नवप्रवर्तन र नवप्रवर्तन सूचकाङ्कमा नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवप्रवर्तन र नवप्रवर्तन सूचकाङ्कमा नेपाल


१२ आश्विन २०७७, सोमबार


परिवेशः नवीनताको आवश्यकताको बोध गर्नु र खोजी गर्नु मानवीय सृजनशीलताको नतिजा हो । आफ्नो परिवेशमा आउने स्वाभाविक परिवर्तनलाई स्वीकार्न र समायोजन हुन हिचकिचाउने हिजोको मानवीय प्रवृत्तिमा परिवर्तन भई जीवनका हरेक विषय, क्षेत्र, समस्या र समयमा आज नयाँपनको अनुयायी बनेको छ ।

ग्रिस दार्शनिक र इतिहासकार जेनोफनले (ईसापूर्व ४३० देखि ३५५) बहुपक्षीय र राजनीतिक कार्यसँग जोडेर प्रारम्भ गरेको नवप्रवर्तनको अवधारणा विकसित समय क्रम सँगै विभिन्न ढङ्गले प्रयोग हुँदै २० औ शताब्दीमा नवप्रवर्तनको बारेमा सकारात्मक साझा धारणा विकास भएको पाइन्छ । नवप्रवर्तन शब्दलाई लोकप्रिय बनाउने र नवप्रवर्तन अर्थशास्त्रको अध्ययनमा ठुलो योगदान गरेको श्रेय जोसेफ स्कुमपिटरलाई जान्छ ।

विश्वमा पछिल्लो समयमा सबैभन्दा खोजिएको, रोजिएको, रुचाइएको, पछ्याइएको र प्रयोगमा ल्याइएको अवधारणा रूपमा नवप्रवर्तनलाई लिएको पाइन्छ जसका कारण विश्वव्यापी प्रतिस्पर्धा विज्ञान र प्रविधि हुँदै आज नवप्रवर्तन केन्द्रित भएको छ । चीनले प्रस्ताव गरेका विकासका पाँच अवधारणामा नवप्रवर्तन पहिलो तथा अन्य अवधारणाको पूर्व आवश्यकताका रूपमा लिएको पाइन्छ भने अमेरिकाको आर्थिक विकास र प्रतिष्पर्धात्मक क्षमताको आधारका रूपमा नवप्रवर्तनलाई लिएको छ । विश्व परिवेशमा यसको प्रयोगको अवस्था हेर्दा यो नै सबै समस्याहरूको समाधानको एउटै विकल्प हो, रामवाण हो, साधन हो, साध्य हो र समृद्धिको प्रर्यावाची हो जस्तो आभाष भएको छ ।

नेपालमा नवप्रवर्तनको अवधारणालाई प्रारम्भमा उद्योग र उद्यमशीलताका क्षेत्रमा प्रयोग गरेको पाइन्छ भने हाल विकास र समृद्धिका लागि नवप्रवर्तन भनी अत्यधिक मोहका साथ प्रयोगमा ल्याएको पाइन्छ ।नीतिगत रूपमा वि.स. २०७६ सालमा पहिलो पटक राष्ट्रिय विज्ञान प्रविधि र नवप्रवर्तन नीति २०७६ का माध्यमबाट यस प्रति मुलुकको स्पष्ट दृष्टिकोण (लक्ष्य, उद्देश्य र रणनीतिहरू) सार्वजनिक भएका छन्।

