मास्क सिलाउन व्यस्त महिला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मास्क सिलाउन व्यस्त महिला


१३ आश्विन २०७७, मंगलबार


बनेपा । धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त छिन्। बिहानदेखि बेलुकासम्ममा उनले करिब ७०/८० सम्म मास्क सिलाउछिन् । एक हप्ता अगाडिदेखि उनले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आएकी छन् ।

यसअघि उनले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्थिन् । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागिरहेकी थिइन् ।

धुलिखेल उद्योग वाणिज्य संघको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उनी मास्क सिलाउने काममा व्यस्त छिन् । पहिला पनि सिलाइ नै गरिरहेकी उनले उद्योग वाणिज्य संघले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताइन् ।

धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गछिन् । सबै जनाले एक हप्ताको तालीम लिएपछि निरन्तर मास्क सिलाइको काममा लाग्दै आएको उनले बताइन् । शुरुमा दिनको दुई/तीन सय उत्पादन भएको थियो । अहिले पाँच सयदेखि ५५० पिससम्म उत्पादन भएको छ । उत्पादन भएको मास्क अस्पताल र अन्य ठाउँमा बिक्री गर्ने गछिन् । उनले भनिन्, ‘निरन्तर रुपमा १३ जनाले काम गर्दै आउनुभएको छ ।’ धुलिखेल नगरपालिकाभित्रका विभिन्न वडाका महिला बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सिलाइमा व्यस्त हुनुहुन्छ । बिहान बेलुका घरको काम गर्ने र दिउँसो मास्क सिलाइ गरेर आम्दनी गर्दै आएको उनीहरुको भनाइ छ ।

उद्योग वाणिज्य संघले मास्क उत्पादन गर्ने कार्यलाई अगाडि बढाएपछि अहिले उनी जस्तै १३ जना महिला निरन्तर सो काममा लागिरहेका छन् ।

त्यसको लागि आवश्यक व्यवस्थापन धुलिखेल उद्योग वाणिज्य संघले गरिरहेको छ । उनीहरुले सर्जिकल मास्क र एन ९५ गरी दुई थरिको मास्क उत्पादन गरिरहेका छन् ।

मागको आधारमा काम गर्ने उनीहरुले कहिले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) त कहिले मास्क सिलाइ गर्दै आएका छन् ।
धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजूले कोरोनाका कारण मास्कको माग धेरै भएपछि आफ्नै स्थानीय उत्पादनबाट रोजगार पनि हुने र समयको पनि सही सदुपयोग हुने भएकाले मास्क उत्पादन कार्यलाई व्यवस्थापन गर्दै आएको बताए । उत्पादन भएका बस्तु काठमाडौँ विश्वविद्यालय र अस्तापलले खरिद गर्ने सहमति गरेपछि अहिले उत्पादन भएको पिपिइ र मास्क काठमाडौँ विश्वविद्यालयले नै खरिद गर्दै आएको उनले बताए ।

त्यसबाहेक बढी उत्पादन भएको बस्तुलाई केयू, रोटरी क्लब अफ धुलिखेल र उद्योग वाणिज्य संघको सहकार्यमा नै बजारीकरण गर्ने सहमति भएकाले उत्पादन भएको सामग्री बिक्री नभइ समस्या आउने अवस्था नरहेको अध्यक्ष कोजुले बताए। होटल, विद्यालयलगायत संघ/संस्थासँग सहकार्य गरेर उत्पादन भएको वस्तुलाई बजारीकरणका लागि कुनै समस्या नहुने उनको भनाइ छ । त्यसको लागि बजारमा प्रतिस्पर्धाको रुपमा जानसक्ने गरी काम गर्न वाणिज्य संघले आवश्यक समन्वयको काम गरिरहेको छ ।

अहिलेसम्म कच्चापदार्थ काठमाडौँ विश्वविद्यालयले उपलब्ध गराउँदै आएको छ । यसअघि पनि संघले मासिक रु ९ हजार तलब दिएर स्यानेटरी प्याड उत्पादन गर्दै आएको थियो । अहिले भने मासिक तलब निर्धारण गर्न बाँकी रहेको संघ जनाएको छ । महिलाको रोजगारीलाई निरन्तरता दिनका लागि अब भोलिको दिनमा एप्रोन, विद्यालयका पोशाकसमेत सिलाइ गर्ने उद्देश्य रहेको संघका अध्यक्ष कोजुले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस