर तत्कालै अभियानमा इँटा थप्ने भन्दै उनले परिवारको तर्फबाट रु १० हजार सहयोग पनि गरे ।

गृह प्रवेशका क्रममा आश्रम अध्यक्ष अधिकारीका पनि आँखा रसाए । उमाकान्त आश्रमको सम्पत्ति भइसकेकाले त्यो पुनर्मिलन समारोह उनका लागि पारिवारिक बिछोड बन्यो । घर फर्काउने चाहना नहुँदानहुँदै उमाकान्तले परिवारको याद धेरै गर्न थालेपछि मन बाँधेर पुनर्मिलन गराउनुपरेको उनले सुनाए । ‘मान्छे खानाको भन्दा प्रेमको भोको छ’, अधिकारीले थपे, ‘हामीले उनलाई खास केही गरेका होइनौँ त्यही प्रेम दिएका थियौँ, चिकित्सकले भनेअनुसार औषधि दिएका हौँ ।’ अधिकारीका अनुसार उमाकान्तलाई अहिलेको अवस्थामा फर्काउन आाश्रमले २२ महिना उपचार, औषधि र मायासहितको अथक प्रयास गर्यो ।

तेह्र वर्षदेखि साङ्लोमा बाँधिदा कुँजिएको शरीर, रुखमा लहरा बेरिएर जेलिएझैँ हातको मासुमा जेलिएको साङ्लो देख्दा सबैको मन कटक्क भएको थियो । देख्ने/सुन्नेहरु आङ जिरिङ्ग पार्थे । भिडियो हेरेर कति आत्तिन्थे । घाउमा किरा परेको थियो । नजिक जान सबै डराउँथे । त्यो परिवारले दैनिक भोग्दै आएको समस्या हो । एक दिन एकजना परिवारका सदस्यलाई खुर्पाले हानेको अनुभव उनीहरुसँग छ । त्यही अवस्थाबाट आश्रमका प्रवक्ता सुमन बर्तौलाको अगुवाइनमा उहाँको २०७५ साल मङ्सिर २२ गते उद्धार गरिएको थियो । कसैसँग नमानेका उमाकान्त सुमनसँग परिचितझै व्यवहार गरेको गाउँले स्मरण गर्छन् । उमाकान्तको हातमा जेलिएको साङ्लो निकाल्न शल्यक्रिया नै गर्नुपरेको बर्तौला सुनाए ।

उनको झण्डै छ महिनासम्म सामाजिक चेत आएको थिएन । आश्रम परिवारलाई विभिन्न गाली/गलौज गरेर तर्साउथे । एक मन त ठीक हुँदैन की भन्ने आशङ्का पनि पलायो । छ महिनापछि विस्तारै चेतना फर्किँदै आएपछि खुशीको बहार शुरु भएको अधिकारी सम्झन्छन् । झण्डै दुई वर्षे उपचारमा रु पाँच लाख खर्च गरेर आश्रमले उमाकान्तको जीवन फर्काएको हो ।

उमाकान्त दाइ के गरिरहेका होला भनेर मनमा खुल्दुली लागेपछि अधिकारी बिहीबार पुनः भेट्न उनको घर पुगे । उनी घरमा हर्षित मुद्रामा कुर्सीमा बसिरहेका थिए । देख्ने बित्तिकै नमस्कार गरे । राम्ररी कुराकानी गरे । ल्याएको मिठाई बाकस खोलेर खाए । अधिकारीले औषधि खुवाउने विधिबारे छोरीलाई सिकाए । परिवारका अनुसार उनी बिहान हिँडडुल गर्ने र घरायसी काममा समेत सरिक हुनथालेका छन् । ‘तपाई अब घरमै बस्ने की आश्रम जाने’ भन्ने प्रश्नमा उमाकान्तले भने, ‘दुवै ठाउँमा पालैपालो बस्ने ।’ कुराकानीका क्रममा उनले आफूलाई बाँधेर राखेको ठाउँ देखाए । तेह्र वर्षसम्म साङ्लोले बाँधिएर बनेको घाउको खाटा देखाउँदै खिस्स हाँसे ।

पन्ध्र वर्ष अघि उमाकान्तमा कुनै समस्या थिएन । नियमित खेती/किसानी गर्ने, हलो जोत्ने सबै काम आफैँ गथे । चार सन्तानका बाबु उनमा विस्तारै टोलाउने र निद्रा नलाग्ने हुन थाल्यो । आमा पल्टीदेवीका अनुसार नौ पटक धरानमा लगेर उपचार गरिएको थियो । परिवारले गर्ने जति गरे । निको हुनुभन्दा झन आक्रामक बने । आस मारेर बाँधिएको थियो । फेरिएको देखेपछि पल्टीदेवीले आफ्नै भाषामा भनिन्, ‘विश्वास नै छलो, ठीक हे तोइ ।’ धेरै प्रयास गर्दा पनि जीवन फर्काउन नसकेको छोरालाई नयाँ जीवन दिएर आश्रमले ठूलो गुन लगाएको पल्टिदेवीको भनाइबारे स्थानीय उपेन्द्र दासले दोभासेको रुपमा बताए ।

दुई/तीन वर्ष नै परिवारले उपचार प्रयास गरेका थिए । रिसाहा व्यवहार देखाउन थालेपछि मानिसलाई आक्रमण गर्ने डरले बाध्यताबस परिवारले बाँधेको स्थानीय दुर्गानन्द चौधरी सुनाए । आश्रमले यस्तै कष्टकर जीवन व्यातीत गरिरहेका बेसहारा, मनोरोगी र असहायको उद्धार गरी संरक्षण गर्दै आएको छ । मुलुकका विभिन्न १५ जिल्लाका २१ आश्रममा एक हजार १०० भन्दा बढी बेसहारालाई संरक्षण दिइरहेको आश्रमले परिवारबाट बिछोडिएर सडकमा पुगेका ६०० भन्दा बढीलाई यसैगरी परिवारमा मिलन गराइसकेको छ ।

‘हाम्रो एक मात्रै लक्ष्य हो मुलुकलाई सहयोगापेक्षी सडकमानव मुक्त देश बनाउने, सबैको साथ पाए सम्भव छ’, अधिकारीले भने । पछिल्लो समयमा सरकारको समेत साथ पाउने थालेको उनले सुनाए ।