परिचयः नवप्रवर्तन नवीनता र नयाँपन सँग सम्बन्धित अवधारणा हो जसको सार्वभौम परिभाषा पाउन कठिन छ । विद्वान एभरेट रोजर्स का अनुसार नवप्रवर्तन एक विचार, अभ्यास, वा वस्तु जुन व्यक्ति वा संस्था द्वारा नयाँको रूपमा बुझिन्छ । कान्टरका अनुसार नवप्रवर्तनमा मूल आविष्कार र रचनात्मक प्रयोग समावेश हुन्छ जहाँ नयाँ विचार, उत्पादन, सेवा र प्रक्रियाहरूको पीढी, प्रवेश र प्राप्तिको रूपमा नवप्रवर्तनलाई परिभाषित गरेको पाइन्छ । नवप्रवर्तनलाई मेकेवन २००८ ले प्रसिद्ध किताब इन्नोभेसनः परष्पेक्टिभ फर द ट्वान्टि फस्ट सेन्चुरीमा “केही गर्न वा नयाँ आविष्कारको उपयोगी प्रयोगका लागि सोच्ने प्रक्रियामा आउने परिवर्तन हो” भनी परिभाषित गरेका छन् ।

यसरी मानव जीवनका विविध पक्षसँग सम्बन्धित विचार वा सोच, वस्तु वा उत्पादन, सेवा वा व्यापार, विधि पद्धति वा प्रणालीमा खोजिने वा सृजना गरिने उन्नत फरकपन नै वास्तवमा नवप्रवर्तन हो । जसले मानवीय गतिविधिलाई सरल, सहज, सुपथ, प्रभावकारी, गतिशील, नतिजामूलक र समसामयिक बनाउँदछ । नवप्रवर्तनलाई हालको समस्यामा नयाँ समाधानको रूपमा हेर्ने गरेको पाइन्छ ।यसको मुख्य विशेषता नै नयाँपन (नोभिलिटी) हो ।

राज्यले लिने नीति देखि त्यस नीतिको कार्यान्वयन गर्ने व्यक्ति इन्नोभेटिभ हुनु पर्ने भन्ने नवप्रवर्तनकारी राज्य (इन्नोभेटिभ स्टेट) को सैद्धान्तिक मान्यताले नवप्रवर्तनलाई मुलुकको राजनीतिक, प्रशासनिक, आथिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, विपत् जोखिम न्यूनीकरण लगायतका क्षेत्रका सबै क्रियाकलापहरूमा उत्तिकै महत्त्वका साथ हेरिएको पाइन्छ ।

साधारणतया नवप्रवर्तनका चरणहरूलाई आधारभूत अनुसन्धान (नयाँ विचारको खोजी गर्दछ), कार्यमूलक अनुसन्धान ( कसरी विचारलाई समस्या समाधानमा प्रयोग गर्न सकिन्छ ?), विकास (अनुसन्धानको नतिजालाई उत्पादनमा बदलिन्छ) र बजारीकरण (कसरी उत्पादनलाई बजारको पहुँचमा लैजान सकिन्छ ?) गरी प्रयोगमा ल्याएको पाइन्छ ।

नवप्रवर्तनका आधारभूत मान्यताहरू वा विशेषताहरुः
क) नवप्रवर्तनको दायरा सूक्ष्म देखि वृहत् हुन सक्दछ (जस्तै नवीनता संस्थाको लागि वा बजारको लागि वा उद्योगको वा विश्वका लागि) ।
ख) नवप्रवर्तनमा नवीनता र मूल्य पक्ष अनिवार्य मानिन्छ ।
ग) यो आफैमा साधन र साध्य अनि प्रक्रिया र परिमाण दुवै हो ।
घ) तुलनात्मक लाभ र अनुकूलता नवप्रवर्तनको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो ।
ङ) नवप्रवर्तन विचारका लागि विज्ञान र उत्पादनका लागि प्रविधि सँग अन्तरसम्बन्धित हुन्छ ।
च) बजार तथा सेवाग्राहीको सन्तुष्टि नै यसको आदर्श हो ।
छ) यसको सीमाविहीन र वहुआयामिक क्षेत्र छ ।
ज) उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गर्दै विकासको लक्ष्य हासिल गर्नु यसको केन्द्रीय पक्ष हो ।
झ) प्रतिभावान् व्यक्ति र सम्बन्धित प्रविधि यसका अनिवार्य आवश्यकता हुन ।
ञ) नवप्रवर्तनको प्रसार सिद्धान्तले यसको फैलावट कसरी, किन र कुन दरमा हुन सक्छ भन्ने आधार प्रधान गर्दछ।
ट) नवप्रवर्तनले व्यक्ति वा सेवाग्राहीको जीवनलाई सरल, सहज, सुपथ, उन्नत, परिष्कृत, गतिशील र नतिजामूलक बनाउन सघाउनु पर्दछ ।
ठ) नवप्रवर्तन हालको विचार वा उत्पादनमा क्रमिक ढाँचाबाट आउने उन्नत, प्रगतिशील परिष्करण वा क्रान्तिकारी ढाँचाबाट आउने चमत्कारिक परिवर्तन हो ।
ड) उत्प्रेरित एवम् सकारात्मक वातावरण र जोखिम मोल्ने क्षमता नवप्रवर्तनका लागि अनिवार्य सर्त मानिनछन् ।

नवप्रवर्तनका प्रकारहरुः
क) विघटनकारी वा क्रान्तिकारी नवप्रवर्तनः कुनै विचार वा अवधारणा, उत्पादन वा सेवा जसले हालको बजारलाई प्रभावित गरेर वा पूर्णतः नयाँ बजारको सृजना गरेर नयाँ मूल्य सञ्जालको निर्माण गर्दछ ।
ख) अनुभवमा आधारित वा दिगो नवप्रवर्तनः यो अवधारणाले नयाँ मूल्य सञ्चालनको निर्माण भन्दा यसले हालको बजारलाई क्रमिक सुधार र वृद्धि गर्दछ जसबाट आउने परिवर्तन दीर्घकालीन हुने अपेक्षा गरिन्छ ।
ग) वास्तुकलामा आधारित नवप्रवर्तनः यस प्रकारको नवप्रवर्तनमा उत्पादित वस्तु वा साधनका मुख्य कम्पोनेन्ट उही हुन्छन् र कस्मे टिक डिजाइन यसको मुख्य आकर्षण हो ।
घ) मोडुलर नवप्रवर्तनः यस नवप्रवर्तनमा उत्पादित वस्तु वा साधनका मुख्य कम्पोनेन्ट बिचको सम्बन्धमा परिमार्जन तथा पुनरावलोकन गरी उन्नत बनाइन्छ भने डिजाइन पुरानै हुन्छ ।
ङ) सेवाप्रणाली नवप्रवर्तनः सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्ने कार्यका लागि सिर्जित नवप्रवर्तनहरू जसले समय र लागत कम गरी सार्वजनिक निकायहरू प्रति सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्दछ ।
च) संस्थागत नवप्रवर्तनः कुनै पनि संस्थाका लक्षित गन्तव्य हासिल गर्न संस्थाको कार्यक्षमता, कार्यशैली र कार्यसंस्कृतीमा गरिने नवप्रवर्तनहरू जस्तै ज्ञान व्यवस्थापन, निर्णय प्रक्रिया सबलीकरण र रचनात्मक कार्यान्वयन क्षमताको विकास ।

माथि उल्लेख गरिएका अतिरिक्त सामाजिक नवप्रवर्तन, दिगो नवप्रवर्तन, हरित नवप्रवर्तन, पर्यावरणीय नवप्रवर्तन र उत्तरदायी नवप्रवर्तनहरुलाई पनि नवप्रवर्तन सँग सम्बन्धित साहित्यको समालोचना गर्दा पाउन सकिन्छ ।

ग्लोबल इन्नोभेसन इन्डेक्स २०२० मा नेपालः
ग्लोबल इन्नोभेसन इन्डेक्स वल्ड इन्टेक्चुअल प्रोपर्टि अर्गनाइजेसन (डब्लु.आई.पि.ओ.) ले अन्य विश्वविद्यालय र संस्था सँगको सहकार्यमा विश्वका १३१ वटा मुलुको नवप्रवर्तनको अवस्थालाई विभिन्न ७ विषय क्षेत्रमा गरेको अध्ययनको निष्कर्ष हो ।यस सूचकाङ्कले विश्वका अर्थतन्त्रलाई तिनीहरूको नवप्रवर्तन क्षमताको आधारमा वर्गीकरण गर्दछ । विभिन्न ८० वटा सूचकहरूलाई लगानी र प्रतिफलमा समूहकृत गरिएको यो अध्ययनमा नेपालको अवस्थालाई निम्नानुसार उल्लेख गरिएको छ ।
क) विश्वका १३१ मुलुकहरू मध्ये नवप्रवर्तन सूचकाङ्कमा नेपाल गत वर्षको १०९ स्थानबाट माथि उक्लेर यस वर्ष ९५ स्थानमा सूचीकृत भएको छ ।
ख) विभिन्न ७ क्षेत्रमा नेपालको स्थिति हेर्दा संस्थागत व्यवस्थामा (११४), मानव पुँजी र अनुसन्धान (११४), पूर्वाधार (७६), बजार परिष्करण (४०), व्यापार परिष्करण (५८), ज्ञान र प्रविधिको प्रतिफल (१०२) र सृजनशील प्रतिफल (१०६) स्थान रहेको छ ।
ग) नेपाल १६ अति कम आय भएका मुलुकहरूको नवप्रवर्तन क्षमतामा तेस्रो स्थानमा रहेको छ भने मध्य तथा दक्षिण एसियाका १० अर्थतन्त्रमा छैठौं स्थानमा रहेको छ ।
घ) सार्क मुलुकहरू सँगको तुलनामा नेपाल भारत पछि दोस्रो स्थानमा रहेको छ ।
ङ) नवप्रवर्तन र विकासका बिच सकारात्मक सम्बन्ध रहेको देखिए पनि नवप्रवर्तनमा लगानीको हिसाबले नेपाल ८९ स्थानमा छ भने प्रतिफलको हिसाबले १०६ स्थान छ जहाँ लगानी र प्रतिफलका बिच पारष्परिक सम्बन्ध दैखिदैन ।
च) विभिन्न ७ विषय क्षेत्रका बिचको तुलना गर्दा नेपालको बजार परिष्करणको क्षेत्रमा सबैभन्दा राम्रो ४० स्थानमा छ भने मानव पुँजी र अनुसन्धान र संस्थागत क्षमता दुवै क्षेत्रमा सबैभन्दा कमजोर ११४ स्थानमा रहेको छ ।

अन्तमाः
विश्वमा नवप्रवर्तनलाई सर्वाधिक मूल्यको क्षेत्रकारूपमा ग्रहण गरिएको छ । अबको विकास मोडल निर्यात निर्देशित ढाँचाबाट नवप्रवर्तन निर्देशित हुनु पर्दछ भन्ने मान्यताहरू सार्वजनिक भइरहेका छन् । नेपालले आफ्नो नवप्रवर्तन क्षमतामा कमशः सुधार गरिरहेको देखिन्छ यद्यपि नेपालमा यस क्षेत्रमा गरेको लगानी भन्दा प्रतिफल कम हुनुले अपेक्षित सकारात्मक ऊर्जा प्रवाह गर्न सकिरहेको देखिँदैन । यस अवस्थालाई सुधार गरी दिगो र उन्नत प्रभावका लागि नवप्रवर्तनका मुख्य चालक मानव पुँजी र अनुसन्धानका क्षेत्रमा अधिकतम लगानी गर्नु पर्दछ । यसका अतिरिक्त मुलुकको नीति निर्माण तहदेखि नीति कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका सबै तहमा सहभागी हुने सरोकारवालाहरूले नवीनताको अवधारणामा साझा बुझाइका साथ यसको बृहत्तर विकास र उपयोगमा विलम्ब गर्नु हुँदैन ।

लेखक के.सी. सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का शाखा अधिकृत हुन्

प्रतिक्रिया दिनुहोस